close

सुरक्षित अनलाइन बैङ्किङका लागि थाहा पाउनैपर्ने ७ टिप्स, जसले जोगाउनेछ तपाईंको खाताको रकम

टेकपाना टेकपाना

असार २०, २०७८ १२:१८

सुरक्षित अनलाइन बैङ्किङका लागि थाहा पाउनैपर्ने ७ टिप्स, जसले जोगाउनेछ तपाईंको खाताको रकम

काठमाडौं । बिल भुक्तानी होस् वा रकम ट्रान्सफर, अहिले इन्टरनेट तथा मोबाइल बैङ्किङका कारण निकै सजिलो भएको छ । बैंकसम्म पुगेर लाइनमा लाग्नुको साटो तपाईं सबै बैंकिङ कारोबार  मोबाइलबाट क्षणभरमै सम्पन्न गर्न सक्नुहुन्छ ।

तर सुरक्षित रुपमा प्रयोग गर्न जान्नुभएन भने यो जति सजिलो छ, त्यति नै जोखिमपूर्ण समेत सावित हुनसक्छ । किनभने पछिल्लो समय मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङसम्बन्धी ठगीका घटना बढ्न थालेका छन् ।

ठगहरूले तपाईंको बैंकिङ जानकारी चोरी गरेर क्षणभरमै तपाईंको बैंक खाता रित्याउन सक्छन् । आज हामी तपाईंलाई सुरक्षित रुपमा इन्टरनेट तथा मोबाइल बैंकिङ कसरी प्रयोग गर्ने भन्ने विषयमा ७ वटा महत्वपूर्ण टिप्स दिँदै छौं । 

१. नियमित रुपमा आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस्

जब तपाईं पहिलो पटक मोबाइल वा इन्टरनेट बैङ्किङमा लगइन गर्नुहुन्छ, तपाईंलाई बैंकले दिएको पासवर्ड प्रयोग गर्नुहुन्छ । यद्यपि अकाउन्ट सुरक्षित राख्नका लागि तपाईंले उक्त पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

बैंकले भनेको वा अनिवार्य गरेको अवस्थामा मात्र नभएर तपाईंले आफ्नो बैंकिङ कारोबार सुरक्षित राख्न नियमित जसो अकाउन्टको पासवर्ड परिवर्तन गरिरहनु पर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण अर्को कुरा भनेको यस्तो पासवर्ड अरु कसैले थाहा नपाउने गरी राख्न नबिर्सिनुहोस् । 

२. अरुको कम्प्युटर वा सार्वजनिक स्थानमा रहेको कम्प्युटरमा लगइन नगर्नुहोस्

साइबर क्याफे, लाइब्रेरी वा अरु कसैको कम्प्युटरबाट आफ्नो बैंक अकाउन्ट लगइन गर्ने गल्ति कहिल्यै नगर्नुहोस् । यस्तो अवस्थामा त्यस्तो कम्प्युटर कयौं व्यक्तिले प्रयोग गरिरहेका हुन्छन् र तपाईंको पासवर्ड ट्रेस वा अन्य व्यक्तिले थाहा पाउने जोखिम रहन्छ ।

यदि तपाईं यस्तो कुनै स्थान वा अरु कसैको कम्प्युटरमा लगइन गर्नुहुन्छ भने क्याश अथवा ब्राउजिङ हिस्ट्री डिलिट गर्न नबिर्सिनुहोस् । यसबाहेक कम्प्युटरबाट सबै प्रकारका टेम्पोररी फाइल समेत डिलिट गरिदिनुहोस् ।

ब्राउजरमा आईडी पासवर्ड सेभ गर्ने पपअप आउँदा झुक्किएर पनि अलाउ बटनमा दबाउने गल्ती नगर्नुहोस् । 

३. आफ्नो विवरण कसैलाई नदिनुहोस्

तपाईंले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा भनेको तपाईंको खाता रहेको बैंकले कहिल्यै पनि तपाईंलाई फोन वा ईमेलमार्फत तपाईंको निजी विवरण माग गर्दैन । त्यसैले तपाईंलाई त्यस्तो कल वा ईमेल आएको खण्डमा आफ्नो विवरण अथवा लगइन जानकारी नदिनुहोस् ।

तपाईंको लगइन आईडी वा पासवर्ड केवल बैंकको अफिसियल अर्थात आधिकारिक पेज वा एपमा मात्र राख्ने (इन्टर गर्ने) गर्नुहोस् । यहाँनिर के कुरामा ध्यान दिनुहोस् भने तपाईंले आफ्नो विवरण इन्टर गर्ने वेबसाइट सुरक्षित होस् ।

लगइन गर्दाको समयमा माथि यूआरएलमा ‘https://’ रहेको सुनिश्चित गर्नुहोस् । यसभन्दा फरक अक्षर वा संकेत रहेको युआरएल तपाईंलाई झुक्याउनका लागि राखिएको हुनसक्छ । 

४. आफ्नो सेभिङ अकाउन्टलाई नियमित रुपमा चेक गर्ने बानी बसाल्नुहोस्

अनलाइन कारोबार गर्ने वित्तिकै आफ्नो अकाउन्ट चेक गर्ने बानी बसाल्नुहोस् । यस क्रममा आफ्नो खाताबाट ठीक अथवा भनेजति मात्र रकम काटिएको होस् ।

यदि तपाईंलाई कुनै किसिमको गडबडी जस्तो लाग्यो भने तुरुन्त आफ्नो खाता रहेको बैंकमा सम्पर्क गर्नुहोस् । 

५. आफ्नो कम्प्युटरमा लाइसेन्सयुक्त एन्टिभाइरस सफ्टवेयर राख्नुहोस्

आफ्नो कम्प्युटरलाई भाइरसबाट जोगाउनका लागि सधैं लाइसेन्स युक्त एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्नुहोस् । निःशुल्क रुपमा उपलब्ध हुने एन्टिभाइरसको भर नपर्नुहोस् ।

एन्टिभाइरसका पाइरेटेड समेत निःशुल्क रुपमा उपलब्ध भइरहेका हुन्छन्, सित्तैमा पाउने लोभमा परेर यसमाथि पनि धेरै भर नगर्नुहोस् । किन भने अनलाइन दुनियामा दिनहुँ नयाँ नयाँ भाइरस आइरहेका हुन्छन् ।

त्यस्ता भाइरसलाई पाइरेटेड एन्टिभाइरस सफ्टवेयरले जोगाउन सक्दैन । ध्यानमा राख्नुहोस्, तपाईंको एन्टिभाइरस सफ्टवेयर अपडेट भइरहेको होस् । ता कि तपाईंको गोप्य जानकारी सदैव सुरक्षित रहिरहोस् ।

६. प्रयोग नहुँदाको बखत इन्टरनेट डिसकनेक्ट गर्नुहोस्

धेरैजसो ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताले उपलब्ध भएसम्म इन्टरनेट डिसकनेक्ट गराइरहेका हुँदैनन् । मालिसियस ह्याकरले इन्टरनेट कनेक्सनको माध्यमबाट तपाईंको कम्प्युटरमाथि निशाना लगाइरहेका हुन्छन् ।

जसबाट तपाईंको बैंकिङ सूचनाहरु चोरी हुन सक्छ । आफ्नो डेटा जोगाउनका लागि आवश्यक नभएको अवस्थामा इन्टरनेट कनेक्सन डिसकनेक्ट गर्ने बानी बसाल्नुहोस् । 

७. लगइन गर्दा लिङ्कमार्फत नभएर यूआरएल टाइप गर्न अल्छी नगर्नुहोस्

एड्रेस बारमा आफ्नो बैंकको यूआरएल टाइप गर्नु सधैंजसो ईमेलमार्फत आउने लिङ्कको तुलनामा निकै सुरक्षित हुन्छ । कतिपय समय फ्रड वा धोका दिने किसिमका ईमेलले गलत वेबसाइटको लिङ्क पठाइदिने गर्दछन् ।

जुन दुरुस्तै तपाईंको खाता रहेको बैंकको जस्तै देखिन सक्छ । यस्ता वेबसाइटमा तपाईंले एक पटक लगईन गर्नुभयो भने तपाईंको अकाउन्टमा ह्याकरले पहुँच बनाउन सक्छ र तपाईं ठगीको शिकार हुन सक्नुहुन्छ ।

त्यसैले लगइन गर्दाको समयमा यूआरएलमा गएर ‘https://’ रहेको सुनिश्चित गर्नुहोस् । ताकि तपाईं बैंकको आधिकारिक वेबसाइटमा मात्र लगइन गरिरहनु भएको होस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३