close

वेबसाइट असुरक्षित भए अब गुगल क्रोमले नै दिनेछ सूचना

टेकपाना टेकपाना

असार २०, २०७८ २२:२०

वेबसाइट असुरक्षित भए अब गुगल क्रोमले नै दिनेछ सूचना

काठमाडौं । गुगलले हाल क्रोमका लागि नयाँ फिचरमा काम गरिरहेको छ, जसले प्रयोगकर्तालाई स्वचालित रूपमा असुरक्षित वेबसाइटबाट टाढा रहन निर्देशन दिनेछ । क्राेमले एचटीटीपीएस (https) को सट्टा एचटीटीपी (http) प्रयोग गर्ने वेबसाइटबारे सूचना दिने गरी नयाँ फिचर ल्याउन लागेकाे हाे ।

सन् २०१८ देखि नै गुगलले एचटीटीपीएसको प्रयोगलाई जोड दिएको थियो । सो बेलादेखि नै यसले एचटीटीपी प्रयोग गर्ने साइटहरूलाई असुरक्षित साइटको रुपमा सूचित गरेको थियो । यद्यपि गत वर्ष क्रोम ८६ सार्वजनिक गरेसँगै प्रयोगकर्तालाई एचटीटीपीएस साइटमा भएका असुरक्षित फारममा आफ्नो संवेदनशील सूचनाहरू जस्तै बैकिंङ विवरणहरू नराख्न चेतावनी दिएको थियो ।

यस्ता समस्यालाई सम्बोधन गर्न गुगलले क्रोमको आउँदो भर्जनमा ‘एचटीटीपीएस – ओन्ली मोड’ (HTTPS-Only Mode) राख्ने भएको छ । 

के हो एचटीटीपीएस – ओन्ली मोड ? 

एचटीटीपीएस – ओन्ली मोडले प्रयोगकर्तालाई कुनै पनि असुरक्षित वेबसाइट भिजिट गर्नबाट रोक्छ । क्रोममा यो फिचर उपलब्ध भएपछि क्रोमको सेटिङमा ‘अलवेज युज सेक्योर कनेक्सन’ (Always use secure connections) भन्ने एउटा टोगल अथवा अप्सन थपिनेछ ।

यसलाई क्रोमको सेटिङमा गएर इनेबल गर्न सकिने छ । यसका लागि क्रोमको सेटिङमा गएर त्यहाँ देब्रेपट्टि भएको ‘एडभान्स’ भन्ने अप्सनमा यो टोगल उपलब्ध हुनेछ, जसलाई इनेबल गर्नुपर्नेछ । 

त्यसपछि गुगलले सम्पूर्ण नेभिगेशनलाई एचटीटीपीएसमा अपग्रेड गर्नेछ, जसले प्रयोगकर्ताले कुनै पनि साइट लोड गर्नुभन्दा अगाडि चेतावनी दिनेछ । यदि प्रयोगकर्ताले ‘एचटीटीपीएस -ओन्ली मोड’ लाई छलेर कुनै साइटमा जान्छ भने गुगलले त्यो साइट स्वत: सेभ गर्नेछ र अर्को पटकदेखि सो वेबसाइट प्रयोग गर्दा कुनै पनि चेतावनी सूचना दिँदैन ।

यसका लागि गुगलले अझै पनि काम गरिरहेको छ र यो फिचर क्रोमको ९३ वा ९४ भर्जन सार्वजनिक हुँदासम्म पनि तयार नहुने जस्तो देखिन्छ । गुगलले क्रोमका यी भर्जनहरु सेप्टेम्बरसम्म सार्वजनिक हुने बताएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३