close

अनलाइनमार्फत युरो कप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गर्ने ८ जना पक्राउ

टेकपाना टेकपाना

असार २१, २०७८ २१:४१

अनलाइनमार्फत युरो कप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गर्ने ८ जना पक्राउ

काठमाडौं । प्रहरीले जारी युरो कप २०२० र कोपा अमेरिका २०२१ अन्तर्गतका खेलहरुमा सट्टेबाजी गर्ने आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नगद र सट्टेबाजीमा प्रयोग भएका मोबाइलसहित संलग्नलाई अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोलका ४७ वर्षीय जीवन लामा, काठमाडौं कुलेश्वर बस्ने पर्सा वीरगञ्जका ४६ वर्षीय सुरज टिवडेवाल र भारत बिहार पूर्वी चम्पारण रक्सौलका ४६ वर्षीय अशोककुमार गुप्ता रहेका छन् ।

त्यस्तै काठमाडौं धापासी बस्ने चितवन खैरहनी नगरपालिका टरौलीका ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, काठमाडौं इन्द्रचोक बस्ने भारत हरियाणा विवरनीका ४९ वर्षीय राजेशकुमार अग्रवाल, काठमाडौं क्षेत्रपाटी बस्ने भारत राजस्थान झुन झुन सुरजगढका ३३ वर्षीय सूचित डालमिया अग्रवाल र काठमाडौं मरूटोल बस्ने मोरङ विराटनगर नगरपालिका – ७ घर भएका ४६ वर्षीय अमरनाथ गुप्तालाई समेत प्रहरीले पक्राउ गरेको छ ।  

युरोकप २०२० र कोपा अमेरिकाका फुटबल खेलमा अनलाइनमार्फत ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टेबाजी गराई खेल खेलाउने गरेको सूचना प्रहरीले पाएको थियो ।

सोही सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौंको इन्द्र चोक, मरूटोल, न्युरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट अनलाइन बेटिङ गरी नगद कारोबारसमेत गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

साथै विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको रकम आईएमईबाट पठाउने र प्राप्त गर्ने गरेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३