काठमाडौं । अहिलेको डिजिटल विश्वमा पीडीएफ एकदमै आवश्यक डकुमेन्ट हो । कोरोना महामारीका कारण यसको आवश्यकता तथा प्रयोग पनि निकै बढेको छ । तर कागजात तथा तस्वीरलाई स्क्यान गरी पीडीएफ बनाउने काम धेरैलाई एकदमै झन्झटिलो लाग्छ ।
यस क्रममा समय र मेहनत खर्च हुने मात्र होइन, एकदमै दिक्क लाग्दो पनि हुन्छ । एकदमै अत्यारलाग्दो त त्यतिखेर हुन्छ, जब तपाईंले बीचमै पीडीएफ बनाउने काम त्याग्नुपर्ने हुन्छ ।
किन यतिधेरै महत्वपूर्ण छ पीडीएफ ?
ड्राइभिङ लाइसेन्स, कर सम्बन्धी कागजात, ऋण सम्बन्धी कागजात, सवारीसाधनको रजिष्ट्रेसन सम्बन्धी कागजात सँधै साथमा बोकि रहन सम्भव हुन्न । साथमा बोक्दा समेत कहिँ कतै हराउने, च्यातिने जस्ता समस्याहरू पनि आइरहेका हुन्छन् ।
यस्तोमा तपाईंलाई त्यस्ता महत्वपूर्ण कागजातको डिजिटल प्रति साथमा राख्नका लागि पीडीएफ निकै नै महत्वपूर्ण हुने गर्छ । अर्को उल्लेखनीय कुरा अहिले धेरैजसो सेवा तथा सुविधाहरु अनलाइनमा उपलब्ध हुन थालेका छन् ।
यसका लागि तपाईंले अनलाइनबाटै आवश्यक कागजात बुझाउनुपर्ने हुन्छ । यसक्रममा समेत पीडीएफमा रहेको कागजात सब्मिट गर्न पनि सहज हुन्छ ।
इन्टरनेटमा तपाईंले अनेकौं उपयोगी चिजहरू फेला पार्न सक्नुहुन्छ । यत्ति हो, तपाईंले आफूले चाहेको कुरा खोज्न भने जान्नुपर्छ । पीडीएफ स्क्यानर एपको कुरा गर्ने हो भने गुगल प्ले स्टोर देखि आईओएस एप स्टोरसम्म कयौं निःशुल्क र सशुल्क एपहरू फेला पार्न सक्नुहुन्छ ।
तर तपाईं एन्ड्रोइड प्रयोग गर्नुहुन्छ भने तपाईंले त्यसका लागि कुनै अर्को एप डाउनलोड गरिरहनु पर्दैन । त्यसका लागि तपाईंले वर्षौंदेखि विश्वास गरेको गुगल ड्राइभ नै काफी छ । तपाईं हामी सबैलाई थाहा नै छ कि गुगल ड्राइभ अनलाइनमा फाइल र फोल्डर सेभ गर्ने एप हो ।
तपाईंले अरु एपबाट स्क्यान गरेका पीडीएफ फाइलहरु चाहिएको बेला फेला नपर्ने गरेको पनि हुन सक्छ । तर गुगल ड्राइभले भने तपाईंको यस किसिमको समस्या पनि हटाइदिन्छ ।
त्यसबाहेक तपाईं यही एपबाट सजिलो तरिकाले कागजातहरूलाई स्क्यानिङ गर्न र पीडीएफको रुपमा सेभ गर्न सक्नुहुन्छ । आज हामी तपाईंलाई गुगल ड्राइभबाट कागजात स्क्यान गर्ने र पीडीएफको रुपमा सेभ गर्ने तरिका बताउँदै छौं ।
स्मार्टफोनमा डकुमेन्ट र फोटो पीडीएफमा स्क्यान गर्ने कसरी ?
यसका लागि सुरुमा आफ्नो मोबाइलमा भएको गुगल ड्राइभ एप खोल्नुहोस् । अब एपको तल दायाँ कुनामा रहेको एड आइकन (+ बटन) मा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले स्क्यान बटन फेला पार्नुहुनेछ, त्यसमा दबाउनुहोस् । अब आफूले स्क्यान गर्न चाहेको कागजातको फोटो खिच्नुहोस् र टिक बटन (✓) मा दबाउनुहोस् ।
क्रप बटनबाट आकार मिलाउनुहोस् । त्यसैमा अर्को पेज थप्न तल बायाँ कुनामा रहेको रिस्क्यान बटन (प्लस जस्तो देखिने बटन) मा दबाउनुहोस् । यसैगरी आवश्यक सबै पेजहरू स्क्यान गर्दै जानुहोस् र तल दायाँ कुनामा रहेको सेभ बटनमा थिच्नुहोस् ।
अब डकुमेन्टको नाम, त्यसलाई सेभ गर्न चाहेको ईमेल आईडी र फोल्डर मिलाउनुहोस् र सेभ लेखिएको स्थानमा ट्याप गर्नुहोस् । यति भएसँगै तपाईंले स्क्यान गरेको डकुमेन्ट ड्राइभमा सुरक्षित भएर बस्छ ।
ड्राइभमा गएर अथवा मोबाइलको नोटिफिकेसन बारबाट सोझै भएर समेत स्क्यान भएर पीडीएफको रुपमा बसेको डकुमेन्टमा पहुँच बनाउन सक्नुहुन्छ । त्यसमा गएर तपाईंले उक्त फाइल फोनको मेमोरीमा डाउनलोड गर्ने, अरुसँग शेयर गर्ने लगायतका कामहरु गर्न सक्नुहुन्छ ।