काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय अन्तर्गत कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयको परीक्षा आवेदन खुलेको छ । सेमेस्टर प्रणालीअनुसार चार वर्षे स्नातक तहमा अध्ययनरत दोस्रो वर्ष चौथो सेमेस्टर-२०७५ र चौथो वर्ष आठौं सेमेस्टर-२०७३ समूहका विद्यार्थीका लागि परीक्षा आवेदन खुलाइएको हो ।
यसअघि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय अन्तर्गतको परीक्षा शाखाले विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरका कारण गत वैशाख १३ गते सूचना प्रकाशन गर्दै परीक्षा स्थगित गरेको थियो । सोही स्थगित परीक्षाका लागि परीक्षा शाखाले आवेदन खुलाएको हो ।
सेमेस्टर प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयका दोस्रो वर्ष चौथो सत्र-२०७५ समूह र चौथो वर्ष आठौं सत्र-२०७३ समूहको नियमित तथा सोही सत्रको त्यसभन्दा अगाडिको समूहको आंशिक परीक्षाको परीक्षा आवेदन फाराम नियमित शुल्क तिरेर साउन १५ सम्म बुझाइसक्नुपर्नेछ ।
यद्यपि साउन २२ गतेसम्म बिलम्ब शुल्क तिरी फाराम बुझाउन समेत सकिने छ । परीक्षा शाखा बल्खुको सूचना अनुसार सम्बन्धित क्याम्पस तथा कलेजहरूले फारामहरू रुजु गरी साउन २५ गतेसम्म अनिवार्य रुपमा बल्खुमा बुझाउनुपर्नेछ ।