close

फेसबुक पेजमा आउने तुच्छ कमेन्ट कसरी गर्ने ब्लक ?

टेकपाना टेकपाना

असार २५, २०७८ १२:५६

फेसबुक पेजमा आउने तुच्छ कमेन्ट कसरी गर्ने ब्लक ?

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा समाजमा रहेका सबै प्रकारका राम्रा नराम्रा व्यक्ति र प्रवृत्ति पनि यसमा जोडिएका छन् । कतिपयले जानीजानी आफ्नो वास्तविक नामको अकाउन्टबाटै अपाच्य विषयवस्तु पोस्ट गरिरहेका हुन्छन् त कतिले फेक आईडीबाट कसैलाई दुःख दिने नियतले नै त्यसो गरिरहेका हुन्छन् ।

त्यस्ता व्यक्तिलाई आफ्नो साथीको सूचीबाट हटाउनेदेखि ब्लक गर्ने उपाय त तपाईं हामीले अपनाउँदै आएको तरिका हो । तर तपाईं हामीले सामाजिक सञ्जालमा पोस्ट गर्ने सबै विषय सीमित गर्ने प्रकृतिका मात्र हुँदैनन् । जसलाई हामी सार्वजनिक रुपमा सबैले देख्नेगरी पोस्ट गरिरहेका हुन्छौं ।

अझ तपाईं फराकिलो फ्यान फलोइङका लागि टिकटक, युट्युव अथवा फेसबुक पेजमार्फत समेत आफ्ना सामग्री शेयर गर्नुहुन्छ ।  यस्तोमा इन्टरनेटमा भएका जोकसैले मनलाग्दी कमेन्ट गरिदिने सम्भावना रहन्छ । धेरै कमेन्ट नआउँदा त तपाईंले एकएक गरी डिलिट वा हाइड गर्ने काम त गर्नुहोला, तर अपाच्य शब्दमा गरिएको कमेन्ट तपाईंले थाहा पाउनु अघि नै तपाईंका अन्य फलोअरले देखिसकेका हुनसक्छन् ।

यस्तो अवस्थामा ती फलोअरमा यस किसिमका कमेन्टले निकै असहजता पैदा भइरहेको हुन्छ । त्यसमाथि धेरै फ्यान फलोइङ हुँदा आउने कमेन्ट पनि त्यति नै धेरै हुन्छन् । यस्तो बेलामा त झन् तपाईंले हरेक कमेन्ट पढ्नै भ्याउनु हुन्न । यस किसिमका कमेन्ट डिलिट वा ब्लक गर्न नसक्नु कतिपय अवस्थामा तपाईंकै कमजोरीको रुपमा समेत लिने अवस्था रहन्छ ।

यदि तपाईं पनि अपवित्र, असभ्य, अश्लील तथा अपाच्य किसिमका कमेन्टबाट हैरान हुनुहुन्छ र त्यस्ता शब्दमा आफ्ना पोस्टहरूमा कसैले पनि कमेन्ट गर्न नसकोस् भन्ने चाहनुहुन्छ भने आज हामी फेसबुक पेजमा कमेन्ट कसरी ब्लक तथा फिल्टर गर्ने भन्ने विषयमा बताउँदै छौं । 

फेसबुक पेजमा यसरी ब्लक गर्नुहोस् असभ्य कमेन्ट 

यसका लागि कम्प्युटर अथवा ल्यापटपमा आफ्नो फेसबुक खोल्नुहोस् र आफू एड्मिन रहेको जुन फेसबुक पेजमा कमेन्ट ब्लक गर्न चाहनुहुन्छ, त्यसमा जानुहोस् । बायाँतर्फ रहेको म्यानेज पेज लेखिएको मुनी रहेको मेनुको अन्तिममा रहेको सेटिङमा जानुहोस् । अब त्यहाँ तपाईंले जनरल अन्तर्गत पेज भिजिबिलिटी, भिजिटर पोस्ट, अटो जेनेरेटेड क्याप्सन लगायतका सेटिङहरू क्रमैसँग देख्नसक्नु हुनेछ ।

त्यही सूचीमा प्रोफ्यानिटी फिल्टर (Profanity Filter) अगाडि रहेको एडिट बटनमा क्लिक गर्नुहोस् र त्यसभित्र टिक लगाएर सेभ चेञ्जेज गरिदिनुहोस् । यसो गर्दा फेसबुक आफैँले एकदमै धेरै रपोर्ट गरिने हानिकारक शब्दहरू तथा शब्दावलीहरूलाई लुकाइदिन्छ । यस बाहेक तपाईंले एक एक शब्द रोजेर ब्लक गर्न समेत सक्नुहुन्छ ।

त्यसका लागि प्रोफ्यानिटी फिल्टरकै ठीक माथि रहेको पेज मोडरेसनको पछाडिको एडिट बटनमा जानुहोस् । त्यहाँ एक एक शब्द वा शब्दावली टाइप गर्दै इन्टर गर्नुहोस, जसलाई तपाईं आफ्नो फेसबुक पेजको कमेन्टमा देख्न चाहनुहुन्न । यसबाट तपाईंले कुनै ईमोजीलाई समेत कमेन्ट सेक्सनमा ब्लक गर्न सक्नुहुन्छ ।

त्यसैगरी अपाच्य किसिमका शब्दलाई एकसाथ ब्लक गर्ने सुविधा समेत फेसबुकले दिएको छ । यसका लागि माइक्रोसफ्ट एक्सेलमा त्यस्ता शब्दहरुलाई राख्नुहोस् र माथि बायाँ कुनामा रहेको फाइलहुँदै सेभ याजबाट सीएसभी फर्म्याटमा त्यसलाई सेभ गर्नुहोस् । अब पेज मोडरेसनमा गएर अपलोड फ्रम सीएसभी अप्सनमा क्लिक गर्नुहोस् र भर्खरै तयार पारेको फाइल अपलोड गरिदिनुहोस् ।

यसबाहेक तपाईंले आफ्नो पेज तथा सामग्री निश्चित उमेर समूहका प्रयोगकर्ताले देख्न नसकुन् भन्ने चाहनुहुन्छ भने ‘एज रेस्ट्रिक्सन’ फिचर प्रयोग गर्न पनि सक्नुहुन्छ । त्यसका लागि पेज मोडरेसनको ठीक माथि रहेको एज रेस्ट्रिक्सनलाई एडिट गर्नुहोस् र उपलब्ध उमेर समूहले मात्र देख्नेगरी मिलाएर सेभ चेञ्जेज गरिदिनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३