close

बौद्धिक सम्पत्ति दुरुपयोग गरेको भन्दै ओप्पोविरुद्ध नोकियाको मुद्दा

टेकपाना टेकपाना

असार २८, २०७८ १७:३१

बौद्धिक सम्पत्ति दुरुपयोग गरेको भन्दै ओप्पोविरुद्ध नोकियाको मुद्दा

काठमाडौं । बौद्धिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै नोकियाले ओप्पोविरुद्ध विभिन्न देशका अदालतमा मुद्दा दायर गरेको छ । चिनियाँ ब्राण्ड ओप्पोले अनुमति सकिएपश्चात पनि कतिपय पेटेन्ट प्रयोगमा ल्याएको भन्दै नोकिया अदालत पुगेको हो ।

पेटेन्टको दुरूपयाेगको विषयमा नोकियाले युरोपका साथै एसियाली देशमा पनि मुद्दा दर्ता गराएको छ । जसमा छिमेकी राष्ट्र भारतमा समेत ओप्पोविरुद्ध मुद्दा दर्ता भएको छ । नाेकियाले दर्ता गराएका कतिपय पेटेन्टका साथै कम्पनीको इन्टरफेस, सेक्युरिटी फिचर बिना अनुमति ओप्पोले प्रयोगमा ल्याएको आरोप छ ।

त्यसमध्ये कतिपय यसअघि अनुमति प्रदान गरिए पनि हाल नवीकरण नभएका पेटेन्ट रहेका छन् । नोकिया र ओप्पोबिच सन् २०१८ मा नोकियाको प्रविधि प्रयोगमा ल्याउन सम्झौता भएको थियो ।

उक्त अवधि यही जुन महिनामा सकिएको छ । पुनः सम्झौता नवीकरण गर्न नोकियाले प्रस्ताव राख्दा कम्पनीले अस्वीकार गर्दै प्रविधि प्रयोगमा ल्याइरहेको भन्दै नोकियाले मुद्दा दर्ता गराएको हो ।

नाेकियाले स्मार्टफोनको कनेक्टिभिटी, इन्टरफेस तथा सेक्युरिटी फिचरलगायतका विभिन्न विषयका पेटेन्टको उल्लंघन भएको दाबी गरेकाे छ । यसअघि ओप्पोले प्रत्येक डिभाइस बराबर ३ युरो बुझाउँदै आए पनि हाल सम्झौता नवीकरण नगरी ओप्पाेले प्रयोगमा ल्याइरहेको जनाइएकाे छ ।

अर्कोतर्फ ओप्पोले भने नोकियाको पछिल्लो कदमले पेटेन्टको स्वच्छ, निष्पक्ष अनुमतिलाई अवमूल्यन गरेको जनाएको छ । कम्पनीले आफू सधैं बौद्धिक सम्पत्तिको सम्मान तथा संरक्षण गर्ने गरी काम गर्दै आएको दाबी गरेको छ ।

‘हामी बौद्धिक सम्पत्तिको रक्षा गर्छौं,’ ओप्पोले भनेको छ, ‘उद्योगमा पेटेन्ट लाइसेन्सिङ सहकार्यलाई विस्तार गर्न हामी सधैं प्रतिबद्ध छौं । यसरी मुद्दा मामिलालाई हतियार बनाउने काम भने स्वीकार्य छैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३