काठमाडौं । इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि फोटो र भिडियो शेयर गर्ने नयाँ फिचर ल्याएको छ । कम्पनीले आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि “भ्यू वान्स” नामक फिचरको बेटा भर्सन सार्वजनिक गरेको हो ।
यो फिचर अन्तर्गत एउटा प्रयोगकर्ताले पठाएको फोटो अथवा भिडियो प्राप्त गर्ने प्रयोगकर्ताले एक पटक हेरिसकेपछि च्याटबक्स बाट स्वतः हटेर जानेछन् । यो इन्स्टाग्राममा यस अघि नै उपलब्ध भएको फिचर हो ।
तर इन्स्टाग्राममा भने प्रयोगकर्ताले फोटो/भिडियो एक पटक हेरेर फेरी दोस्रो पटक पनि हेर्न सक्छन् । ह्वाट्सएपमा भने एक पटक हेरिसकेको फोटो भिडियो पुन: दोहोर्याएर हेर्न पाइने छैन । सामाजिक सञ्जालमा यो फिचरको सुरुवात स्न्यापच्याटले गरेको हो ।
च्याट बक्सबाट फोटो तथा भिडियो स्वत: हटेर जाने भए पनि प्रयोगकर्ताले यसको स्क्रिनशट भने लिन सक्नेछन् र ह्वाट्सएपले कुनै प्रकारको नोटिफिकेसन पनि पठाउने छैन । यसको अर्थ ह्वाट्सएपले सुरक्षाको लागि यो फिचर ल्याएको बताए पनि स्क्रिनशट लिनबाट रोक्ने खालको कुनै फिचर भने तयार गरेको छैन ।
फोटो पठाउने प्रयोगकर्ताले भने पाउनेले पठाएको फोटो हेर्यो अथवा हेरेन भनेर थाहा पाउन सक्छन् । गत जुन महिनामा ह्वाट्सएपका सीईओ विल क्याथकार्ट र फेसबुकका सीईओ मार्क जुकरबर्गले व्यक्तिगत रुपमा यो फिचरको विषयमा घोषणा गरेका थिए ।
यसको अर्थ अन्य प्रयोगकर्ताले पनि यो फिचर चाँडै नै प्रयोग गर्न पाउनेछन् । जुकरबर्गका अनुसार यो फिचर मेसेजमा पनि लागु हुनेछ । तर प्रयोगकर्ताले यो फिचरलाई कत्तिको मन पराउँछन्, त्यो भने आउने दिनमा हेर्न बाँकी छ ।
केही प्रयोगकर्ताको लागि यो फिचर उपयोगी भए पनि आफ्ना च्याट र शेयर भएका तस्वीर अनि भिडियोहरू ब्याकअप होस् भनेर चाहने प्रयोगकर्ताको लागि भने यो फिचर त्यति आकर्षक नहुन सक्छ ।