close

आईफोन पुरानो भएर स्लो हुन थाल्यो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असार ३०, २०७८ १३:५५

आईफोन पुरानो भएर स्लो हुन थाल्यो ? यसो गर्नुहोस्

काठमाडौं । एप्पलको आईओएस १४ अहिलेसम्मकै धेरै फिचर भएको भर्सन हो । जुन सार्वजनिक भइसकेको छ । यो नयाँ संस्करणसँगै आईफोन प्रयोग गर्ने तरिकामा समेत निकै परिवर्तन महसुस हुनेछ ।

यदि तपाईं अहिले पनि पुरानै आईफोन प्रयोग गरिरहनु भएको छ र हालसालै नयाँ सफ्टवेयर अपडेट गर्नु भएको छ भने केही स्लो भएको अनुभव गर्न सक्नुहुन्छ । यस किसिमको समस्याका लागि अपरेटिङ सिस्टमलाई स्थिर हुन थप केही समय दिनु उचित हुन्छ ।

तर त्यसपछि पनि हैरानी कम भएन भने तपाईंले केही अन्य उपायहरू अपनाउनु पर्ने हुनसक्छ । जसको बारेमा आज हामी यहाँ बताउँदै छौं । यसबाट तपाईंको पुरानो आईफोनको स्पिड बढ्नेछ । 

आईफोनलाई फोर्स रिस्टार्ट गर्नुहोस्

सुन्दा सामान्य लाग्ने यो तरिकाले कतिपय समय तपाईंको समस्या समाधान गरिदिन सक्छ । फोर्स रिस्टार्ट गर्ने तरिका आईफोन अनुसार फरक फरक हुनसक्छ । यदि तपाईं होम बटन नभएको आईफोन ८ वा त्यसपछिको आईफोन तथा आईप्याड प्रयोग गर्नुहुन्छ भने भोलुम अप बटन दबाउनुहोस् र छोडिदिनुहोस् ।

फेरि भोलुम अप बटनलाई दबाउनुहोस् र पुनः छोड्नुहोस् । त्यसपछि एप्पलको लोगो नआएसम्म पावर बटन दबाएर राख्नुहोस् । त्यस्तै आईफोन सेभेन वा सेभेन प्लस प्रयोग गर्नुहुन्छ भने भोलुम डाउन बटन र साइड बटनलाई एकसाथ दबाउनुहोस् ।

यसमा पनि एप्पलको लोगो नदेखिएसम्म दबाउने क्रम जारी राख्नुपर्ने हुन्छ । आईफोन सिक्सका लागि हो भने होम बटन र पावर बटनलाई एकसाथ दबाउनुहोस् । यसलाई पनि एप्पलको लोगो नदेखिएसम्म लगातार दबाएर राख्नुपर्ने हुन्छ ।

यो प्रक्रिया पुरा गरेसँगै तपाईंको आईफोन तथा आईप्याड रिस्टार्ट हुनुपर्छ । एकपटक रिस्टार्ट भइसकेपछि त्यसको पर्फर्मेन्समा केही सुधार भए नभएको तपाईंले महसुस गर्न सक्नुहुन्छ । 

पछिल्लो अपडेट चेक गर्नुहोस्

यदि तपाईं पछिल्लो आईओएस अपरेटिङ सिस्टममा आफ्नो आईफोन प्रयोग गर्दै हुनुहुन्छ भने त्यसको अर्थ तपाईं सबैभन्दा राम्रो सफ्टवेयर भर्सन प्रयोग गर्दै हुनुहुन्छ भन्ने हो । एप्पलले साना ठूला बग फिक्स गरेर नयाँ अपरेटिङ सिस्टम जारी गर्ने गर्छ ।

सधैँ आईफोनलाई अप टु डेट राख्नुपर्ने हुन्छ । त्यसैले आफ्नो आईफोनमा पछिल्लो अपरेटिङ सिस्टम वा सफ्टवेयर अपडेट छ कि छैन भन्ने कुरा चेक गर्नुहोस् । 

आईफोनलाई सफा राख्नुहोस् 

आईफोनमा अनावश्यक फाइलहरूमाथि नजर राख्नुहोस् । त्यस्ता फाइलहरूलाई नियमित रुपमा हटाउने गर्नुहोस् । जसले तपाईंको आईफोनको पर्फर्मेन्स सुधार ल्याउनेछ ।

कतिपय समय अनावश्यक चिजहरू आईफोनमा थुप्रिएर बस्दा स्लो हुने समस्या देखिने गर्दछ । यसका लागि आईफोनको सेटिङमा जानुहोस् । त्यहाँ तपाईंले जनरल हुँदै  स्टोरेजमा जानुहोस् र त्यहाँ कति स्टोरेज प्रयोगका लागि खाली छ भन्ने हेर्नुहोस् । 

रिसोर्स ह्याङ्गिङ फिचर हेर्ने बानी बसाल्नुहोस्

आईफोनमा मात्र होइन अन्य स्मार्टफोनमा समेत रिसोर्स ह्याङ्गिङ फिचर दिइएको हुन्छ । ब्याकग्राउण्ड एप रिफ्रेश तथा लोकेसन सर्भिसले फोनको पर्फर्मेन्सलाई भारी मात्रामा प्रभावित तुल्याउन सक्छ ।

त्यसैले तपाईंले यस्ता विषयमा ध्यान दिनुपर्ने र नियन्त्रणमा राख्नुपर्ने हुन्छ । यो फिचर तपाईंले आफ्नो फोनको सेटिङभित्र प्राप्त गर्न सक्नुहुनेछ ।

एपहरू अपडेट गर्नुहोस्

पुराना एपहरु प्रायः नयाँ अपरेटिङ सिस्टममा स्मुथ र छरितो किसिमले रन हुँदैनन् । यदि तपाईंले आईओएसको नयाँ भर्सन चलाइरहनु भएको छ भने एपको नयाँ अपडेट समेत चेक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३