close

विन्डोज ११ को बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् अपग्रेड

टेकपाना टेकपाना

साउन १५, २०७८ १५:४८

विन्डोज ११ को बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् अपग्रेड

काठमाडौं । माइक्रोसफ्टले विन्डोज इन्साइडर प्रोग्राममा दर्ता हुनेहरूका लागि विन्डोज ११ को पहिलो बेटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीले यसअघि उच्च प्राविधिक प्रयोगकर्ता (highly technical users) को लागि डेभलपर प्रिभ्यु भर्सन सार्वजनिक गरेको थियो ।

माइक्रोसफ्टका अनुसार बेटा भर्सन पनि अझै पूर्ण रुपमा तयार भइसकेको छैन । यसकारण अझै पनि यसमा केही समस्याहरू हुनसक्छन् । यद्यपि प्रयोगकर्ता यसको प्रयोगको लागि प्रयास गर्न सक्छन् ।

विन्डोज ११ को बेटा भर्सन इन्स्टल गर्न तपाईंलाई यो सफ्टवेयर सपोर्ट गर्ने कम्प्युटरको आवश्यकता पर्दछ । तपाईंको हार्डवेयर विन्डोजको यो भर्सनको लागि उपयुक्त छ कि छैन भनेर ठ्याक्कै भन्न सकिदैन ।

तर माइक्रोसफ्टले भने परीक्षण अवधिभर सातौँ पुस्ताको इन्टेल र एएमडी जेन वान सीपीयूमा यसले कसरी राम्रोसँग काम गर्नसक्छ भनेर ध्यानपूर्वक काम गरिरहेको बताएको छ । यो डेभलपर प्रिभ्यु इन्स्टल गर्नेहरूका लागि खुशीको खबर हो ।

यदि तपाईंको कम्प्युटरले विन्डोज ११ सपोर्ट गर्नसक्छ भने सेटिङमा गएर विन्डोज अपडेटमा विन्डोज इन्साइडर प्रोग्राममा क्लिक गरेर बेटा भर्सन प्रयोग गर्न सक्नुहुन्छ । सामान्यतया डेभलपर प्रिभ्यु भर्सनबाट बेटा भर्सनमा जाँदा कम्प्युटरको पुरै अपरेटिङ सिस्टम पुन: इन्स्टल गर्नुपर्ने हुन्छ ।

तर विन्डोज इन्साइडरको ट्वीटर अकाउन्टमा लेखिए अनुसार केही समय अवधिभर यसो गरिरहन जरुरी हुने छैन । क्विक रिबुट गरेकै भरमा तपाईंको विन्डोज बेटा भर्सनमा अपग्रेड हुनेछ ।

यदि तपाईं अहिले विन्डोज १० प्रयोग गरिरहनु भएको छ र विन्डोज ११ को बेटा भर्सन प्रयोग गर्न चाहनुहुन्छ भने माइक्रोसफ्टको बेटा प्रोग्राममा दर्ता हुन सक्नुहुन्छ । यद्यपि बेटा भर्सन पूर्ण रुपमा सुरक्षित भने छैन ।

माइक्रोसफ्टले आफ्नो ब्लग मार्फत बेटा भर्सनमा हुनसक्ने बग, क्रयाश, नपुगेका फिचरहरूको बारेमा जानकारी दिएको छ । तर यदि तपाईं बेटा भर्सन प्रयोग गर्न आतुर हुनुहुन्छ भने तपाईंको लागि बेटा भर्सन पूर्ण रुपमा सार्वजनिक भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१