close

वालेटमा तीन पटकभन्दा बढी मोबाइल नम्बर टेस्ट गर्न नमिल्ने व्यवस्था ल्याउँदै राष्ट्र बैंक

टेकपाना टेकपाना

साउन १७, २०७८ १७:२४

वालेटमा तीन पटकभन्दा बढी मोबाइल नम्बर टेस्ट गर्न नमिल्ने व्यवस्था ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । डिजिटल वालेट नै व्यक्तिगत गोपनीयता सार्वजनिक गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको विषय बाहिरिएसँगै राष्ट्र बैंकले त्यसमा कडाइ गर्ने भएको छ । यसअघि टेकपानाले गत बिहीवार ‘ट्रुकलर’ जस्तै गोपनीयता भंग गर्ने एप बने नेपालका डिजिटल वालेट’ भन्दै समाचार प्रकाशित गरेको थियो ।

तपाईंलाई कुनै नम्बर कसको हो भनेर जानकारी चाहिएको खण्डमा डिजिटल वालेटमा गएर ‘सेन्ड मनी’ अप्सनमार्फत हेर्न सकिने अवस्था छ । हुन त उक्त फिचर सेवाप्रदायकले प्रयोगकर्ताको सहजताका लागि उपलब्ध गराएका हुन् ।

प्रयोगकर्ताले पैसा पठाउँदा आफूले पठाएको पैसा पाउने व्यक्तिलाई नै गइरहेको छ वा छैन भनी यकिन गर्न सहज होस् भन्ने उद्देश्य सेवाप्रदायकको हो ।

प्रयोगकर्ताको सहजताका लागि उपलब्ध गराइएको फिचर पछिल्लो समय दुरुपयोग हुन थालेको भन्दै टेकपानाले यो विषयमा कलम चलाएको थियो ।

अहिले कुनै निश्चित मोबाइल नम्बर कुन व्यक्तिको नाममा छ भन्ने आधिकारिक जानकारी लिन वालेट एप प्रयोग भइरहेकाे छ । यतिसम्म कि कतिपय अवस्थामा प्रहरी आफैंले पनि वालेटको यो कमजोरीलाई प्रयोग गर्ने गरेको प्रहरी स्रोतले टेकपानालाई जानकारी दिएको थियो ।

यसरी वालेटहरु व्यक्तिगत जानकारी लिने माध्यम भएको समाचार प्रकाशित भएसँगै राष्ट्र बैंकले वालेट सेवाप्रदायकलाई व्यक्तिगत गोपनीयताका विषयमा कडाइ गर्ने तयारी गरेको हो ।

‘हामीले उक्त विषयमा अध्ययन गर्‍यौं,’ राष्ट्र बैंकका डिजिटल पेमन्ट विभागका प्रमुख भुवन कँडेलले भने, ‘यस्तो खालको प्रचलन विश्वव्यापी नै प्रयोगमा आएको पाइयो । तर, जुन समस्या उठेको छ, त्यो पक्कै पनि गोपनीयताको हिसाबले महत्वपूर्ण हो । हामीले सेवाप्रदायकसँग पनि यो विषयमा छलफल गर्‍यौं । उनीहरूले यो फिचर प्रयोगकर्ताको सहजताको लागि उपलब्ध गराएको बताए ।’

साथै सेवाप्रदायकले यस्तो खालको दुरुपयोग हुनसक्ने विषयलाई लिएर यसअघि नै कदम चालिसकेको पनि पाइएकाे बताउँदै उनले भने, ‘कतिपय सेवाप्रदायकलाई कुनै एक जना प्रयोगकर्ताले पाँचपटक भन्दा बढी त्यसरी नम्बर परीक्षण गर्न नपाउने व्यवस्था गरेका रहेछन् ।’

यसको अर्थ कुनै प्रयोगकर्ताले पाँच पटकसम्म आफ्नो वालेटमार्फत ‘सेन्ड मनी’ मा गएर सम्पूर्ण विवरण भरी अन्तिममा ‘भेरिफाइ’ मात्रै गरेको पाइएमा सेवाप्रदायकले त्यस्तो सर्भिस बन्द गरेका छन् ।

अब उक्त पाँच पटकलाई घटाएर तीन पटकमा झार्ने योजनामा राष्ट्र बैंक अघि बढेको छ ।

‘पाँच पटकलाई अब तीन पटकमा झार्ने गरी छलफल गरेका छौं,’ कँडेलले भने, ‘त्यो हुँदा एक प्रयोगकर्ताले बढी तीनपटक त्यो फिचर प्रयोग गर्न पाउँछ । यसपछि उक्त फिचरको दुरुपयोग कम हुने अपेक्षा राष्ट्र बैंकको छ ।’ 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१