काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाको उपचारका लागि आवश्यक सामग्री निःशुल्क रुपमा बाँड्न थालेको छ । अति आवश्यक भएका स्वास्थ्यकर्मी, अस्पताल र आइसोलेसन केन्द्रहरूलाई केन्द्रले पीपीई लगायतका सामग्री निःशुल्क रुपमा उपलब्ध गराउन थालेको हो ।
त्यसो त यसअघि पहिलो र दोस्रो चरणको लकडाउनको समयमा समेत केन्द्रले स्वास्थ्य सामग्री सहयोग गरेको थियो । यसपटक भने केन्द्रका संस्थापक महाबिर पुनले अतिआवश्यक हुने स्वास्थ्यकर्मी, अस्पताल र आइसोलेसन केन्द्रलाई सम्पर्कमा आग्रह गरेका हुन् ।
उनका अनुसार पीपीई तथा गाउन आवश्यक हुनेहरूलाई आईडी कार्ड लिएर आविष्कार केन्द्रमा जान तथा उपत्यका बाहिरका लागि फोन सम्पर्क गर्न सक्नेछन् । त्यस्तै स्वाब संकलन गर्ने बुथ, पल्स अक्सिमिटर, अक्सिजन कन्सन्ट्रेटर र मिनी अक्सिजन प्लान्टका लागि अस्पतालको तर्फबाट सम्पर्क गर्नुपर्नेछ ।
यसैगरी अक्सिजन सिलिन्डरको रेगुलेटरका लागि भने आवश्यक हुने जोसुकैले सम्पर्क गर्नसक्नेछन् । आविष्कार केन्द्रले दाताहरूबाट प्राप्त सहयोगको आधारमा विभिन्न स्वास्थ्य सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ । स्वास्थ्य सामग्री अत्यावश्यक हुनेहरूले ९८४१५९२३६१ मा सम्पर्क गर्न सक्नेछन् ।