close

डिजिटल कारोबारका लागि अब तीन अंकको यूएसएसडी तथा एसएमएस कोड

टेकपाना टेकपाना

साउन २०, २०७८ १६:३६

डिजिटल कारोबारका लागि अब तीन अंकको यूएसएसडी तथा एसएमएस कोड

काठमाडौं । डिजिटल कारोबारका लागि प्रयोग हुने यूएसएसडी तथा एसएमएस शर्ट कोड अब तीन अंकको हुने भएको छ ।

डिजिटल फाइनान्सियल सर्भिस (डीएफएस) का लागि सेवाप्रदायकले प्रयोग गर्ने यूएसएसडी तथा एसएमएस कोड तीन अंकको हुनुपर्ने प्रावधान नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएकाे हो ।

प्रधिकरणको सोमबार बसेको बोर्ड बैठकले डीएफएसका लागि प्रयोग हुने यूएसएसडी/एसएमएस शर्ट कोडको रेन्ज तय गरेको हो ।

डीएफएस अर्थात नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारका लागि स्वीकृत प्राप्त सेवाप्रदायक हुन् । जसमा ईसेवा, खल्तीजस्ता पेमेन्ट सर्भिस प्रोभाइडर, कनेक्ट आईपीएस, फोन पेजस्ता पेमेन्ट सर्भिस अपरेटर र मोबाइल बैंकिङ तथा अनलाइन बैंकिङ सेवा उपलब्ध गराउने बैंक पर्दछन् ।

उनीहरुले एउटा बैंकबाट अर्को बैंकमा डिजिटल रुपमा पैसा पठाउँदा, अथवा वालेटमार्फत हुने डिजिटल कारोबार गर्दा प्रयोग हुने एसएमएस तथा यूएसएसडी कोड तीन अंकको हुनुपर्ने भएको हो । यसअघि प्राधिकरणले उपसमिति गठन गरी यसको अध्ययन गरेको थियो ।

उक्त उपसमितिले गरेको सिफारिसका आधारमा प्राधिकरण बोर्डले सोमबार निर्णय लिएको हो । योसँगै अब डिजिटल फाइनान्सियल सर्भिसका लागि प्रयोग हुने यूएसएसडी/एसएमएस शर्ट कोडको रेन्ज ‘५XY’ निर्धारण भएको छ ।

यसको अर्थ त्यस्ता कोड ५ अंकबाट सुरु हुनेछ । भने, त्यसपछिका दुई वटा कोड सेवा प्रदायकलाई जनाउने कोड हुनेछ ।

यो हिसाबले कुल एक सय कोड बन्नेछ । सय वटा कोडले सेवाप्रदायकलाई नपुगेको खण्डमा आवश्यकताअनुसार आगामी दिनमा कोडको दायरलाई बढाएर ४ अंक वा ५ अंकको बनाउनसमेत सकिने प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताएका छन् ।

प्राधिकरणका अनुसार यसका लागि नेपाल राष्ट्र बैंकबाट फाइनान्सियल सर्भिस सञ्चालन सम्बन्धमा अनुमति लिएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

त्यस्तै सेवाप्रदायकले डिजिटल फाइनान्सियल सर्भिस सञ्चालन गर्दा यूएसएसडी/एसएमएस शर्ट कोड प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित दूरसञ्चार सेवाप्रदायक मार्फत यूएसएसडी/एसएमएस शर्ट कोडका लागि प्राधिकरणमा अनुरोध गर्नसक्ने छन् ।

त्यसका आधारमा प्राधिकरणले आवश्यक अध्ययन गरेर अनुमति प्रदान गर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१