काठमाडौं । सामसङले आफ्नो वार्षिक कार्यक्रम ‘ग्योलेक्सी अनप्याक्ड’ आउँदो अगस्ट ११ अर्थात यही बुधबार सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई आमन्त्रण गर्नुका साथै सो इभेन्टको टिजर सार्वजनिक गर्दै कम्पनीले यसबारे जानकारी दिएको छ ।
सामसङका नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रमको रुपमा ग्यालेक्सी अनप्याक्ड हरके वर्ष आयोजना हुँदै आएको छ । यो वर्ष भर्चुअल माध्यमबाटै अनप्याक्ड इभेन्ट हुनेछ ।
बुधबार साँझ नेपाली समयअनुसार ७ः४५ देखि हुने इभेन्टमा कम्पनीले आफ्ना विभिन्न नयाँ उत्पादन सार्वजनिक गर्ने जनाइएको छ । जसमा बहुप्रतिक्षित फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड थ्री र ग्यालेक्सी जेड फिल्प थ्री सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको टिजरमा देखाइएको फोल्ड आकारको स्क्रिनले उक्त दिन कम्पनीले फोल्डेबल फोन सार्वजनिक गर्ने अनुमान गरिएको हो ।
साथै ग्यालेक्सी वाच ४, ग्यालेक्सी वाच ४ क्लासिक तथा ग्यालेक्सी बड्स २ पनि सार्वजनिक हुने अनुमान गरिएको छ ।
उक्त कार्यक्रम भर्चुअल माध्यमबाट हुने भएकाले अनलाइनबाट कार्यक्रममा सहभागी हुन सकिने छ । कम्पनीका अनुसार उक्त कार्यक्रम कम्पनीको आधिकारिक युट्युव च्यानल तथा वेबसाइटमार्फत हेर्न सकिने छ ।