काठमाडौं । अहिले त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सेवाग्राहीलाई दिएको एउटा रसिद सामाजिक सञ्जालमा भाइरल छ । भन्सार विभागले यात्रुको आईफोन जफत गरेको भन्दै फेसबुक लगायतका सामाजिक सञ्जालमा याे रसिद शेयर भइरहेकाे छ ।
कतिपय प्रयाेगकर्ताले भन्सार असुल गरी बिना छाप, बिना हस्ताक्षरको रसिद हातमा थमाउने गरेको भन्दै सरकार र भन्सार कार्यालयको टीकाटिप्पणी गरेका छन् । वास्तवमा याे रसिद अहिलेकाे हाेइन ।
याे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गत वर्ष अर्थात् २०७८ चैत ३० गते सि.नं.२४३४६ बाट पासपोर्ट नं. ०९२८१४९६ का यात्रु अवधेश कुमार चौरासियाले साथमा ल्याएको दुई ओटा मोबाइल सुरक्षित राख्ने प्रयोजनका लागि गराएकाे 'डिपोजिट स्लिप' हाे ।
भन्सार कार्यालयले यस्तो स्लिप बिना छाप र हस्ताक्षरमै सेवाग्राहीलाई दिन्छ । यसपछि चाैरासियाले २०७९ साल वैशाख १ गते नियमानुसार लाग्ने राजस्व तिरेर विभागले राखेकाे फोन लगेका थिए ।
अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन स्थानको भन्सार क्षेत्रमा विदेशबाट आउने यात्रुहरूको चेकजाँच गर्दा कानून बमोजिम सुविधामा तोकिएको परिमाणभन्दा वढी मात्रामा मालवस्तु ल्याएमा सुरक्षित राख्ने प्रयोजनको लागि भन्सार कार्यालयले 'जम्मा निस्सा' (Deposit Slip) जारी गर्ने गर्छ ।
"यसरी जारी गरिने निस्साबाट सम्बन्धित यात्रुले तत्कालै वा तोकिएको अवधिभित्र आफू अनुकूलको समयमा मालवस्तु छुटाई लैजान चाहेमा कार्यालयले भन्सार प्रज्ञापन पत्र तयार गरिदिने र तोकिएको बैंकमा राजस्व जम्मा गरेपछि सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउने गरेकाे छ ।
यसैबीच सामाजिक सञ्जालमा सम्प्रेषण हुने आंशिक, अधुरो तथा कार्यालयको आधिकारिक भनाइ नसमेटी राखिने विषयवस्तुको भ्रममा नपर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुरोध गरेको छ ।