काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले कम्पनीलाई आफ्नो तलब घटाउन अनुरोध गरेका छन् । यससँगै उनको तलब अघिल्लाे वर्ष अर्थात् सन् २०२२ को तुलनामा ४० प्रतिशत कम हुने भएको छ ।
अमेरिकास्थित सेक्युरिटी एन्ड एक्सेन्ज कमिसन (एसईसी) को एक फाइलिङमा कम्पनीले कुकको तलब कम हुने जानकारी दिएको हो । कम्पनीका शेयरहोल्डर, कम्पनीको बजार प्रभावकारिता र कुकको सुझावलाई मध्यनजर गर्दै उनको तलब कटौती गरिएको बताइएको छ ।
कटौती भएसँगै टिम कुकले सन् २०२३ मा चार करोड ९० लाख डलर (करिब ६ अर्ब ३६ रुपैयाँ) तलब पाउनेछन् । यसमा ३० लाख डलर आधारभूत तलब, ६० लाख डलर बोनस र चार करोड डलर इक्विटी भ्यालु समावेश हुनेछ ।
नयाँ व्यवस्था ल्याएसँगै टिम कुकसँग भएको ५० प्रतिशत स्टक युनिटलाई बढाएर ७५ प्रतिशत पुर्याइएको छ । सन् २०११ मा एप्पलको सीईओको जिम्मा टिम कुकले पाएसँगै आजसम्म कम्पनीले बजार राम्रो गति लिएको छ ।
सन् २०२२ को सुरुवातमा कुकले नाै करोड ९४ लाख डलर तलब पाएका थिए, जसमा ३० लाख डलर आधारभूत तलब, ८ करोड ३० लाख डलर बोनस र बाँकी स्टकका रूपमा प्राप्त गरेका थिए । त्यस्तै सन् २०२१ मा उनले कुल नाै करोड ८७ लाख डलर तलब पाएका थिए ।
कुकको गत वर्षको प्याकेजलाई लिएर थुप्रै शेयरधनीले आलोचना गरेका थिए । एक शेयरहोल्डर एड्भाइजरी ग्रुप, इन्स्टिच्युसनले शेयरहोल्डर सर्भिसेस (ISS)ले समेत कुकको तलबका बारेमा चिन्ता व्यक्त गरेका थिए । कम्पनीभित्र विभिन्न विवाद भइरहँदा पनि अधिकांश शेयरधनीले कुकको तलब प्याकेजको पक्षमा मतदान गरेका छन् ।
६२ वर्षीय कुकले आफ्नो सम्पत्ति परोपकारी कार्यमा दिने वाचा गरेका छन् । एप्पलको शेयर गत वर्ष २७ प्रतिशतले घटेको थियो । यो वर्ष हालसम्म कम्पनीको शेयर २.७ प्रतिशतले बढेको छ । कम्पनीको बजार पूँजी दुई खर्ब १२ अर्ब डलर बढी रहेको छ ।