close

वेब सर्फरको अफिसबाट ८ लाख मूल्य बराबरको डिभाइस चोरी

टेकपाना टेकपाना

माघ ४, २०७९ १४:२

वेब सर्फरको अफिसबाट ८ लाख मूल्य बराबरको डिभाइस चोरी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरको कार्यालयबाट करिब आठ लाख रुपैयाँ मूल्य पर्ने 'ह्वावे स्विच' डिभाइस चोरी भएको छ । आइतबार भक्तपुर गठ्ठाघरस्थित कम्पनीको कार्यालयको छैठौं तलामा राखिएको उक्त डिभाइस साँझ साढे ७ बजे चोरी भएको हो ।

टेकपानासँग कुरा गर्दै वेब सर्फरका प्रबन्ध निर्देशक सुरेन्द्र क्षेत्रीले उक्त डिभाइस चोरी भएको जानकारी दिएका हुन् । "त्यो चोर घरबेटीसँग आफू वेबसर्फरको कर्मचारी भएको भन्दै छतमा गएको रहेछ," उनले भने, "यो डिभाइस लिन आएको भन्दै फोनमा सो डिभाइसको फोटो देखाएपछि घरबेटीले निर्धक्क भएर जान दिएका थिए ।"

उक्त डिभाइस चोरी भएको केही घण्टासम्म गठ्ठाघर क्षेत्रमा वेबसर्फरको इन्टरनेट प्रभावित भएको थियो । त्यसलगतै सिस्टम जाँच गर्दा सो डिभाइस चोरी भएकाे पत्ता लागेको क्षेत्रीले सुनाए ।

विशेषगरी इन्टरनेट सेवाप्रदायक कम्पनी वा केबल सेवाप्रदायकलाई मात्र काम लाग्ने उक्त डिभाइस कर्मचारी वा पूर्वकर्मचारीको मिलेमतोमा चोरी भएको हुनसक्ने कम्पनीका बिजनेस डेभलपमेन्ट डाइरेक्टर पुरुषोत्तम पोखरेलको आशंका छ ।

कम्पनीले यसबारे गठ्ठाघर प्रहरी कार्यलयमा उजुरी दिएको छ ।

"हामीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ," पोखरेल भन्छन्, "विभिन्न ठाउँमा भएका सीसीटिभी फुटेजका माध्यमबाट चाँडोभन्दा चाँडो चोर पक्राउ पर्नेमा विश्वस्त छौं । अहिले हाम्रै अफिसमा पनि प्रहरीले सोधपुछ गरिरहेको छ ।"

चोरी भएको ह्वावे स्वीचको सिरियल नम्बर (102160197133)  रहेको छ । उक्त डिभाइस चोरी भएको एउटा सीसीटीभी फुटेज कम्पनीले सार्वजनिक गरिसकेको छ ।

तीन महिनाअघि पनि सोही कम्पनीको नक्साल र त्रिपुरेश्वर कार्यलयबाट ह्वावे स्वीच चोरी भएको पोखरेलले जानकारी दिए ।

नक्साल कार्यालयबाट चोरी भएको जीपीओएन १६पी-ओएलटी आएल ८०१६ जी डिभाइसको सिरियल नम्बर आरएलजीएम २०२००३०००३३ रहेको छ । त्यस्तै त्रिपुरेश्वरबाट चोरी भएको जीपीओएन-भी३० मोडेलको आरएल८००८जीएल डिभाइसको सिरियल नम्बर आरएलजीएम१९२५०८००००४ रहेको छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०७९ १६:४७