close

नागरिक एपमा ब्लुबुक र लाइसेन्स देखाउँदा किन मान्दैन ट्राफिक प्रहरी ?

टेकपाना टेकपाना

माघ ५, २०७९ १३:१५

नागरिक एपमा ब्लुबुक र लाइसेन्स देखाउँदा किन मान्दैन ट्राफिक प्रहरी ?

काठमाडौं । नागरिक एपमा ब्लु बुक र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिङ्क गर्ने सुविधा छ । तर, एपमा भएको ब्लु बुक वा सवारी चालक अनुमतिपत्र देखाउँदा ट्राफिक प्रहरी मान्दैनन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा भएका कागजातलाई मान्यता नदिनुको कारण खुलाएको छ ।

कार्यालयका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३१ बमोजिम कुनै पनि सवारी चालकले चालक अनुमतिपत्र प्रहरी वा यातायात निरीक्षकले जाँचबुझको सिलसिलामा हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था छ ।

सोही ऐनको दफा ६० मा पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालकको सवारी चालक अनुमतिपत्र अधिकारप्राप्त अधिकारीले ६ महिनासम्मका लागि निलम्बन गर्नसक्ने व्यवस्था छ ।

निलम्बनमा रहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी जानकारी नागरिक एपबाट नहुने भएकाले सवारी नियम उल्लंघन गरेमा कारबाही गर्न अनिवार्य सक्कल कागजात लिएर मात्र २४ घण्टे पुर्जी जारी गरिने ट्राफिक कार्यालयको भनाइ छ ।

"नागरिक एपमा हेरेकै आधारमा २४ घण्टे पुर्जी जारी गर्न नमिल्ने भएकाले सवारी चालकले सवारी चालक अनुमतिपत्र लगायत सवारीसँग सम्बन्धित कागजात अनिवार्य रुपमा साथमै राखी सवारीसाधन चलाउनु पर्नेछ," काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।

तर, नागरिक एपबाट उक्त कागजपत्र निलम्बनमा परे/नपरेको यकिन नहुने भएकाले प्रावधानबमोजिम चालकले सवारी कागजपत्र भौतिक रूपमा साथमै राखी सवारीसाधन चलाउनुपर्नेमा ट्राफिक प्रहरी कार्यालयले जाेड दिएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ १३:३४