close

नवप्रवर्तक, उद्यमी तथा लगानीकर्तालाई जोड्ने नास्टको प्लेटफर्म, कसरी गर्ने प्रयोग ?

टेकपाना टेकपाना

माघ १०, २०७९ ११:५८

नवप्रवर्तक, उद्यमी तथा लगानीकर्तालाई जोड्ने नास्टको प्लेटफर्म, कसरी गर्ने प्रयोग ?

काठमाडौं । नेपालमा नवप्रवर्तनलाई बढावा दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले नेसनल इनोभेसन डिजिटल नेटवर्क सञ्चालनमा ल्याएकाे छ ।

नवप्रवर्तन र आविष्कारहरू सम्बन्धी जानकारी पहिचान गर्न, नक्साङ्कन गर्न र नवप्रवर्तनहरूको प्रचारप्रसार गर्न यो एक वेब पाेर्टल सञ्चालनमा ल्याइएको नास्टले जनाएकाे छ ।

यसमा देशभर नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका व्यक्तिले आफ्नो अकाउन्ट सिर्जना गरेर काम पाेस्ट गर्न सक्छन् । त्यस्तै उद्यमी तथा नवप्रवर्तनबारे जिज्ञासा राख्ने जोकोहीले यस पोर्टलमा दर्ता भएका नव-प्रवर्तनहरू हेर्न सक्छन् ।

यस पोर्टलमा कहाँ, के-कस्तो नवप्रवर्तन सम्बन्धी काम भइरहेको छ, नव-प्रवर्तनलाई अगाडि बढाउन के-के कुरामा समस्या छ लगायतका कुरा राख्न सकिन्छ । 

काेभिड महामारीले जनजीवन अस्तव्यस्त बनाएको बेला यो पोर्टल सुरु गरिएकाे नास्टका प्रविधि सङ्काय प्रमुख डा. रविन्द्र ढकालले  उल्लेख गरे ।

''त्यसबेला कोभिड-१९ को समस्या हल गर्न विकास भएका नवप्रवर्तनहरु पहिचान गर्ने प्रयासका रुपमा सुरुवात गरिएकाे थियाे,'' नास्टका प्रविधि सङ्काय प्रमुख डा. रविन्द्र ढकालले भने, ''अहिले यस प्लेटफर्ममा कुनै पनि क्षेत्रका नवप्रवर्तनलाई समावेश गर्न सकिनेछ ।'' 

नवप्रवर्तकले आफूले गरिरहेको अध्ययनको राख्न मिल्ने जति पाटो यस पोर्टलमा राख्न उनी आग्रह गरे ।

“नवप्रवर्तकहरुले त्यहाँ राखेकै विवरणका आधारमा लागनी पाउन सक्छन्,” डा. ढकाल अगाडि भन्छन्, “शिक्षण संस्था र उद्याेगका व्यक्तिलाई जोड्न यो प्लेटफर्मले सहयाेग पुग्ने विश्वास छ ।”

यस प्लेटफर्म जोकाेहीले पनि निःशुल्क रुपमा प्रयोग गर्न सक्छन् । यदि तपाईं आफ्नो नवप्रवर्तन यस पोर्टलमा दर्ता गर्न चाहनुहुन्छ यहाँ क्लिक गर्नुहाेस् । त्यसपछि दर्ता गर्न माथिपट्टि दायाँ देखिने ‘लगइन’ अप्सनमा क्लिक गर्नुहाेस् ।

 

अब तल रहेको ‘साइनअप’ मा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले आफ्नाे व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ ।

 


 

व्यक्तिगत विवरण भरेपछि यस पोर्टलमा तपाईंको अकाउन्ट तयार हुन्छ । तपाईंले आफ्नो नवप्रवर्तन दर्ता गर्न प्रोफाइल फोटोको नजिकै रहेको ‘नवप्रवर्तन थप्नुहोस’ मा क्लिक गर्नुहोस् ।

 

त्यहाँ तपाईंले आफ्नो नवप्रवर्तनका बारेमा लेख्नुपर्ने हुन्छ । त्यसमा कसरी लेख्ने भनेर अन्योल हुनुहुन्छ भने नास्टले तयार पारेको यो भिडिओ ट्युटोरियल हेर्नुहोस् ।

यसरी तपाईंले आफ्नो नवप्रवर्तन यस पोर्टलमा निःशुल्क दर्ता गर्न सक्नुहुनेछ ।

यसमा नवप्रवर्तन दर्ताबाहेक नास्टले सञ्चालन गरिरहेको नवप्रवर्तन सम्बन्धी कुराकानी ‘इन्नो टक’ का अहिलेसम्मका भागसमेत हेर्न सक्नुहुनेछ । त्यस्तै अरु नवप्रवर्तनलाई रेटिङ गर्नसमेत सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ ११:५८