close

विद्यार्थीले बनाए स्वास्थ्य रिपोर्टलाई डिजिटलाइज गर्न सघाउने एप

सञ्जीवन राई सञ्जीवन राई

माघ १६, २०७९ १४:२

विद्यार्थीले बनाए स्वास्थ्य रिपोर्टलाई डिजिटलाइज गर्न सघाउने एप

काठमाडौँ । इन्जिनियरिङ विद्यार्थीहरूको संस्था लोकसको आयोजनामा १९औँ संस्करणकाे 'नेसनल टेक्नोलोजिकल फेस्टिभल' सम्पन्न भएको छ । शुक्रबारदेखि आइतबार तीन दिनसम्म भएकाे महाेत्सवमा देशका विभिन्न विश्वविद्यालय/कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले बनाएका परियोजना प्रदर्शनीमा राखिएकाे थियाे ।

यसमध्ये काठमाडौँ विश्वविद्यालयका चार विद्यार्थीले तयार पारेका ‘योर हेल्थ’ (Your Health) नामक माेबाइल एप प्रदर्शनीमा राखिएकाे थियाे । यो एपले प्रयाेगकर्ताकाे स्वास्थ्य विवरण (हेल्थ रेकर्ड)हरूलाई डिजिटलाइज गर्ने बताइएकाे छ ।

स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत चौंथाे सेमेस्टरका दिपेन्द्र खत्री, विभुषण साख, असिम श्रेष्ठ र जेसिका थापाले छ महिना लगाएर याे एप तयार पारेका हुन् । 

 

चाँडै नै याे एप सार्वजनिक गर्ने उनीहरूकाे तयारी छ । स्वास्थ्य क्षेत्र निकै संवेदनशील हुने भएकाले आफूहरु सिस्टममा 'स्ट्यान्डर्ड हेल्थ प्रोटोकल' कायम भएको निश्चित गर्न लागेकाे एप डेभलपर दिपेन खत्रीले बताए ।

''हामीले स्वास्थ्य परीक्षण गर्दा विभिन्न रिपोर्ट पाउने गर्छौँ । त्यही रिपोर्टहरूलाई व्यवस्थित तरिकाले डिजिटलाइज गर्न एप विकास गरिएकाे हाे,'' उनले भने । खत्रीका अनुसार याे एप सबैले नि:शुल्क प्रयोग गर्न सक्नेछन् ।

अर्का डेभलपर विभुषण साखले सामान्य प्रयोगकर्ताले पनि सहजै चलाउन सकिने गरी एप तयार पारिएको जनाए ।

“एपमा प्रयोगकर्ताले आफ्नो हेल्थ रिपोर्ट स्क्यान गर्नुहुन्छ । त्यसलाई अध्ययन गरेर एपले टेक्स्टमा रूपान्तरण गर्छ । अनि त्यही कुरालाई ग्राफिक्स र भिजुअल तरिकामा एपले व्यक्तिको हेल्थ प्रोफाइल तयार पार्छ,” उनले सुनाए ।

यस एपमा अस्पतालले बिरामीलाई दिने हरेक प्रकारका मेडिकल रिपोर्ट अपलोड गर्न सकिने अर्का डेभलपर असिम श्रेष्ठले बताए । यो कुराले आफ्नो स्वास्थ्य अवस्था निगरानी गर्नसमेत सहयाेग पुग्ने उनकाे मत थियाे ।

“हामीले हाम्रो हेल्थ रिपोर्टहरू कता-कता राखिरहेको हुन्छौं । तर एपमा एउटै ठाउँमा राख्दा व्यवस्थित हुन्छ,” उनले अगाडि भने, “साथै कुनै डक्टरकहाँ स्वास्थ्य परीक्षण गराउन जाँदा एपमा भएको प्रोफाइल देखाउन सक्छौं ।” 

सँगै एपमा ‘इमर्जेन्सी कल’ को सुविधा रहेकाले आपतकालीन अवस्थामा प्रयोग गर्न धेरै उपयोगी हुने अर्की डेभलपर जेसिका थापाले बताइन् ।

“इमर्जेन्सी कलमा प्रेस गर्दा आफू नजिकै रहेको एम्बुलेन्समा स्वत: कल जान्छ,” उनले भनिन्, “यस सुविधाले आपतकालीन अवस्थामा एम्बुलेन्स खोजेर कल गर्नुपर्ने समस्या समाधान गर्छ ।”

त्यस्तै एपमा अर्काे सुविधाका रुपमा 'बडी मास इन्डेक्स क्यालकुलेटर' छ ।

यस एप दीर्घरोगी र बारम्बार अस्पताल जान पर्नेहरूलाई धेरै उपयोगी हुने बताइएकाे छ । ''विभिन्न प्रकारका हेल्थ रिपोर्टहरू बोक्नुपर्ने समाधान एपले दिने भएकाले रिपोर्टहरु हराउला कि भन्ने डर हुँदैन,'' जेसिकाले भनिन् ।

हाल परीक्षणकालमै भए पनि एपमा ६० प्रयोगकर्ता जाेडिएका छन् । अब चाँडै नै स्वास्थ्य क्षेत्र र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दुवैमा ज्ञान भएका व्यक्तिको सल्लाह सुझाव लिएर एप सार्वजनिक गर्ने उनीहरूकाे तयारी छ ।

स्वास्थ्यलाई डिजिटल माध्यमबाट निगरानी गर्न मद्दत गर्न उद्देश्यले एप निर्माण थालेका उनीहरुले याे एपमा फ्रन्ट-इन्ड फ्लटर, डार्ट प्रोगामिङ ल्याङ्ग्वेज प्रयोग गरेका छन् । त्यस्तै ब्याक-इन्डका लागि उनीहरूले नोड जेएस र डेटाबेसका लागि मोङ्गोडीबी प्रयोग गरेका छन् ।

एपबारे भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ १६, २०७९ १४:३१