close

सफ्टवेरिका कलेज र जर्मन कम्पनीबीच साझेदारी, २०० विद्यार्थीलाई नेपाल र जर्मनीमा आईटी रोजगारी दिने

टेकपाना टेकपाना

माघ २५, २०७९ १३:५

सफ्टवेरिका कलेज र जर्मन कम्पनीबीच साझेदारी, २०० विद्यार्थीलाई नेपाल र जर्मनीमा आईटी रोजगारी दिने

काठमाडौँ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले जर्मन कम्पनी 'एआरआरटीएसएम जीएमबीएच' (ARRTSM GmbH)सँग साझेदारी गरेको छ । सम्झौताअनुसार जर्मनीको उक्त प्रविधि कम्पनीले सफ्टवेरिका कलेजका २०० भन्दा बढी विद्यार्थीलाई नेपाल र जर्मनीमा आईटी क्षेत्रमा रोजगारी दिनेछ ।

एआरआरटीएसएम जीएमबीएच जर्मनीको रोबोटिक्स टेक्नोलोजी, इमेज प्रोसेसिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा संयुक्त अनुसन्धान र विकासको क्षेत्रमा क्रियाशील कम्पनी हो ।

सम्झाैतापछि सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले भने, ''यो पहल हाम्रा आन्तरिक विद्यार्थीहरूका साथै देशभरका प्राविधिक अनुसन्धानकर्ताका लागि नेपालमा उच्चस्तरीय प्राविधिक अनुसन्धान प्रयोगशाला सिर्जना गर्न एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो ।''

कलेजका निर्देशक तथा क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूलाई विश्वस्तरीय उत्कृष्ट सिकाइ अनुभव दिलाउनका लिग कलेजले काम गर्दै आएको बताए । उनले भने, ''हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्छौँ, ता कि हाम्रा विद्यार्थीहरूलाई विश्वभरका उत्कृष्ट प्राविधिक संस्थाहरूसँग सिकाइ अनुभव प्रदान गर्न सकियोस् ।''

उनले यो साझेदारीले विद्यार्थीहरूलाई प्राविधिक शिक्षा र अनुसन्धानका लागि महत्वपूर्ण हुने विश्वास गरे ।

एआरआरटीएसएम जीएमबीएचका प्रमुख कार्यकारी अधिकृत युधिष्ठिर गौलीले यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्‍याउन यो सम्झौता महत्त्वपूर्ण भएको बताए । उनले भने,''आईटी शिक्षा र अनुसन्धानमा विश्वसनीय ट्रयाक रेकर्ड भएको नेपालको यस्तो प्रतिष्ठित शैक्षिक संस्थासँग साझेदारी गर्न पाउँदा मलाई असाध्यै आनन्द र सन्तुष्टि मिलेको छ । यो साझेदारीले नेपालमा प्राविधिक अनुसन्धानलाई अर्को तहमा पुर्‍याउने विश्वास लिएको छु ।'

पछिल्लो अध्यावधिक: माघ २५, २०७९ १४:१७