close

के अब सिम र मोबाइल एउटै व्यक्तिको नाममा नभए चल्दैन ?

टेकपाना टेकपाना

माघ २७, २०७९ १६:४९

के अब सिम र मोबाइल एउटै व्यक्तिको नाममा नभए चल्दैन ?

काठमाडौं । पछिल्ला केही दिन मोबाइल र सिम कार्ड एउटै व्यक्तिको नाममा हुनुपर्ने, अन्यथा नचल्ने भन्दै एउटा समाचार भाइरल भइरहेको छ । यसले मोबाइल प्रयोगकर्तालाई आतङ्कित समेत बनाएको छ ।

यो समाचारको वास्तविकता के हो भन्ने विषयमा हामीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रसँग बुझ्ने प्रयास गरेका छौँ । मिश्रले यस विषयमा अहिलेसम्म कुनै गृहकार्य अगाडि नबढेको प्रस्ट पारे ।

त्यसो भए उनैलाई उद्धृत गर्दै आएका समाचारहरूको वास्तविकता के हो त ? त्यसको जवाफमा सहप्रवक्ता मिश्रले भने, "अस्ति मोबाइल वितरकहरूको एउटा कार्यक्रममा बोल्ने क्रममा अवैध मोबाइल तथा चोरीका मोबाइल नियन्त्रण गर्ने विषयमा मैले सम्भावित उपायको रूपमा केही कुराहरू राखेको थिएँ । मोबाइल र सिम कार्ड एउटै व्यक्तिको हुनुपर्ने अन्यथा नचल्ने गरी सिस्टम विकास गर्न सकिने उपाय मात्रै मैले विचारको रूपमा व्यक्त गरेको हुँ ।"

तर नियामकले त्यस विषयमा अहिलेसम्म कुनै पनि औपचारिक प्रक्रिया सुरु नगरेको उनले स्पष्ट पारे । "यसबाट आतङ्कित हुन जरुरी छैन," उनले भने, "यो नियम बन्दै गरेको र निश्चित समयपछि लागू हुने भन्ने त्यस्तो केही पनि छैन ।"

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ १७:३५