काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओको आधारमा प्रहरी गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गर्ने छ जना पक्राउ परेका छन् । सोमबार विभिन्न यातायात मजदुर सङ्गठनहरूले गरेको विरोध प्रदर्शनका क्रममा काठमाडौंको माछापोखरी चोकमा उक्त गतिविधि भएको थियो ।
प्रदर्शनकारीहरूले प्रहरीको एउटा स्कारपियो गाडी र अर्को माज्दा गाडी जलाएका थिए । त्यस क्रममा माछापोखरी प्रहरी बिटमा समेत ढुङ्गामुढा तथा आगजनी गर्दा बिट तथा बिटभित्र रहेका हाइटेरा ह्यान्डसेट चार्जर, ब्याट्री, नेपाल टेलिकमको ट्रेलर मसिन र १४४ कोर फाइबर केबल समेत जलेर नष्ट भएको बताइएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओहरूको आधारमा हुलिया पहिचान गरी सोही गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर बलमता २ घर भएका विक्रम राई, नुवाकोट पञ्चकन्याका ३ का रामहरि भण्डारी, लमजुङ वेसीसहर ५ का विवेक श्रेष्ठ रहेका छन् ।
त्यस्तै अन्यमा काभ्रेपलान्चोक मानेडाँडाका राजेश तामाङ, प्यूठान कडी गाउँपालिका १ का दिपेन्द्र पुन मगर र काभ्रेपलान्चोक भुम्लू २ का आशिष खड्कालाई समेत पक्राउ गरिएको छ ।
उनीहरू विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुलुकी अपराध संहिता २०७४ को व्यवस्था अनुसार आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको छ । यसका साथै उक्त घटनाका सन्दिग्ध अन्य नौ/दश जनालाई समेत नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको उल्लेख छ ।