काठमाडौं । आईफोन १५ प्रोको क्याड मोडेल अर्थात् कम्प्युटर एडेड डिजाइनको तस्वीर बाहिरिएको छ । तस्वीरअनुसार फोनमा यूएसबी-सी पोर्ट देख्न सकिन्छ ।
नाइन टु फाइभ म्याक प्राप्त गरेको क्याड मोडेलमा यूएसबी-सी पोर्ट भएको प्रमाणित गरिएको छ । यसको अर्थ हो, आईफोन १५ प्रो प्रयोग गर्ने प्रयोगकर्ताले लाइटेनिङ चार्जर प्रयोग गर्नुपर्ने छैन ।
यस्ताे डिजाइन सामान्यत: कम्पनीहरूले मोबाइल सार्वजनिक हुनुअघि मोबाइलको केस अथवा कभर तयार पार्ने कम्पनीहरूलाई पठाउने गर्छन् । सोही तस्वीर नाइन टु फाइभले फेला पारेको हो ।
यो क्याड मोडेल चीनमा रहेको एप्पलको फ्याक्ट्रीबाट प्राप्त भएको बताइएको छ । साथै यो मोडलको तस्वीर एसियाली देशका कभर निर्माता कम्पनीलाई सर्कुलर गरिएको हो ।
यस्तो मोडेल फोनको डिजाइन तय भइसकेपछि मात्र पठाइने गरिन्छ । यसको अर्थ आईफोन १५ प्रो अब टाइप-सी पोर्टले पनि चार्ज गर्न सकिनेछ । अन्य माेडेलमा पनि टाइप-सी पोर्ट हुनसक्ने अनुमान गरिएकाे छ ।