काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले भविष्यमा कामदारलाई विस्थापित गर्नेछ भन्ने विषयमा अहिले विवाद चलिरहेको छ । कसैले मानिसलाई यसले विस्थापित गर्छ भन्ने तर्क दिन्छन् भने कसैले विपरीत कुरा गर्छन् ।
तर हरेक दिन विकास भइरहेका नयाँ-नयाँ एआई प्रविधिले अन्य कामदारभन्दा मध्यम वर्गीय कामदारलाई चुनौती दिन सुरु गरिसकेको छ । प्रविधिको विकास हुँदै गर्दा धेरै कम आम्दानी भएको क्षेत्रलाई बढी आम्दानी भएको क्षेत्रले विस्थापन गरेको थियो ।
तर एआईको विकाससँगै यो पटक केही फरक हुँदैछ । नीति निर्मातालाई थाहा छ कि, सबैभन्दा राम्रो अवस्थामा पनि एआईले श्रम बजारमा ठूलो अवरोध ल्याउनेछ । तर यदि उनीहरूलाई यो एआई विकास हुन अझै समय लाग्नेछ भन्ने लागिरहेको छ भने त्यो भ्रम हुनेछ ।
किनभने एआई हामीमाझ आइसकेको छ र यो सामान्य जस्तै बनिसकेको छ । विश्व महामारी, महँगी र युद्धमा ग्रस्त भइरहँदा मसिन लर्निङ र रोबोटिक्सको विकास द्रुत गतिमा अघि बढिरहेको छ ।
एआई चौंथो औद्योगिक क्रान्तिको रुपमा अगाडि बढिरहेको छ । परिवर्तन रातारात हुने कुरा होइन, तर विगतको औद्योगिक क्रान्तिमा जस्तै एआईको यो क्रान्तिमा पनि लाखौं मजदुरहरू प्रभावित हुनेछन् ।
पहिले, मसिनहरूले म्यानुअल कामलाई प्रतिस्थापन गरेको थियो । यसले मानिसहरूलाई एउटा फरक किसिमको सीप सिक्न प्रेरित त गर्छ । तर यो तत्कालको समस्या समाधानको लागि भने उपयुक्त हुँदैन । यसले मध्यम वर्गीय कामदारलाई भने नराम्रो असर गर्नसक्छ ।
एआईको दुनियाँमा हालै सार्वजनिक भएको 'च्याटजीपीटी' ले देखाउँछ कि, अब मसिन-मसिनबीच रचनात्मक लडाइँ हुनेछ । च्याटजीपीटी एउटा मसिन हो, जसले बौद्धिक रूपमा लेख्न सक्छ । यसले जटिलभन्दा जटिल प्रश्नको जवाफ दिन सक्नुका साथै विभिन्न विषयको परीक्षा उत्तीर्ण गरेर संसारलाई चकित पनि बनाइसकेको छ ।
गत वर्ष नोभेम्बरमा सान फ्रान्सिस्कोस्थित अनुसन्धान प्रयोगशालामा ओपनएआईले सुरु गरेको च्याटजीपीटीले दुई महिनामै १० करोड प्रयोगकर्ता पाएको थियो । जब कि यति प्रयोगकर्ता पुर्याउन फेसबुकलाई दुई वर्ष लागेको थियो ।
क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयको रिपोर्ट अनुसार २०१५ र २०२१ को बीचमा एआई पेटेन्टको संख्या ३० गुणाले बढेको छ। रोबोटहरू पनि पहिलेको तुलनामा सस्तो हुँदै गइरहेको छ भने बजारमा यसको माग पनि बढ्दो छ ।
इतिहासले बताउँछ कि, प्राविधिक परिवर्तन नीति निर्माताहरूका लागि महत्त्वपूर्ण चुनौतीको रुपमा रहँदै आएको छ । अघिल्ला तीन ओटा औद्योगिक क्रान्तिमध्ये प्रत्येकले समान प्रारम्भिक प्रभाव पारेको थियो: यसले विश्व अर्थतन्त्रमा रोजगारको संख्यामा कमि ल्यायो, यसले असमानता बढायो र श्रमिकको भागमा जाने आयमा गिरावट ल्यायो ।
एआईले पनि ठ्याक्कै यस्तै परिवर्तनहरू ल्याउने संकेत दिइरहेको छ । नयाँ मसिनका मालिकहरूले आफ्नो आविष्कारबाट ठूलो रकम कमाउनेछन्। पुँजीले श्रमको खर्चमा आयको आफ्नो अंश बढेको देख्नेछ। अर्थतन्त्रका केही क्षेत्रहरू खाली हुने भए पनि अन्य क्षेत्रमा रोजगारी वृद्धि हुनेछ ।
यस पटकको भिन्नता यो हो कि, सबैभन्दा बढी जोखिममा मध्यम-वर्गीय रोजगारहरू हुनेछन् । जबकि सिर्जना गरिएका धेरैजसो रोजगारहरू कम तलबका हुन सक्छन् ।
यीमध्ये केही समस्याहरू समाधान गर्ने तरिकाहरू छन् । सरकारहरूले शिक्षा र तालिममा थप लगानी गर्न सक्छन्, ता कि कामदारहरूसँग राम्रो जीवनयापन गर्न आवश्यक पर्ने सीपहरू होस् । तिनीहरूले नयाँ प्रविधिबाट लाभ उठाउने तरिका पत्ता लगाउन सकोस् । यसर्थ नीति निर्माताहरूले सावधानी र तीव्र गतिका साथ काम गर्न आवश्यक छ ।