close

यस्तो छ ओपन-सोर्स अपरेटिङ सिस्टममा आधारित जर्मन स्मार्टफोन

टेकपाना टेकपाना

फागुन ९, २०७९ १०:०

यस्तो छ ओपन-सोर्स अपरेटिङ सिस्टममा आधारित जर्मन स्मार्टफोन

काठमाडौं । एन्ड्रोइड र आई‌ओएसको विकल्प खोज्नेहरूको लागि जर्मन कम्पनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । 

जर्मन कम्पनी ह्यालो वेल्ट सिस्टमले आफ्नो 'भोला फोन' सिरिजको नयाँ स्मार्टफोन 'भोला फोन एक्स ट्वेन्टीथ्री' (volla phone x23) सार्वजनिक गरेको छ । यो स्मार्टफोनको विशेषता यसको अपरेटिङ सिस्टम हो । 

यसमा गुगल इकोसिस्टम वा भनौं एन्ड्रोइड प्रयोग भएको छैन । यो कम्पनीले आफ्नो स्मार्टफोनमा ओपन-सोर्स अपरेटिङ सिस्टम प्रयोग गरेको छ जसले गर्दा प्रयोगकर्ताले आफ्नो मोबाइललाई आफ्नो हिसाबले प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ । 

यद्यपि कम्पनीले आफ्नो ग्राहकको सहजतालाई मध्यनजर गर्दा फोनका दुईओटा भेरियन्ट सार्वजनिक गरेको छ । पहिलो भोला ओएस भेरियन्ट जुन एन्ड्रोइड एपहरू प्रयोग गर्नको लागि इच्छुक प्रयोगकर्ता लक्षित छ भने अर्को उबन्टु टच इन्स्टल भएको भेरियन्ट जुन पूर्ण रुपमा ओपन सोर्स अपरेटिङ सिस्टममा आधारित छ ।

यो स्मार्टफोनमा मिडियाटेक हेलियो जी९९ (Mediatek Helio G99) चिपसेट प्रयोग गरिएको छ । ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको यो फोनमा ६.१ इन्चको एचडी प्लस स्क्रिन छ । फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ भने फोनको ब्याट्री क्षमता भने ५००० एमएएचको रहेको छ । 

यो फोनको ब्याट्रीले ३० वाटको वायर्ड चार्जर र १५ वाटको वायरलेस चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ । 

यो फोनको अर्को विशेषता भनेको यो फोन निकै नै बलियो छ । मिलिट्री स्ट्यान्डर्ड MIL-STD-810H बाट प्रमाणित यो फोनले उच्च तापक्रम सहन सक्छ भने धेरै उचाइबाट खस्दा पनि फोनमा कुनै समस्या नआउने कम्पनीले बताएको छ । 
 
 

 
 
 

पछिल्लो अध्यावधिक: फागुन ९, २०७९ १२:११