close

च्याटजीपीटीले दुई महिनामै पुर्‍यायो १० करोड प्रयोगकर्ता, अन्यलाई कति लाग्यो समय ?

टेकपाना टेकपाना

फागुन १०, २०७९ १६:२०

च्याटजीपीटीले दुई महिनामै पुर्‍यायो १० करोड प्रयोगकर्ता, अन्यलाई कति लाग्यो समय ?

काठमाडौं । सबैभन्दा छोटो समयमा १० करोड प्रयोगकर्ताको आँकडा पार गर्ने प्लेटफर्म च्याटजीपीटी बनेको छ । ओपनएआईले निर्माण गरेको च्याटजीपीटीले १० करोड प्रयोगकर्ताको आँकडा सार्वजनिक भएको दुई महिनामा पार गरेको हो ।

एआईमा आधारित च्याटजीपीटी मानिसकै शैलीमा उत्तर दिनसक्ने विशेषताले चर्चित छ । च्याटजीपीटीलाई अर्बौं डेटाद्वारा तालिम दिइएको हुन्छ, जसले गर्दा यस टुलले खेलकुद, राजनीति, विज्ञान, प्रोग्रामिङका जटिलभन्दा जटिल सवालको हल निकाल्छ ।

रोयटर्सका अनुसार डिसेम्बरको अन्तिमसम्म च्याटजीपीटीमा एक करोड प्रयोगकर्ता थिए भने जनवरी अन्तिमसम्म उक्त प्लेटफर्ममा नाै करोड प्रयोगकर्ता थपिएका हुन् । यससँगै च्याटजीपीटी सबैभन्दा कम समयमा १० करोड प्रयोगकर्ताको आँकडा पार गर्ने प्लेटफर्म बनेको हो ।

च्याटजीपीटीलाई पछ्याउँदै टिकटक सबैभन्दा कम समयमा उक्त प्रयोगकर्ता सङ्ख्याको आँकडा पार गर्ने प्लेटफर्मको दोस्रो स्थानमा छ । टिकटकले १० करोड प्रयोगकर्ताको आँकडा पार गर्न नौ महिना लगाएको थियो ।

त्यस्तै साढे दुई वर्षमा इन्स्टाग्रामले १० करोड प्रयोगकर्ताको आँकडा पार गरेकाे थियाे ।

सामाजिक सञ्जाल पिन्ट्रेस्टले ४१ महिनामा १० करोड प्रयोगकर्ताको आँकडा पार गरेको थियो । स्पोटिफाईमा भने १० करोड प्रयोगकर्ता पुग्न ५५ महिना लागेको थियो ।

त्यस्तै टेलिग्रामलाई १० करोड प्रयोगकर्ताको आँकडा पार गर्न ६१ महिना लागेको थियो । सातौं स्थानमा रहेको उबरले ७० महिनामा १० करोड प्रयोगकर्ताको आँकडा पार गरेको थियो । र, ७८ महिनामा १० करोड प्रयोगकर्ताको आँकडा पार गरेर गुगल ट्रान्सलेट आठौँ स्थानमा रहेको छ ।

तीव्र गतिमा च्याटजीपीटीमा १० करोड प्रयोगकर्ता जोडिनुले धेरै सुरक्षा चुनौती तथा अन्य जोखिम निम्त्याउने सम्भावना बढाएको छ ।

च्याटजीपीटीले कतिपय अवस्थामा उपलब्ध गराउने गलत जवाफले धार्मिक समाज, जातजाति वा अन्य वर्गलाई प्रभाव पर्ने विश्लेषकहरू बताउँछन् । यही समस्यालाई समाधान गर्न च्याटबटले पछिल्लो उक्त टेक्स्ट पहिचान गर्ने टुल विकास गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०७९ १६:२०