close

युट्युबमा डबिङ भिडिओ अपलोड गर्ने सुविधा, प्रयोगकर्ताले अब आफ्नो भाषामा अडियो सुन्न पाउने

टेकपाना टेकपाना

फागुन १४, २०७९ १३:७

युट्युबमा डबिङ भिडिओ अपलोड गर्ने सुविधा, प्रयोगकर्ताले अब आफ्नो भाषामा अडियो सुन्न पाउने

काठमाडौं । युट्युबले क्रियटरका भिडिओलाई विभिन्न भाषामा डबिङ गरेर अपलोड गर्न मिल्ने फिचर ल्याएको छ । बिहीबार केही क्रियटरमाझ उपलब्ध गराउन थालिएको यो फिचर छिट्टै नै विश्वभरका क्रियटरले प्रयोग गर्न पाउने बताइएको छ ।

यस फिचरका माध्यमबाट क्रियटरले आफ्नो भिडिओका लागि विभिन्न भाषाका अडिओ ट्रयाक तयार पारेर अपलोड गर्न सक्छन् ।अपलोड भएका विभिन्न भाषाका अडियो ट्रयाक प्रयोगकर्ताले आफू अनुकूल बनाएर अपलोड गर्न सक्ने कम्पनीले बताएको छ ।  

सीमित भाषा वा क्षेत्रलाई केन्द्रित गर्दै भिडिओ बनाउने क्रिटयरको भिडिओलाई विश्वभरका अडियन्समाझ पुर्‍याउने उद्देश्यले कम्पनीले यस्तो फिचर ल्याएको छ ।

त्यसबाहेक पनि आफ्नो मातृभाषा वा स्थानीय भाषा मात्र बुझ्ने प्रयोगकर्तालाई यस्तो भिडिओले नयाँ कुराहरू अन्वेषण गर्न सघाउने कम्पनीको विश्वास छ ।

यदि तपाईँ युट्युबको डबिङ फिचर कस्तो छ भन्ने जाँच गर्न चाहनुहुन्छ भने मिस्टर बिस्टको यो भिडिओ हेर्नुहोस् । यस भिडिओलाई युट्युबमा प्ले गर्नुहोस् । त्यसपछि सेटिङमा गएर अडियो ट्रयाकको अप्सन छान्नुहोस् । अनि आफूलाई उपयुक्त हुने भाषा छान्नुहोस् ।

अहिले केही सीमित भाषा भएकाले आफ्नो स्थानीय भाषा नभेटिन सक्छ । तर, विस्तारै सबै क्रियटरलाई यो फिचर उपलब्ध गराउने कम्पनीले बताएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम द भर्जका अनुसार कम्पनीले विभिन्न भाषाका ३५०० बढी भिडिओलाई विभिन्न ४० भाषामा डबिङ गर्ने सुविधा दिएको छ । यस्तो डबिङ फिचरले भिडिओमा सामान्य भन्दा १५ प्रतिशत बढी भ्युज आउने कम्पनीले उल्लेख गरेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १४, २०७९ १३:७