काठमाडौं । चिप निर्माता कम्पनी क्वालकमले अन्ततः स्न्यापड्रागन स्याटलाइट सेवा उपलब्ध हुने एन्ड्रोइड फोन निर्माता कम्पनीको नाम सार्वजनिक गरेको छ । मोबाइल वर्ल्ड कंग्रेस २०२३ को अवसरमा कम्पनीले मोटोरोला, नथिङ, अनर, ओप्पो, भिभो र साओमीमा स्याटलाइट कनेक्टिभिटी फिचर उपलब्ध हुने जनाएको हो ।
आईफोन १४ सिरिजमा सार्वजनिक भएपछि स्याटलाइट कनेक्टिभिटी फिचरले थप चर्चा पाएको थियो । यसका माध्यमबाट मोबाइल नेटवर्क सपोर्ट नहुने ठाउँबाट पनि आपत्कालिन अवस्थामा सहयोग माग्न सकिन्छ ।
कम्पनीले अब आउने हरेक प्रोसेसर साथै सार्वजनिक भइसकेको स्न्यापड्रागनको ४ सिरिजदेखि ८ सिरिजसम्मका चिपसेटमा यो फिचर समावेश गर्ने बताएको छ । यसको अर्थ अब छिट्टै नै मिड रेन्ज, हाई-इन्ड र प्रिमियम क्याटगोरीका एन्ड्रोइड फोनमा यो फिचर उपलब्ध हुनेछ ।
स्न्यापड्रागन स्याटलाइट भनेको के हो ?
क्वालकमले स्न्यापड्रागन स्याटलाइट गत जनवरीमै घोषणा गरेको थियो । एप्पलको इमर्जेन्सी एसओएस भाया स्याटलाइट फिचर जस्तै यसले पनि प्रयोगकर्तालाई आपतकालीन अवस्थामा मेसेज पठाउन र पाउन मद्दत गर्छ । स्याटलाइट कनेक्टिभिटी फिचर प्रयोग गर्दा फोन पृथ्वीको तल्लो कक्ष (लो अर्विट) मा राखिएका इरिडियम ६६ स्याटलाइटसँग कनेक्ट हुन्छ र सन्देश प्रवाह हुन्छ ।
अहिलेलाई भने स्नापड्रागन ८ जेन टु प्रोसेसरमा समावेश गरिएको एक्स ७० मोडेमले यस्तो स्याटलाइटसँग जोड्न सघाउँछ । जसले गर्दा मोबाइल सोझै स्याटलाइटसँग जोडिन्छ र प्रयोगकर्ताले आपतकालीन अवस्थामा (नेटवर्क नभएको ठाउँमा हराउँदा) प्रयोग गर्न सकछन् ।
स्याटलाइट कनेक्टिभिटी ल्याउने पहिलो एन्ड्रोइड फोन
क्वालकमले स्न्यापड्रागन स्याटलाइट फिचर ल्याउन साझेदारीको घोषणा गरिरहँदा यता मोटोरोला र बुलिट ग्रुपले यो फिचर भएको पहिलो एन्ड्रोइड फोन सार्वजनिक गरिसकेका छन् ।
मोटोरोला डेफी टु मा मिडियाटेकको स्याटलाइट कनेक्टिभिटी फिचर बुल्लिट स्याटलाइट मेसेजिङ सर्भिसबाट प्रयोग गर्न सकिनेछ । त्यस्तै मोटोरोलासँग कम्प्याक्ट स्याटलाइट लिङ्क डिभाइस पनि रहेको छ । जसका माध्यमबाट जुनसुकै एन्ड्रोइड वा आईओएस डिभाइसमा स्याटलाइट कनेक्टिभिटी फिचर प्रयोग गर्न सकिन्छ ।