close

दूरसञ्चार पूर्वाधारमा क्षति पुर्‍याउनेलाई कारबाही गर्न प्राधिकरणको माग

टेकपाना टेकपाना

फागुन २०, २०७९ १७:५५

दूरसञ्चार पूर्वाधारमा क्षति पुर्‍याउनेलाई कारबाही गर्न प्राधिकरणको माग

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पछिल्लो समय दूरसञ्चार पूर्वाधारमा क्षति पुर्‍याउने काम भइरहेको भन्दै त्यस्ता कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । प्राधिकरणको २५औँ वार्षिकाेत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कुनै पनि बहानामा दूरसञ्चार पूर्वाधारमा क्षति पुर्‍याउने वा प्राेत्साहन गर्ने जाेकाेहीलाई कारबाही गर्न  माग राखेका हुन् ।

कार्यक्रममा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्मालाई दूरसञ्चार पूर्वाधारमा क्षति पूर्‍याउने काम दिनानुदिन बढ्दै गएको अवगत गराउँदै उनले यस विषयमा कदम चाल्न आग्रह गरे ।

"हालका दिनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले दूरसञ्चार पूर्वाधारमा क्षति पुर्‍याउने कार्यमा संलग्न जोकोहीलाई पनि कानुनको परिधिभित्र ल्याई सजाय गरिनुपर्ने देखिन्छ," उनले भने, "साथै सडक विस्तार गर्न खम्बा सार्ने तथा तार व्यवस्थान गर्ने क्रममा दूरसञ्चारका पूर्वाधारमा क्षति हुने क्रम बढ्दो छ । यसलाई तत्काल व्यवस्थापन गर्न नसकेमा सूचना प्रविधिमा आधारित राज्यका महत्त्वपूर्ण क्रियाकलाप अवरोध हुने जोखिम देखिन्छ ।"

पछिल्लो समय नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच र नेपाल टेलिकम र सेवा प्रदायकबीच पोल भाडाको विषयलाई लिएर विवाद हुँदा इन्टरनेटका तार हटाउने काम भइरहेको छ । यस विषयलाई प्राधिकरणले पटक-पटक आवाज उठाएपनि समस्याको हल हुन सकेको छैन ।

 

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ १७:५५