काठमाडौं । शुक्रबारदेखि सामाजिक सञ्जालमा चितुवा बोकेर खिचेका फोटो/भिडिओ भाइरल भइरहेका छन् । पर्वतको फलेवास नगरपालिका वडा नं २ थापाठानाका स्थानीयले चितुवासँग खिचेका फाेटाे/भिडिओ फेसबुक, टिकटक, युट्युब लगायतका साेसल मिडियामा देख्न सकिन्छ ।
जिउँदो चितुवा बोकेर खिचेको भन्दै पोस्ट गरिएका फोटो, भिडिओको वास्तविकता अर्कै भएको पाइएको छ । वन कार्यालय पर्वतका निमित्त डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले मरिसकेको चितुवालाई लिएर स्थानीयले फोटो खिचाएको बताएका छन् ।
"स्थानीयले उक्त चितुवालाई बेहाेसी अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले हामीलाई खबर गरेको हो," उनले भने, "हामीले शुक्रबार बिहान ११:३० बजेतिर खबर पाएर त्यहाँ पुग्दासम्म चितुवा मरिसकेको थियो ।"
वन कार्यालयका कर्मचारीहरू पुग्ने समयसम्ममा स्थानीयहरूले मरेको चितुवालाई बोकेर तँछाडमछाड गरी फोटो, भिडिओ बनाएकाे उनले बताए ।
यस्तो काम गर्न नहुने र यस विषयमा सचेत गराउँदा गराउँदै पनि केही मानिसले गैरजिम्मेवार भएर प्रहरी र वन कार्यालयकै कर्मचारीका अगाडि फोटो/भिडिओ बनाएकाे उनले बताए ।
यस्तो गर्दा जनावरको शरीरमा भएको प्रमाण मर्नसक्ने अवस्था हुने पनि उनले बताए । फोटो/ भिडिओको लागि मरेका वन्यजन्तुलाई छुनु सुरक्षित नभएको उनको भनाइ थियाे ।