close

बनेको एक वर्षसम्म सञ्चालनमा आएनन् टेलिकमका २०० टावर

टेकपाना टेकपाना

फागुन २०, २०७९ १९:२

बनेको एक वर्षसम्म सञ्चालनमा आएनन् टेलिकमका २०० टावर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सातैओटा प्रदेशमा तयार भएको नेटवर्कको टावर एक वर्ष बित्दा पनि सेवाप्रदायक (अपरेटर)ले प्रयोगमा नल्याएकाे बताएका छन् ।

प्राधिकरणको २५औँ वार्षिकाेत्सवमा बोल्दै अध्यक्ष खनालले भने, "सातै प्रदेशमा एक वर्षअघि नै २०० ‌बढी स्थानमा टावर तयार भइसकेका छन् । तर सेवाप्रदायकहरूले यसलाई सञ्चालनमा ल्याउन सकेका छैनन् ।"

केही हार्डवेयरको जडान बाँकी रहेको भन्ने कुरा आएपनि हार्डवेयर जडान गर्नकै लागि वर्षाैं नलाग्नुपर्ने उनको धारणा थियाे ।

खनालले यसलाई नियोजित रुपमा गरिएको ढिलाइ भन्दै सम्बन्धित सेवाप्रदायकको ध्यानाकर्षण गराए । अध्यक्ष खनालले कार्यक्रममा नाम नलिएपनि ती टावर नेपाल टेलिकमको भएको प्राधिकरण स्रोतले बताएको छ ।

एकातिर सेवाविस्तारमा ढिलाइ, अर्कोतिर सेवा गुणस्तरमाथि उठेका कुराले नियामकमाथि पनि प्रश्न उठेको बताउँदै उनले गुणस्तरीय सेवाका प्रदान गर्न सेवाप्रदायकहरूलाई आग्रह गरे ।

उनले फोरजी सेवाको विस्तार पनि सन्तोषजनक हुन नसकेको उल्लेख गरे । नेपालमा फोरजी सेवा विस्तारका लागि नेपाल टेलिकमले जिम्मा लिएको भएपनि निर्धारित समयमा कम्पनीले काम सम्पन्न गर्न नसकेको कुरा भन्दै अध्यक्ष खनालले असन्तुष्टि व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ १९:२