close

के ठीकठाक छ त फेसबुकको हालत ?

टेकपाना टेकपाना

फागुन २१, २०७९ २१:४५

के ठीकठाक छ त फेसबुकको हालत ?

काठमाडौं । प्रयोगकर्ता सङ्ख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल माध्यम फेसबुक अक्सर विवादको घेरामा रहने गर्छ । इन्टरनेट सुरक्षा तथा डेटा प्राइभेसी नियम उलङ्घनको मामिलामा अमेरिका तथा युरोपियन युनियनले यसमाथि जरिवाना समेत लगाएको छ ।

जनवरी २०२३ मा पूर्व अमेरिकी राष्ट्रपतिले एक महत्त्वपूर्ण लडाइँमा जित हात पारे, यद्यपि त्यो चुनावमा प्राप्त जित भने थिएन । उक्त जित पश्चात फेसबुकमाथि उनीमाथि लगाइएको रोक हटाइएको थियो ।

दुई वर्ष फेसबुकबाट बाहिर रहेपछि अब उनले चाहेको खण्डमा फेरि फेसबुकमा आफ्नो विचार व्यक्त गर्न सक्नेछन् । फेसबुकले पूर्व अमेरिकी राष्ट्रपतिलाई सन् २०२० मा जो बाइडनसँग राष्ट्रपति चुनावमा हारेपछि ब्लक गरिदिएको थियो त्यसपश्चात् पूर्व राष्ट्रपतिका हजारौँ समर्थकले चुनावको परिणाम बदल्नका लागि अमेरिकी संसद् घेरेका थिए र कडा विरोध प्रदर्शन गरेका थिए ।

उक्त घटनामा पाँच जनाको मृत्यु भएको  थियो । उक्त समय फेसबुकले उनको बयानबाट हिंसा भड्किएको र उनले विचार व्यक्त गर्दा मानिसहरूलाई कुनै सुरक्षा खतरा नहुने कुरामा आश्वस्त भएपश्चात मात्रै उनलाई फेसबुकमा फर्किन दिइने बताएको थियो ।

फेसबुक प्रयोग गर्ने पूर्व राष्ट्रपति त्यसअघि पनि आफ्ना कयौँ पोस्टका कारण विवादमा रहँदै आएका थिए । यसैबीच उनीमाथि लगाइएको रोक हटाउने फेसबुकको फैसलाको तीखो आलोचना भयो ।

त्यसो त फेसबुकको आलोचना भएको पनि त्यो पहिलो पटक थिएन । दुनियाँको एक चौथाई जनसङ्ख्या दैनिक फेसबुक प्रयोग गर्छ र यो सामाजिक सञ्जाल माध्यम अक्सर विवादको घेरामा रहन्छ ।  

 

फेसबुकमै दैनिकीको सरगर्मी 

हार्वर्ड युनिभर्सिटीमा प्रविधि तथा सञ्चार सम्बन्धी विषयकी वरिष्ठ शोधकर्ता तथा मिडिया विशेषज्ञ ज्युदित डोनथ बताउँछिन् कि फेसबुक अघि पनि कयौँ सामाजिक सञ्जाल माध्यम थिए ।

उनी भन्छिन्, "हार्वर्ड युनिभर्सिटीमा पाँच छात्रहरूले सामाजिक सञ्जालमा नाटकीय बदलाव ल्याउने किसिमको फेसबुक सार्वजनिक गरेका थिए । यसको सुरुवात यसरी भयो कि त्यहाँ पढ्ने छात्रहरूको जानकारीको बारेमा एक पेपर डाइरेक्टरी हुने गर्थ्यो, जसमा छात्रहरूको फोटो तथा बायोडेटा हुन्थ्यो । उक्त डाइरेक्टरीको नाम थियो- फेसबुक । ती छात्रहरूले सोही नामबाट आफ्नो सामाजिक सञ्जाल माध्यमका लागि चयन गरे ।"

उनी भन्छिन्, "पेपर डाइरेक्टरीमा मानिसहरूलाई खोज्न मुस्किल हुन्थ्यो र त्यसमा तपाईंले कमेन्ट समेत गर्न सक्नुहुन्थ्यो । उनीहरूले एउटा यस्तो माध्यम बनाउने कोसिस गरेका थिए कि जसमा मानिसहरूलाई खोज्न सजिलो थियो । कम्प्युटर विज्ञान तथा मनोविज्ञानका छात्र मार्क जुकरबर्ग फेसबुक बनाउने मध्येका छात्र मध्ये एक थिए । त्यसलाई लिएर उनीसँग ठूलो योजना थियो ।"

फेसबुकको यात्राको बारेमा ज्युदित डोनथ भन्छिन्, "सुरुवात उनले युनिभर्सिटीबाट गरे तर पछि यसलाई अर्को विश्वविद्यालयमा पनि सुरु गरियो । यो यस्तो चिज थियो कि जति धेरै मानिसहरू यसमा जोडिन्थे, यो त्यति नै नाफामा जान्थ्यो । अर्को विश्वविद्यालयका छात्र यसमा जोडिए, उनीहरूका आफ्ना साथीभाइ तथा सञ्जाल थिए । त्यसपछि उनीहरूका नातेदार समेत जोडिए र यो सञ्जाल फैलिँदै गयो ।"

सन् २००६ मा फेसबुक एउटा ठूलो सामाजिक सञ्जाल माध्यम बन्यो । जसले अरुलाई टक्कर दिन थाल्यो । त्यस समय माइस्पेस तथा फेन्डस्टर जस्ता अन्य लोकप्रिय तथा ठूला सामाजिक सञ्जाल थिए । जहाँ मानिसहरू आफ्ना परिचितहरूको प्रोफाइल हेर्न सक्थे र उनीहरूका साथीहरूको बारेमा जान्न सक्थे ।

तर तिनीहरू 'स्टेटिक' वेबसाइट थिए, जहाँ कुनै परिवर्तन हुँदैन थ्यो । त्यसैले फेसबुकले त्यसलाई परिवर्तन गर्नका लागि आफ्नो माध्यममा न्युजफिडको फिचर सार्वजनिक गर्‍यो ।

ज्युदित डोनथ भन्छिन्, "फेसबुकले यसको सुरुवात गर्‍यो । अनि मानिसहरू आफ्नो दैनिक गतिविधिको बारेमा अन्य व्यक्तिलाई बताउन सक्ने भए । आफ्नो जिन्दगीमा के चलिरहेको छ, उनीहरू कहाँ गइरहेका छन् र के गरिरहेका छन्, यसबाट उनीहरूको आसपास उनीहरूका साथीहरूको सर्कलमा एक सरगर्मी सुरु भयो ।"

त्यसपछि धेरैजसो मानिसहरू यस्तो गर्ने विषयमा दुई पटक सोच्दैनन् । तर जब यो पहिलो पटक सुरु भयो, तब मानिसहरूका लागि यो निकै नयाँ कुरा थियो । ज्युदित डोनथको बुझाई छ कि मार्क जुकरबर्गले फेसबुकको सुरुवाती डिजाइन बनाउँदाको समयमा यो चाल पाइसकेका थिए कि मानिसहरू अर्काको बारेमा थाहा पाउनका लागि निकै उत्सुक हुन्छन्, यो उनको अवधारणा थियो ।

यसको बारेमा उनी भन्छिन्, "कन्याक्ट कोअप्ट" एउटा अवधारणा हो, जसको अर्थ हुन्छ कि हामी केवल आफ्ना साथीहरूको बारेमा मात्रै नभएर बरु उनीहरूका साथीहरूको बारेमा समेत थाहा पाउन थाल्छन् ।

कयौँ पटक हामी एउटा कुरा जुन कुनै खास व्यक्तिलाई भन्न चाहन्छौँ, त्यो अरुलाई भन्दैनौँ । तर फेसबुकमा भनेको कुरा अब एउटा ठूलो सञ्जालसम्म पुगिरहेको थियो । यसबाट जानकारी दिने तरिकाका साथै आपसी सम्बन्धको समीकरण समेत बदलिन थाल्यो ।

यो सामाजिक सञ्जाल माध्यम निकै तीव्र गतिमा सफल भयो । चार वर्षमा फेसबुकले माइस्पेसलाई पछाडि पार्‍यो । पछि कयौँ अन्य सामाजिक सञ्जाल साइट आए । तर फेसबुक फेरि पनि पहिलो स्थानमै रह्यो ।

जनवरीमा फेसबुकको चौथो त्रैमासिकको नतिजा बाहिर आयो । जसबाट थाहा हुन्छ कि उसका प्रयोगकर्ता तीन करोड ९० लाखले बढेका थिए । अर्थात दुई अर्ब मानिसहरू दैनिक फेसबुक प्रयोग गर्छन् । तर एउटा मुख्य प्रश्न यो छ कि फेसबुकको आम्दानी कसरी हुन्छ ? 

 

क्लिकको बदलामा नगद

फेसबुकको स्वामित्व फेसबुक नामक कम्पनीको हातमा थियो । तर सन् २०२१ मा यो कम्पनीको नाम परिवर्तन गरी मेटा प्लेटफर्म अर्थात मेटा बनाइयो । यसको व्यापारको बारेमा बीबीसीले ब्रिटेनको कार्डिफ युनिभर्सिटीमा मिडिया स्टडी विभागमा वरिष्ठ शोधकर्ता डाक्टर मार्लिन कोमोरोवस्कीसँग कुराकानी गरेको  थियो ।

उनी भन्छिन्, "यसको मुख्य कारोबार विज्ञापन अर्थात एडभर्टाइजिङ हो । यसको ९८ प्रतिशत आम्दानी विज्ञापनबाट हुने गर्छ । सुरुवातदेखि नै यसलाई विज्ञापनको रणनीतिको आधारमा बनाइएको  थियो । हामी जुन समय फेसबुकमा बिताउने गर्छौँ, त्यसैबाट उसको आम्दानी हुने  गर्छ ।"

मानिसहरू फेसबुकमा विज्ञापन दिन्छन् र हेर्छन् । तर मेटाले कयौँ सामाजिक सञ्जाल साइट जस्तै कि ह्वाट्सएप तथा इन्स्टाग्रामलाई खरिद गर्‍यो ।

डाक्टर मार्लिन भन्छिन्, "यी सबै कम्पनीहरू आफ्ना सामाजिक सञ्जाल प्रयोगकर्ताको बारेमा जानकारी संकलन गर्छन् । त्यसका लागि कयौँ वेबसाइटमा रजिस्टर गर्नका लागि तपाईँ आफ्नो फेसबुक अकाउन्ट प्रयोग गर्नुहुन्छ । यो जानकारी विज्ञापनलाई प्रभावकारी बनाउन काम लाग्छ । विज्ञापन दिने कम्पनीहरू आफ्ना उपभोक्ताहरूको आवश्यकताको आधारमा यी वेबसाइटमा विज्ञापन दिन्छन् । र यसका लागि उनीहरू फेसबुकलाई पैसा दिन्छन् ।"

उनी भन्छिन्, "फेसबुकमा कम्पनीहरूको विज्ञापन देखेर मानिसहरू उक्त कम्पनीको वेबसाइटमा जान्छन् र सरसामान खरिद गर्छन् । ती विज्ञापनहरूमाथि जति धेरै मानिसहरूले क्लिक गर्छन्, फेसबुकलाई त्यति नै धेरै पैसा मिल्छ । अर्थात यदि दैनिक थोरै मानिसहरूले फेसबुकमा साइन-इन गरे भने उसको आम्दानी समेत कम हुने गर्छ ।" 

 

उतार चढाव

सन् २०२२ मा लगातार तीन त्रैमासिकसम्म फेसबुकको आम्दानी घट्दै गएको थियो । तर चौथो त्रैमासिकमा यसको आम्दानी ३२ अर्ब डलर भयो, जुन विश्लेषकहरूको अनुमानमा राम्रो थियो । फेसबुकले सन् २०२२ मा कूल ११६ अर्ब डलर आम्दानी गर्‍यो ।

अर्बौँ मानिसहरू फेसबुक प्रयोग गर्छन् । तर १३ देखि १९ साल बीचका उमेरका मानिसहरू यसलाई बेवास्ता गरिरहेका हुन्छन् । जो भविष्यमा उसको आम्दानीका लागि ठूलो खतरा बन्न सक्छ ।

डाक्टर मर्लिन भन्छिन्, "फेसबुक प्रयोग गर्ने सबैभन्दा ठूलो उमेर समूहमा २५ देखि ३४ वर्षको उमेर भएका मानिसहरू छन्, जो यसका सब्सक्राइबरको एच चौथाई हिस्सा हो । तर ठूलो सङ्ख्यामा ६० भन्दा बढी उमेरका मानिसहरू यसको प्रयोग गर्छन् । अन्य सामाजिक सञ्जालको तुलनामा यो उमेर समूहका मानिसहरू फेसबुकमा सबैभन्दा धेरै छन् ।"

तर विज्ञापन दिनेहरूको नजरमा यो राम्रो कुरा हो अथवा नराम्रो कुरा हो ?

डाक्टर मर्लिन सम्झाउँछिन्, "यो त यस कुरामा निर्भर  गर्छ कि विज्ञापनदाता कम्पनीको रुचि कुन उमेर समूहमा छ । तर यदि युवा उपभोक्ता तपाईँसँग जोडिइरहेका छैनन् भने भविष्यमा तपाईँको प्रासंगिकता खतरामा पर्न सक्छ ।"

"अर्को कुरा के छ भने फेसबुक केवल विज्ञापनबाट हुने आम्दानीमा निर्भर छ । जुन कम-ज्यादा हुन सक्छ । तर गुगल फोनका साथै अन्य प्रकारका सुविधाहरू पनि बिक्री गरिरहेको छ । आम्दानीको एक मात्र माध्यममाथि निर्भर हुनु थोरै मुस्किल हो ।"

हालका दिनहरूमा मेटाले आफ्नो कम्पनीको ब्रान्डिङ परिवर्तन गरेको छ । उसले मेटाभर्समा अर्बौं डलर लगानी गरेको छ । मेटाभर्सको मतलव एक यस्तो डिजिटल दुनियाँ हो, जसमा सिक्ने, खेल्ने अथवा जानकारी दिनुका साथै तपाईँ स्वयम्‌लाई डिजिटल रूपमा एक अर्कासँग जोडिनु हुनेछ ।

तर यस्तो हुन अझै धेरै समय लाग्नेछ । डाक्टर मर्लिन भन्छिन्, "सन् २०२३ का लागि मेटाको लक्ष्य कम्पनीलाई किफायती बनाउनु रहेको छ । त्यसैले उसले खर्च घटाइरहेको छ । यही कारण मार्क जुकरबर्गले गत वर्षको अन्त्यमा १३ हजार कर्मचारीलाई कामबाट निकालेका थिए । यो तरिका सही हो वा होइन भन्न मुस्किल छ ।"

कानूनका साथै फेसबुकको अन्य सामाजिक सञ्जाल माध्यमसँगको टकरावको खबर समेत आउने गर्छ । यसको बारेमा बीबीसीले न्युह्याम्पसनर युनिभर्सिटीको कानून विभागकी  सहायक प्रोफेसर टिफनी लीसँग कुरा गरेको छ ।

प्रोफेसर टिफनीको बुझाई छ कि फेसबुक कयौँ पटक अन्तर्राष्ट्रिय स्तरमा समस्याको घेरामा आइसकेको छ ।

उनी भन्छिन्, "मेरो हिसाबमा सबैभन्दा ठूलो मामिला सन् २०१८ मा क्याम्ब्रिज एनालिटिकाको थियो, जसमा कम्पनीले कयौँ थर्ड पार्टी डेभलपर्सलाई फेसबुक प्रयोग गर्नेहरूको निजी जानकारी प्रयोग गर्ने अनुमति दिएको थियो । ताकि अन्य कम्पनीहरू आफ्नो विज्ञापन ती मानिसहरूकहाँ पुर्‍याउन सकून् ।"

"क्याम्ब्रिज एनालिटिका यस्तै एक थर्ड पार्टी डेभलपर थियो र उनीहरूले यो जानकारी मानिसहरूको अनुमति बिना यो जानकारी फेसबुकको नियम विरुद्ध प्रयोग गरेको थियो ।"

यद्यपि क्याम्ब्रिज एनालिटिका एउटा राजनीतिक विज्ञापन कम्पनी थियो । जसका सेवाहरू सन् २०१६ मा डोनल्ड ट्राम्पको चुनाव प्रचारका लागि लिइएको थियो । ट्रम्पले उक्त चुनाव जितेका  थिए ।

पछि सन् २०१८ मा उक्त घोटाला बाहिर आएको थियो । उक्त समय  थाहा भयो कि साढे आठ करोडभन्दा धेरै मतदाताहरूको जानकारी उनीहरुको अनुमति बिना चुनाव प्रचारमा प्रयोग गरिएको थियो । सोही आधारमा डोनल्ड ट्रम्पका समर्थकहरूसम्म प्रचार सम्बन्धी विज्ञापन पुर्‍याइएको थियो ।  

टिफनी ली भन्छिन्, "यसबाट विश्वस्तरमा एक विवाद खडा भएको थियो । कोही पनि चाहँदैन कि आफ्नो जानकारीको प्रयोग आफ्नै विरुद्धमा होस् । खासगरी जब यसको प्रयोग गर्नेहरूको मनसाय नकारात्मक नहोस् ।

यस बाहेक अन्य कयौँ समस्या पनि बाहिर आए । जस्तो कि निजी गोपनीयताको समस्या, गलत जानकारी फैलाउने तथा चुनावको परिणाम प्रभावित गर्ने जस्ता मामिला बाहि आए । साथै फेसबुक तथा यसका अन्य माध्यमहरूमाथि कोरोनासँग सम्बन्धित गडबडी गरेको अफवाह समेत फैलाइए । घृणा फैलाउने बयान आइरहे । इन्टरनेटमाथि मानिसहरूको उत्पीडन गरेका घटना बाहिरिए ।"

सामान्यतया कुनै कम्पनी हुन्थ्यो भने यसमध्ये कुनै एक मुद्दाका कारण समाप्त हुन्थ्यो, तर फेसबुक बन्द भएन । टिफनी ली भन्छिन्, "क्याम्ब्रिज एनालिटिका मामिला पश्चात कयौँ कम्पनीहरूले फेसबुकमा विज्ञापन दिन बन्द गरिदिए ।

केहीले सार्वजनिक रुपमा भने कि उनीहरू यस्ता माध्यमहरूको समर्थन गर्न सक्दैनन् जसमा चुनावलाई गलत तरिकाबाट प्रभावित गर्ने सम्भावना होस् । तर अन्तिम चाबी त प्रयोगकर्ताकै हातमा हुन्छ । यदि प्रयोगकर्ता यो माध्यममा रहन्छन् भने विज्ञापन कम्पनीहरू पनि रहनेछन् ।" 

 

जवाफदेही

तर यदि समस्या आउँछ भने फेसबुक कोप्रति जवाफदेही होला अथवा उमाथि कसले प्रश्न उठाउला ? यो विषयमा टिफनी ली भन्छिन् कि ठूला प्रविधि कम्पनीहरू जवाफदेही छैनन् र यो नै  ठूलो समस्या हो ।

उनी भन्छिन्, "विश्वमा अन्य विभिन्न समस्याहरू छन् । अमेरिकामा यस्ता कम्पनीहरू सञ्चालन सम्बन्धी नियम कानून निकै नरम छन् र यी कम्पनीहरूलाई निकै धेरै स्वतन्त्रता छ । युरोपियन युनियन तथा बेलायतको कानून बढी कडा छ ।"  

 

जरिवाना​

गत वर्ष फेसबुकले कानूनी मामिला मिलाउनका लागि अर्बौँ डलर जरिवाना स्वरूप दिएको थियो । सन् २०२१ डिसेम्बरमा क्याम्ब्रिज एनालिटिका प्रकरणमा बिना कुनै  गल्ती स्वीकार गर्दै ऊ ७० करोड डलरभन्दा बढीको जरिवाना तिर्न तयार भयो ।

डेटा प्राइभेसी उलङ्घनको मामिलामा फेसबुक तथा इन्स्टाग्राममाथि युरोपियन युनियनले जनवरीमा ४० करोड डलरको जरिवाना लगायो ।

टिफनी ली भन्छिन्, "फेसबुक नियम सम्बन्धी कयौँ मुस्किलहरूको सामना गरिरहेको छ । अमेरिकाको सर्वोच्च अदालतमा दुई ओटा मुद्दा आउँदैछन् जसको सम्बन्ध इन्टरनेट एल्गोरिदम सम्बन्धी छन् ।

जसले प्रयोगकर्तालाई सामग्री सुझाउँछ । यसमा यस्ता सामग्री समेत हुनसक्छन्, जसको सम्बन्ध आतंकवादसँग होस् र कानूनको दायरामा आउनु परोस् । फेसबुक तथा अन्य कयौँ इन्टरनेट कम्पनीहरूलाई यस्ता अप्ठ्याराको सामना गर्नुपर्नेछ ।"

तर सँगसँगै उनी याद दिलाउँछिन् कि नियन्त्रण सम्बन्धी यी नियमहरूको असर विकिपिडिया जस्ता कयौँ साना कम्पनीहरूमाथि समेत पर्न सक्छ । जो मुनाफाका लागि काम गर्दैनन् ।

 

मुभ फास्ट एन्ड ब्रेक थिङ्स​

सुरुवाती दिनहरूमा चलन थियो कि ठूला कम्पनीहरूको आफ्नै नारा हुने गर्थ्यो । गुगलको स्लोगन थियो, "डन्ट बि इभिल" अर्थात नराम्रो कुराबाट जोगिनुहोस् ।

ठीक त्यसैगरी फेसबुकको नारा थियो "मुभ फास्ट एन्ड ब्रेक थिङ्स" अर्थात तीव्र गतिमा अघि बढ्नुहोस् र अपरम्परा तोड्नुहोस् । टिफनी ली भन्छिन्, "यो सिलिकन भ्यालीको मन्त्र हो । अब उनीहरूको बुझाईमा आइरहेको छ कि यो तरिका कामयाबी हुने छैन ।

जब उनीहरूको कम्पनी खुट्टा गाडिरहेको थियो, उनीहरू निकै धेरै थरी कुरा गर्थे । तर अब उनीहरू त्यो गर्न सक्दैनन् । अब उनीहरूलाई कानून पालना गर्नुपर्ने हुन्छ र साथै प्रयोगकर्ताको समर्थन समेत कायम राख्नुपर्ने हुन्छ ।"

 

नयाँ युग नयाँ चुनौती

गएका केही वर्षहरूमा बजारमा कयौँ नयाँ सामाजिक सञ्जाल कम्पनीहरू आइसकेका छन् । जो फेसबुकका लागि नयाँ चुनौति पेश गरिरहेका छन् । तर के फेसबुक यी कम्पनीहरूभन्दा पछाडि पर्न सक्छ ?

यसको बारेमा बीबीसीले कार्ल मिलरसँग कुरा गरेको छ, जो डेभासमा सेन्टर फर एनालिसिस अफ सोसल मिडियाका शोध निर्देशक छन् । उनी मान्छन् कि सामाजिक सञ्जालको दुनियामा फेसबुकलाई अन्य माध्यमहरूबाट कडा चुनौति आइलाग्नु कुनै अनौठो कुरा होइन ।

उदाहरणको रुपमा भिडिओ शेयरिङ एप टिकटकलाई लिन सकिन्छ । उनी भन्छन्, गत वर्ष यो एप सबैभन्दा धेरै पटक अर्थात करिब ७० करोड पटक डाउनलोड भयो । यसले युवाहरूमाझ निकै लोकप्रिय छ ।

यद्यपि टिकटकको समस्या यो छ कि यसको स्वामित्व एक चिनियाँ कम्पनीसँग छ र कयौँ देशहरूले डेटा प्राइभेसीको विषयलाई लिएर यसप्रति चिन्ता व्यक्त गरिरहेका छन् ।

भारतले त्यसमाथि प्रतिबन्ध लगाएको छ । साथै अमेरिकामा केन्द्र सरकारसँग जोडिएका कम्प्युटर तथा मोबाइल फोन तथा युनिभर्सिटी क्याम्पसमा त्यसमाथि प्रतिबन्धको अवस्था छ । कयौँ सांसदले यसमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन् ।

कार्ल मिलर भन्छन्, "हालैका दिनहरूमा प्रविधि कम्पनीहरूका लागि अमेरिका, बेलायत र युरोपियन युनियनमा कयौँ नियम तथा दिशानिर्देश या त आइसकेका छन् वा ल्याउन लागिएको छ । यी प्रविधि कम्पनीहरूलाई अब यी कानूनको दायरमा रहेर काम गर्नुपर्नेछ । हामी एक नयाँ युगमा प्रवेश गरिरहेका छौँ र नियमहरूको उलङ्घन  गर्ने कम्पनीमाथि न केवल जरिवाना लाग्नेछ, साथै आपराधिक मामिला समेत बन्न सक्नेछ ।"

कुनै पनि सामाजिक सञ्जाल वेबसाइटसँग अधिकार हुन्छ कि उनीहरू कसलाई आफ्नो माध्यममा रहन दिने अथवा कसलाई निकाल्ने । तर यसमा गलत फैसला लिने जोखिम छ । त्यस्तै कुनै फैसला नगर्नु पनि खतरनाक हुन सक्छ ।

मेटाभर्सका सीईओ मार्क जुकरबर्ग कयौँ सालदेखि सरकारसँग इन्टरनेट गतिविधिलाई नियन्त्रित गर्न अपील गरिरहेका छन् । खासगरी प्राइभेसी, हानिकारक सामग्री तथा निष्पक्ष चुनावको सम्बन्धमा ।

कार्ल मिलर भन्छन्, "जसैजसै कम्पनीहरू ठूला हुँदै गए, उनीहरूलाई यो तय गर्ने जरुरत महसुस भयो कि के सही वा गलत हो । घृणा फैलाउने किसिमका बयान के हुन्, त्यसका केके स्वरूप छन् ? आतंकवादी संगठन के हुन् ? पहिला यो फैसला सरकारी तन्त्र गर्थे । अब यस्ता विषयहरूमाथि नियन्त्रण गर्नका लागि कानून ल्याइँदै छन्, जो कम्पनीका साथै आम मानिसहरूको सुरक्षाका लागि समेत आवश्यक छ ।"

तर साथै कार्ल मिलर यो समेत भन्छन् कि अमेरिकामा हुने आगामी राष्ट्रपति चुनाव फेसबुकका लागि परीक्षाको घडी सावित हुन सक्छ । चुनाव प्रचारमा एक अर्कामाथि आरोप लगाइनेछन् र सही वा गलत तरिकाबाट मतदातालाई प्रभावित गर्ने कोसिस हुनेछन् ।

यो चुनौतीको सामना गर्नका लागि फेसबुकको तयारीमाथि कार्ल मिलर भन्छन्, "फेसबुक सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावको तुलनामा यस पटक समस्यालाई अत्यधिक गम्भिरताका साथ लिइरहेको छ । तर यसका लागि उसको टिम पूर्ण रूपमा काम गरिरहेको छ वा छैन यो भन्न गाह्रो छ । तर यसअघि भन्दा धेरै गम्भिरताका साथ ऊ आफ्नो माध्यममाथि हुने गतिविधिको निगरानी गर्न थालेको छ ।"

कार्ल मिलर भन्छन् कि फेसबुक आफ्नो माध्यममा गलत जानकारी प्रचार प्रसारमाथि रोक लगाउनका लागि कयौँ कदम उठाउन सक्छ । यसमा मानिसहरूलाई सीमित सङ्ख्यामा पोस्ट गर्न दिनु तथा प्रयोग गर्नेहरूकोबारेमा सही जानकारी प्राप्त गर्ने र त्यसलाई प्रमाणीकरण गर्ने जस्ता काम हुन सक्छन् । 

 

के फेसबुकमा सबै ठीकठाक चल्दैछ ? 

सामाजिक सञ्जालमा तीन वर्ष पनि निकै लामो समय हुने गर्छ । यस्तोमा १९ वर्षसम्म अन्यभन्दा अगाडि रहिरहनु एक ठूलो उपलब्धि हो । यो यसरी हाम्रो दैनिक जीवनको एक हिस्सा बनिसकेको छ कि निकट भविष्यमा हामी यसलाई छोड्ने कल्पनासम्म गर्न सक्दैनौँ ।

तर फेसबुकको सामुन्ने मुस्किलहरू निश्चय पनि छन् । मानवीय स्वभाव र व्यवहारको अन्दाज गर्नु मुस्किल छ, तर फेसबुकको भविष्य त्यसैमाथि निर्भर छ ।

कार्ल मिलर भन्छन्, "मानिसहरू असमन्जसले भरिपूर्ण हुन्छन् । उनीहरू गलत मनसायबाट प्रेरित समेत हुने गर्छन् । यस्तोमा उनीहरूको व्यवहारको अन्दाज लगाउनु मुस्किल हुने गर्छ । दुनियाँमा विचारहरूको ध्रुविकरण तथा आक्रोश देखिन्छ र फेसबुकमाथि यस्तै किसिमले उल्झन स्पष्ट देखिँदैन ।"

पछिल्लो अध्यावधिक: फागुन २१, २०७९ २१:४५