close

जुम मिटिङ भइरहँदा पोर्न सामग्री देखिएपछि...

टेकपाना टेकपाना

फागुन २३, २०७९ १५:३६

जुम मिटिङ भइरहँदा पोर्न सामग्री देखिएपछि...

काठमाडौं । जुम भिडियो कन्फ्रेन्स चलिरहँदा एक्कासी अश्लील सामग्री देखिन थालेपछि कार्यक्रम नै बन्द भएको छ । अमेरिकास्थित केन्द्रीय बैंक फेडेरल रिजर्भको जुम कन्फ्रेन्समा एक सहभागीको आईडीबाट 'पाेर्न बम्बिङ' प्रदर्शन भएपछि कार्यक्रम नै रद्द गरिएको हो ।

गत बिहीबार फेडेरल रिजर्भ बोर्डका गभर्नर क्रिस्टोफर वालरसँगको जुम भिडिओ कन्फ्रेन्समा सहभागी एक व्यक्तिको अकाउन्ट ह्याक गरी स्क्रिनमा अश्लील फोटोहरू देखाइएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेअनुसार जुम मिटिङ भइरहेको बेला अश्लील फोटो देखिन थालेपछि आयोजक 'मिड-साइज बैंक कोलिसन अफ अमेरिका' (एमबीसीए)ले कार्यक्रम रद्द गर्‍याे ।

साे जुम मिटिङमा २०० बढी मानिस सहभागी थिए । कार्यक्रम सुरु भएको केही मिनेटपछि 'डान' नाम भएका सहभागीको डिस्प्लेबाट एकाएक अश्लील फाेटाे देखिएको रोयटर्सले उल्लेख गरेकाे छ ।

"हामी टेलिकन्फ्रेन्स हाइज्याककाे शिकार भयौं । यो फेरि नदोहोरियोस् भन्नका लागि यस घटनालाई विस्तृतमा बुझ्ने प्रयास गरेका छौँ," एमबीसीएका कार्यकारी निर्देशक ब्रेन्ट टिजार्क्सले रोयटर्सलाई भने ।

उनले यस्तो किसिमको घटना संस्थाकाे इतिहासमा पहिलो पटक भएको उल्लेख गरेका छन् । सहभागीलाई म्युट गर्न चुकेपछि यस्तो समस्या निम्तिएको उनको अनुमान छ ।

साइबर सुरक्षा जानकारलेभर्चुअल रूपमा कार्यक्रम गर्दा सतर्कता अपनाउन जाेड दिने गरेका छन् । पासवर्ड वा लिङ्कबाट जोकोही जोडिनसक्ने भएकाले सुरक्षा जाेखिम हुनसक्छ । यसर्थ यस्ता घटना हुनबाट बच्न हरेक सहभागीलाई निगरानी गर्न उनीहरू सुझाव दिन्छन् ।

पछिल्लो अध्यावधिक: फागुन २३, २०७९ १५:५६