close

महिला लक्षित नेपाली ई-कमर्स: तविसी

टेकपाना टेकपाना

फागुन २४, २०७९ १५:३५

महिला लक्षित नेपाली ई-कमर्स: तविसी

काठमाडौं । व्यवसाय सुरु गर्ने उत्तम समय कहिले होला ? यो व्यक्तिपिच्छे फरक-फरक हुन सक्छ । कतिपय व्यक्ति यस्ता पनि हुन्छन्, जसले आफ्नो व्यवसायबाट अरुलाई पनि प्रेरणा मिलोस् भन्ने चाहन्छन् । व्यवसायले तपाईँको उमेर, जात, लिङ्ग, धर्म या कुनै पनि वर्ग हेर्दैन । यदि तपाईँसँग योजना र कार्यविधि छन् भने आफ्नो व्यवसाय सोही दिनबाट सुरु गर्न सक्नुहुन्छ ।

यसरी नै सुरु भएको एउटा ई-कमर्स हो 'तविसी नेपाल डटकम', जसलाई दुई महिलाले नेतृत्व गरेका छन् ।

नेपालमा यति धेरै ई-कमर्स प्लेटफर्महरू छन्, फेरि किन चाहियो अर्को ?

मानिसका आवश्यकताहरू कहिले पनि पूरा हुँदैनन् । जीवन जति सहज हुँदै जान्छ, यसलाई थप सहज बनाउन मानिस लालायित हुन्छन् । मानिसको यही आवश्यकता पूरा गर्न, अझ भनौं महिलाको दैनिकीलाई सहज बनाउन पलस जोशीसहारा जोशीको सहकार्यमा जन्मिएको हो 'तविसी' ।

यहाँ ५० भन्दा बढी ब्रान्डका सामग्रीहरू खरिद गर्न सकिन्छ । सुरुवात गरेको छोटो समयमै धेरै भेन्डरहरू जोड्न आफूहरू सफल भएकाे तविसीकी एक सहसंस्थापकपलस बताउँछिन् । यहाँ एक महिलालाई आवश्यक आफ्नो व्यक्तिगत सामग्रीदेखि लिएर घरायसीसम्मका विभिन्न सामग्री खरिद गर्न सकिन्छ । 

कसरी जन्मियो तविसी ? 

नेपालमा अनलाइन शपिङको अभ्यास विस्तारै बढ्दै थियो, जसलाई कोरोना महामारीले ह्वात्तै बढाइदियो । साना देखि ठूला ठूला अनलाइन प्लेटफर्महरू बन्न थाले । केही ई-कमर्सको रुपमा आए भने केही फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूबाट अगाडि आए ।

"धेरै अनलाइन प्लेटफर्म अनि एउटै सामानको फरक-फरक प्लेटफर्ममा फरक-फरक मूल्य हुँदा कुन सामान राम्रो, कुन नराम्रो भन्ने थाहा पाउन दुविधा हुन्थ्यो," कम्पनीकी कार्यकारी अध्यक्षसमेत रहेकी पलसले भनिन् ।

विशेषगरी महिलालाई फरक-फरक सामान खरिद गर्न फरक-फरक वेबसाइटमा जानुपर्ने झन्झटलाई सम्बोधन गर्न तविसी सुरु गरेको उनकाे भनाइ छ ।

कोरोना महामारीको समयमा पलस र कम्पनीका अर्की सह-संस्थापक तथा निर्देशक सहारा जोशी दुवैले 'जोन्ता क्लब अफ काठमाडौं'बाट भोलेन्टियरिङ गरिरहेका थिए । यहीँ यी दुईको भेट भयाे ।

सँगसँगै भोलेन्टियरिङ गर्ने क्रममा दुई जनाको विचार र चाहना मिल्न जाँदा ई-कमर्स सुरु गर्ने अवधारणा आएको पलसले सुनाइन् ।

"हामी दुवैजना विदेशबाट पढेर आएको र हामी दुवैलाई आफ्नै केही व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोच थियो । यसैबीच हाम्रो भेट भएपछि महिलालाई नै लक्षित गरेर एउटा स्पेसिफिक ई-कमर्स सुरु गर्ने योजना बनाएर अगाडि बढ्याैं," उनले थपिन् ।

अमेरिकाबाट पढेर आएकी पलस र अष्ट्रेलियामा पढेर नेपालमा आफ्नो पारिवारिक व्यवसाय सम्हालेर बसेकी सहाराले महिला सशक्तिकरणलाई प्राथमिकता दिँदै तविसी सुरुवात गरे । 

कसरी जुर्‍यो तविसीको नाम ?

कम्पनीका दुवै सह-संस्थापक नेवार परिवारबाट भएका कारण कम्पनीलाई कुनै नेवारी नाम दिने दुवैको सोच थियो । तर एउटा नारीलाई प्रतिनिधित्व गर्नेगरी शब्द खोज्ने क्रममा संस्कृत शब्द 'तविसी' भेटिएपछि कम्पनीको नाम निश्चित भयो ।

तविसीको वास्तविक अर्थ 'शक्ति' वा 'हिम्मत' भन्ने हुन्छ । 

तविसीमा के के छ ?

तविसीको वेबसाइट दुई भागमा बाँडिएको  छ: पहिलो ट्याब द शप (Tav the Shop) र अर्को ट्याब द स्टोरी (Tav the Story) ।

ट्याब द शप ई-कमर्स हो भने ट्याब द स्टोरी डिजिटल म्यागजिन हाे । कम्पनीको वेबसाइट खोलेपछि स्क्रिनको दायाँतिर सबैभन्दा माथि 'ट्याब द स्टोरी' भन्ने सेक्सन देख्न सकिन्छ, जहाँ महिला सशक्तिकरणसँग जोडिएका लेख पढ्न सकिन्छ ।

कम्पनीले यो दुईओटा पाटोलाई सँगसँगै लाने सोचेको छ । यद्यपि हालका लागि ई-कमर्समा बढी काम भइरहेको पलसले बताइन् ।

तविसीमा विभिन्न ब्रान्डका श्रङ्गार, गरगहना, आमा र बच्चाका लागि आवश्यक सामग्री, स्वास्थ्यका लागि आवश्यक सामग्री, घरका लागि आवश्यक वस्तुहरू, उपहारहरू लगायतका सामग्री पाउन सकिन्छ । यसको मुख्य विशेषता त यहाँ विदेशी ब्रान्डका सामग्रीमात्र नभई नेपालकै स्थानीय सामग्रीहरू पनि पाउन सकिन्छ । 

यो प्लेटफर्मको अर्को मौलिक पक्ष भनेको यसको प्याकेजिङ हो । कम्पनीले 'सस्टेनेबल प्याकेजिङ'लाई अङ्गीकार गर्दै जुटको झोलामा सामान डेलिभरी गर्ने गर्दछ । सर्कुलर इकोनोमी मोडलमा आधारित भएर कम्पनीले जुटको झोलामा सामान प्याक गरेर डेलिभरी गर्ने गर्छ, जसलाई ग्राहकले सामान लिइसकेपछि कम्पनीलाई नै फिर्ता गर्न सक्छन् । 

अथवा यदि ग्राहकले उक्त जुटको झोला आफैंसँग राख्ने हो भने २६० रुपैयाँ तिर्नुपर्ने हुन्छ । एउटा व्यवसायले अर्थतन्त्रमा मात्र नभई वातावरणमा पनि योगदान दिनुपर्छ भन्ने अवधारणासहित फोहोरमैला व्यवस्थापन गर्न जुटको झोला प्रयोग गरिएको पलस सुनाउँछिन् ।

"हामी आफैंमा एउटा स्टार्टअप कम्पनी भएपनि सबैलाई सँगै लिएर अगाडि बढ्नुपर्छ भन्ने धारणा छ । हामीले प्रत्येक डेलिभरी प्याकेजमा एउटा कार्ड राख्छौँ, जसलाई विभिन्न संघ-सस्थाका विद्यार्थीहरूले हातबाट नै बनाएका हुन्छन्," पलस भन्छिन्, "ती संस्थाहरू महिला सशक्तिकरणसँग जोडिएका छन् । र हामी प्रत्येक कार्डमा महिला सशक्तिकरणको सन्देश पठाउने गर्छौँ । यसले जनचेतनामा साथ दिन्छ भन्ने हाम्रो विश्वास छ ।"

बजारमा तविसी 

कुनैपनि कम्पनी सुरु गर्न योजना मात्र भएर पुग्दैन । बजारको सिद्धान्त अनुरूप चल्न सक्नुपर्छ ।

अन्य ई-कमर्स प्लेटफर्मभन्दा फरक बनाउने सोचसँगै अगाडि बढेको तविसीलाई सुरुवाती दिनमा धेरै कठिनाइ भने भएन । बजारमा भिजिसकेका दुवै सहसंस्थापकहरूले कम्पनीको योजना राम्रैसँग बनाएका थिए ।

आफ्नै कमाइको बचतबाट कम्पनीका लागि लगानी पनि जुट्यो, तर एउटा ई-कमर्स दुई जनाले मात्र चलाउन कठिन छ । "कम्पनी सुरु गरिसकेपछि हामीले भोगेको एउटा चुनौती जनशक्तिको हो," निर्देशक साहाराले बताइन्, "नेपालको श्रमबजार अस्थिर छ । एक ठाउँमा लामो समय काम नगरी अर्को ठाउँमा जाने श्रमिकको संख्या छ । साथै दक्ष जनशक्तिको पनि कमि छ । हामीले खोजेको जस्तो जनशक्ति नपाउँदा हामीलाई टिम सेटअप गर्न नै तीन-चार महिना लाग्यो ।"

हाल कम्पनीमा छ जनाले राेजगारी पाइरहेका छन् । 

सुरुवाती चरणमै रहेको हुँदा तविसीले अहिले विभिन्न डिजिटल प्लेटफर्मका साथै भौतिक रुपमा विभिन्न कार्यक्रममा सहभागी भएर पनि कम्पनीको प्रचार गरिरहेको पलस सुनाउँछिन् ।

पछिल्लो अध्यावधिक: फागुन २४, २०७९ १६:३९