close

टिकटक प्रयोगकर्ताले अब भिडिओबाटै पैसा कमाउन सक्ने

टेकपाना टेकपाना

फागुन २४, २०७९ १६:३२

टिकटक प्रयोगकर्ताले अब भिडिओबाटै पैसा कमाउन सक्ने

काठमाडौं । टिकटकले क्रियटरका लागि पेड-सब्सक्रिप्सन अर्थात् आफ्नो भिडिओ हेर्न चाहने व्यक्तिहरूबाट पैसा लिन सकिने फिचर सार्वजनिक गरेको छ । छोटो भिडिओ शेयरिङका लागि लोकप्रिय रहेको टिकटकले मंगलबार सो फिचर सार्वजनिक गरेको हो ।

यस फिचरमार्फत क्रियटरले २० मिनेट लामो भिडिओ अपलोड गर्न सक्नेछन् । यसरी एउटा कलेक्सन (एल्बम) मा ८० ओटासम्म भिडिओ राख्न सकिने कम्पनीले उल्लेख गरेको छ । यस्ता कलेक्सन हेर्न प्रयोगकर्ताबाट क्रियटरले एकदेखि १९० अमेरिकी डलर (२४ हजार ८०० रुपैयाँ) लिन सक्नेछन् ।

यसरी क्रियटरले तोकेको शुल्क तिरेर क्रियटरको कलेक्सनमा एक्सेस पाउन सकिन्छ । सुरुवाती चरणमा कम्पनीले क्रियटरबाट कुनै कमिसन लिनेछैन । यसको अर्थ कम्पनी इनएप पर्चेज फिचरमा जाँदा एप स्टोरलाई तिर्नुपर्ने ३० प्रतिशत शुल्क पनि कम्पनीले नै व्यहोर्नेछ ।

क्रियटरको प्रोफाइल पेज वा भिडिओको लिङ्क प्रयोग गरी यस्ता भिडिओमा एक्सेस पाउन सकिनेछ । टिकटकले क्रियटरको आम्दानी बढाउनका लागि कम्पनीले यस्तो रणनीति अघि सारेको हो ।

क्रियटरलाई मनिटाइजेसनमा सघाउ पुर्‍याउने टिकटकको यो पछिल्लो कदम हो । योग्य क्रियटरले कम्पनीबाट नोटिफिकेसन पाउने विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । टिकटकले नयाँ र अत्यधिक सफल व्यावसायिक मोडेलमा क्रियटरलाई कसरी जोड्नेछ भन्ने विषयमा आम प्रयोगकर्ता भने अन्योलमै छन् ।

टिकटकको उत्कृष्ट एल्गोरिदमका रूपमा यसको ‘फर यु’ पेजलाई लिइन्छ, जसमा क्रियटरका कन्टेन्ट स्वतः उनीहरूका दर्शकसामु पुग्दछन् । यस्तोमा क्रियटरले आफ्ना राम्रा कन्टेन्टहरू सब्स्क्रिप्सनका लागि साँचेर राख्नु भने उचित नहुन पनि सक्छ ।

किनकि सब्स्क्रिप्सनको सदस्य नबनेका क्रियटरका लागि एल्गोरिदमले काम गर्ने छैन । पछिल्लो समय डिजिटल प्लेर्टफर्महरूले क्रियटरलाई कन्टेन्ट मनिटाइज गर्न मद्दत गरिरहेका छन् ।

यस्तोमा कस्ता क्रियटरले सब्सक्रिप्सनको सदस्यता पाउँछन् र आफ्नो कामलाई प्रवर्द्धन गर्न सक्छन् भन्ने विषयमा प्रयोगकर्ताले पनि अनुमान लगाउनु पर्ने अवस्था छ । यसअघि इन्स्टाग्रामले पनि क्रियटर र इन्फ्लुयन्सरका लागि सब्सक्रिप्सनको घोषणा गरेको थियो । जसमा सब्स्क्रिप्सन सदस्यता लिनका लागि क्रियटरले निश्चित मासिक शुल्क तिर्नुपर्ने हुन्छ ।

स्टोरी तथा लाइभ भिडिओ लगायतका कन्टेन्टका आधारमा प्रतिमहिना ०.९९ अमेरिकी डलर देखि ९९.९९ डलरसम्म भुक्तानी गर्ने व्यवस्था मिलाउन लागिएको छ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले क्रियटरको सदस्यतामा तत्काल राजस्व कटौती गर्ने  योजना नरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ १३:१६