close

फोन बारम्बार रिस्टार्ट हुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

फागुन २५, २०७९ १३:५३

फोन बारम्बार रिस्टार्ट हुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । फोन बारम्बार रिस्टार्ट हुने समस्या तपाईँको मात्र होइन । अधिकांश एन्ड्रोइड प्रयोगकर्ताको डिभाइसमा यस्तो समस्या आइरहेको हुन्छ ।

यदि फोन पनि बारम्बार रिस्टार्ट भइरहन्छ भने आज हामी कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ:

अपरेटिङ सिस्टम अपडेट गर्नुहोस्

तपाईँको डिभाइसमा विभिन्न समस्या आइरहेका हुन्छन् । विशेषगरी फोनमा भएका विभिन्न कमजोरी (बग) ले गर्दा डिभाइस बारम्बार रिस्टार्ट भइरहेको हुनसक्छ । त्यसैले फोनलाई अपडेट गरिरहनु पर्छ ।

तपाईँको डिभाइसमा कति ओटा ओएस वा सफ्टवेयर अपडेट आउँछ भन्ने कुरा फोन निर्माता कम्पनीमा निर्भर हुन्छ । यदि डिभाइस बारम्बार रिस्टार्ट भइरहन्छ भने नयाँ सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ ।

त्यसका लागि फोनको सेटिङमा जानुहोस् । त्यसपछि सफ्टवेयर अपडेटको अप्सनमा जानुहोस् । अनि डाउनलोड एन्ड इन्स्टल (Download and Install) को अप्सनमा ट्याप गर्नुहोस् । यदि अपडेट उपलब्ध छ भने तपाईँको डिभाइसमा नयाँ अपडेट इन्स्टल हुन थाल्छ ।

एप अपडेट गर्नुहोस्

तपाईँको डिभाइस सफ्टवेयर अपडेटको समस्या समाधान भएपनि एप अपडेट नहुँदा पनि फोन बारम्बार रिस्टार्ट भइरहेको हुनसक्छ । तपाईँले डिभाइसको सफ्टवेयर अपडेट गरेसँगै एप पनि अपडेट गर्नुपर्ने हुन्छ ।

यसो त एप अपडेट हुने कुरा सो एपको डेभलपरमा निर्भर हुन्छ । यदि तपाईँ कुनै एप धेरै प्रयोग गर्नुहुन्छ भने त्यस्ता एपलाई अपडेट गर्नुहोस् । एपले डिभाइसको नयाँ अपडेट अनुसार चल्न सकेन भने डिभाइस बारम्बार रिस्टार्ट हुने समस्या निम्तिन्छ । त्यसैले एप अपडेट गर्नुहोस् । एप अपडेट गर्नका लागि डिभाइसमा भएको प्ले स्टोरमा जानुहोस् ।

-   अनि माथि दायाँपट्टि भएको प्रोफाइल पिक्चरमा ट्याप गर्नुहोस् ।

-   त्यसपछि मेनेज एप्स एण्ड डिभाइसको अप्सनमा ट्याप गर्नुहोस् । र, अपडेट उपलब्ध भएका एपलाई अपडेट गर्नुहोस् ।

 

स्टोरेज क्लियर गर्नुहोस्

हाम्रो डिभाइसमा सीमित स्टोरेज क्षमता हुन्छ । यदि तपाईँको डिभाइमा १० प्रतिशतभन्दा कम स्टोरेज बाँकी छ भने फोन बारम्बार रिस्टार्ट भइरहने समस्या आउँछ ।

यस्तो अवस्थामा डिभाइसमा भएका अनावश्यक फाइल, भिडिओ वा एप हटाउनुहोस् । साथै तपाईँको डिभाइसमा भएको 'स्टोरेज फ्रि एप' अप्सन प्रयोग गरेर पनि अनावश्यक स्टोरेज खपत हटाउन सक्नुहुन्छ ।

फोन बढी तात्ने समस्या

तपाईँको फोन बढी तात्ने गर्छ भने पनि बारम्बार रिस्टार्ट हुने समस्या आएको हुनसक्छ । फोन चार्जमा राखेर प्रयोग गर्दा, हेभी टास्क (अनलाइन भिडिओ गेम) गर्दा, वा ब्याट्रीमा समस्या आउनाले पनि बारम्बार रिस्टार्ट भइराख्ने समस्या निम्तिन सक्छ ।

त्यसैले तपाईँको फोन किन तातिरहेको छ भन्ने कारण पहिचान गर्नुहोस् र त्यसलाई समाधान गर्नुहोस् ।

फोनको फ्याक्ट्री रिसेट गर्नुहोस्

माथिका सबै उपाय अपनाउँदा पनि फोन बारम्बार रिस्टार्ट भइरहन्छ भने अब फोनको फ्याक्ट्री रिसेट गर्नुहोस् । यसरी फोनको फ्याक्ट्री रिसेट गर्दा त्यसमा भएका सबै कुरा रिसेट भएर पहिलेकै अवस्थामा पुग्छ । तर, फोनको फ्याक्ट्री रिसेट गर्दा सबैभन्दा पहिले आफ्नो फोनमा भएका डेटा ब्याकअपमा राख्नुहोस् ।

विशेषगरी इन्टर्नल स्टोरेजमा भएका फाइलहरू हराउने सम्भावना धेरै हुन्छ । यस्तोमा पहिले डेटा तथा फाइलको ब्याकअप राखेर फोन रिस्टार्ट गर्नुहोस् । यसरी डिभाइको फ्याक्ट्री रिसेट गर्दा फोनमा भएका भाइरस वा मालवेयर डिलिट हुने सम्भावना धेरै हुन्छ ।

फोनको फ्याक्ट्री रिसेट गर्न सबैभन्दा पहिले फोनको सेटिङमा जानुहोस् । त्यसपछि सिस्ट (System) को अप्सनमा जानुहोस् । अनि रिसेट अप्सन (Reset Option) मा जानुहोस् । र, इरेज अल डेटा (Erase all data) वा फ्याक्ट्री रिसेट (Factory Reset) को अप्सन छान्नुहोस् ।
 

 

 यदि तपाईँको डिभाइसको सेटिङ अप्सनमा सर्चबार छ भने सोझै फ्याट्री रिसेट (Factory Reset) सर्च गरेर त्यही अनुसार फोन रिसेट गर्न सक्नुहुन्छ ।

यदि यी सबै विधि अपनाउँदा पनि तपाईँको डिभाइस बारम्बार रिस्टार्ट हुने समस्या समाधान भएन भने ब्याट्री फेर्नुपर्ने वा अन्य हार्डवेयर पार्ट फेर्नुपर्ने हुनसक्छ । त्यसका लागि फोन मर्मत गर्ने पसल वा सो डिभाइसको सर्भिस सेन्टरमा जानुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०७९ १४:११