काठमाडौं । विन्डोजकाे नयाँ अपरेटिङ सिस्टमबारे विभिन्न खबर बाहिर आउन थालेका छन् । सन् २०२४ सार्वजनिक हुने अनुमान गरिएकाे याे अपरेटिङ सिस्टमकाे बेटा भर्सन आउँदो मार्च महिनामा उपलब्ध हुने चर्चा छ ।
आज हामी विन्डोज १२ कहिले सार्वजनिक हुन्छ, कस्तो डिभाइसमा सपोर्ट हुन्छ, के कस्ता नयाँ फिचर हुन्छन् लगायतका विषयमा जानकारी दिँदैछौँ:
रिलिज डेट
विन्डोज १२ सन् २०२४ मा सार्वजनिक हुने अनुमान छ । कम्पनीले हरेक तीन वर्षमा आफ्नो नयाँ अपरेटिङ सिस्टम ल्याइरहेको हुन्छ । यसलाई आधार मान्ने हो भने विन्डोज १२ सन् २०२४ मा सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ ।
यसो त सन् २०२१ मा सार्वजनिक भएको विन्डोज ११ ले प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया पाउन सकेको छैन । त्यसैले पनि नयाँ ओएस चाँडै सार्वजनिक हुनुपर्ने धेरै प्रयाेगकर्ताकाे माग छ ।
कम्पनीले चाँडै नै (सम्भवतः मार्च महिनाभित्र) विन्डोज १२ को बेटा भर्सन सार्वजनिक गर्न सक्नेछ ।
नयाँ फिचर
नयाँ डेस्कटप युजर इन्टरफेस
विन्डोज १२ सँगै प्रयोगकर्ताले माइक्रोसफ्टको नयाँ युजर इन्टरफेस अनुभव गर्न पाउनेछन् । यो त्यस्तो यूआई हुनेछ, जुन अहिलेसम्म कतै प्रयोगमा आएको छैन ।
नयाँ युजर इन्टरफेसमा म्याक ओएस जस्तै फ्लोटिङ टास्कबार हुने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
एआई इन्टिग्रेसन
पछिल्लो समय माइक्रोसफ्टले आफ्ना हरेक सेवामा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स फिचर समावेश गरिरहेको छ । भाइरल च्याटजीपीटीको चर्चासँगै कम्पनीले आफ्नो सर्च इन्जिन बिङमा पनि एआई समावेश गरेको छ ।
यससँगै टिम्सको प्रिमियम भर्सनका प्रयोगकर्ताले पनि एआईको फाइदा उठाइरहेका छन् ।
नयाँ अपरेटिङ सिस्टममा कम्पनीले एआईलाई परिमार्जन गर्ने अपेक्षा गर्न सकिन्छ । विशेषगरी नयाँ ओएसमा 'ड्यालई टु' र 'जीपीटी थ्री' जस्ता एआईमा सहजै एक्सेस पाउन सकिनेछ ।
परिमार्जित विन्डोज एक्सप्लोरर र नोटप्याड
फाइल एक्सप्लोररको ट्याब यसअघिकै अपडेटमा उपलब्ध हुनेछ । अब नयाँ अपडेटले ट्याबमा नोटप्याड पनि समावेश गर्ने अपेक्षा गरिएको छ ।
यसका माध्यमबाट एकैपटक धेरै नोटप्याड विन्डोज खोल्न सकिनेछ । जसले गर्दा एकैपटक विभिन्न नोटप्याडबाट टेक्स्ट एडिट गर्न सकिन्छ ।
अन्य फिचरहरू
कम्पनीले नयाँ अपडेटसँगै विन्डोज ११ का कमी-कमजोरी सुधार्दै लग्ने अपेक्षा गरिएको छ । नयाँ विन्डोजले टच-स्क्रिन डिभाइस सपोर्ट गर्ने विश्वास छ ।
त्यसबाहेक पनि विन्डोज १२ मा सेटिङ ट्याबसहितको कन्ट्रोल प्यानल हुनेछ । त्यस्तै केही विज्ञहरूले विन्डोज १२ ले अमेजन एप प्रयोग गरेर एन्ड्रोइड इन्स्टल गर्दा आउने समस्यालाई समाधान गर्ने अपेक्षा लिइएकाे छ ।
विन्डोज १२ का लागि के के आवश्यक पर्छ ?
सन् २०२१ मा विन्डोज ११ सार्वजनिक हुँदा डिभाइसको सिस्टममा हुनुपर्ने न्यूनतम आवश्यकता भनिएको थियो । विन्डोज १२ मा पनि यी आवश्यकता लागू हुनेछन् ।
- मेमोरीः ४ जीबी वा यो भन्दा बढी र्याम
- टीपीएमः ट्रस्टेड प्लेटफर्म मोड्युल (टीपीएम) २.०
- स्टाेरेजः न्यूनतम ६४ जीबी स्टोरेज, ८ जीबी र्याम र १ गिगाहर्ज सीपीयू क्लक स्पिड
- प्रोसेसरः ६४ बिट
- डिस्प्लेः प्रति कलर प्यानल ८ बिट र ७२० पिक्सेल रेजोलुसन
- ग्राफिक्स कार्ड: टु ड्राइभर
यी विवरण बाहिरिएका सूचनाका आधारमा तयार पारिएको सिस्टम रिक्वायरमेन्ट हुन् । यसबारे थप विवरण चाँडै सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।