काठमाडौं । आईफोनको ब्याट्रीको कुरा आउने बित्तिकै मानिसले सोध्ने पहिलो प्रश्न हो‘फोनको ब्याट्री हेल्थ कस्ताे छ नि ?’ आईफोनमा ब्याट्रीको समस्यालाई लिएर बजारमा विभिन्न प्रकारका चर्चा हुने गर्छन् । यदि तपाईँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ अथवा नयाँ आईफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने यो लेख तपाईँका लागि उपयोगी हुनसक्छ ।
एप्पलले प्रमाणित गरेको चार्जर मात्र प्रयोग गर्नुहोस्
पछिल्ला केही वर्षहरूमा एप्पलले नयाँ फोनमा चार्जर दिन छोडेको छ । यसको अर्थ हो एप्पल प्रयोगकर्ताले फोन खरिद गर्दा चार्जर पनि छुट्टै खरिद गर्नुपर्ने हुन्छ । यसकारण, धेरै प्रयोगकर्ताहरूले आफ्नो फोन चार्ज गर्न बजारमा उपलब्ध कुनै पनि प्रकारका चार्जर प्रयोग गर्ने गरेका छन् । अथवा एउटा केबल खरिद गरेर अन्य कुनै एडप्टर प्रयोग गरेर पनि चार्ज गर्ने चलन छ ।
धेरैजसो अवस्थामा, अन्य ब्रान्डका चार्जर एप्पलको तुलनामा सस्तो हुनसक्छ । तर तपाईको ब्याट्री हेल्थको लागि, एप्पलले प्रमाणित गरेको चार्जरहरू प्रयोग गर्नु नै उपयुक्त हुन्छ । यसका साथै तपाईँले फास्ट चार्जरको प्रयोग नगर्नु पनि उपयु्क्त हुन्छ ।
सामान्यतया फास्ट चार्जर प्रयोग गर्दा फोन तात्ने समस्या हुन्छ । यसले फोनको ब्याट्रीमा असर गर्छ । यसले गर्दा फोनलाई सामान्य चार्जिङ सपोर्ट गर्ने चार्जरबाट नै चार्ज गर्नु उपयुक्त हुन्छ ।
फोनलाई रातभर चार्जिङमा छोड्न म्यागसेफ वायरलेस चार्जर प्रयोग गर्नुहोस्
धेरैजसो स्मार्टफोन प्रयोगकर्ताको फोनलाई राती चार्जमा राखेर सुत्ने बानी हुन्छ । यसले गर्दा, मानिसहरूलाई राती फोनलाई चार्जमा नराख्नुस् भन्ने सल्लाहले खासै काम गर्दैन । यसको लागि प्रविधिले नै काम गर्नुपर्ने स्थिति हुन्छ ।
यदि तपाईँको पनि राती फोन चार्जमा राखेर सुत्ने बानी छ भने एप्पलको म्यागसेफ वायरलेस चार्जर प्रयोग गर्न सक्नुहुन्छ । वायरलेस चार्जरले सामान्यतया वायर्ड चार्जरले भन्दा सुस्त काम गर्छ । यसले ब्याट्री तात्ने समस्या हुँदैन ।
साथै यसले तारको कोएल प्रयोग गरेर इलेक्ट्रोम्याग्नेटिक उत्पन्न गर्छ, जसले सुरक्षित रुपमा फोन चार्ज गर्न मद्दत गर्छ । यसैले वायरलेस चार्जरबाट फोन चार्ज गर्नु पनि उपयुक्त हुन्छ ।
ब्याट्रीको प्रतिशत सधैं २० देखि ८० को बीचमा राख्नुहोस्
तपाईँको आईफोनको ब्याट्री हेल्थ लामो समयसम्म १०० प्रतिशत नै राख्नको लागि सबैभन्दा ध्यान दिनुपर्ने कुरा हो ब्याट्रीको लेभल । अर्थात् फोनमा कति प्रतिशतभन्दा कम ब्याट्री हुन नदिने अथवा कति प्रतिशतसम्म ब्याट्री चार्ज गर्दा पनि हुन्छ भन्ने विषयलाई ध्यान दिन जरुरी छ ।
स्मार्टफोनले लिथियम ब्याट्री प्रयोग गर्छ, जसमा सीमित संख्यामा चार्जिङ साइकल हुन्छ। चार्जिङ साइकल भनेको एकपटक चार्ज गरेर चार्जरबाट फोन निकाल्दाको समय भनेर बुझिन्छ । यो जति धेरै हुन्छ, त्यति नै चार्जिङ साइकल घट्दै जान्छ र तपाईंको ब्याट्रीको हेल्थ पनि कम हुँदै जान्छ ।\
त्यसैले तपाईँको ब्याट्रीको चार्जिङ साइकल प्रयोग गर्नबाट बच्न तपाईको ब्याट्रीलाई सधैं २० देखि ८० प्रतिशतको बीचमा राख्न उपयुक्त हुन्छ ।
फोनलाई अत्यधिक तापक्रमबाट जोगाउनुहोस्
तपाईँको स्मार्टफोनलाई अत्यधिक तापक्रममा राख्नु अथवा धेरै तातो हुने समयसम्म फोन प्रयोग गर्नु नराम्रो बानी हो । किनभने लिथियम ब्याट्रीमा प्रयोग हुने रसायनले तापक्रमका कारण गलत प्रतिक्रिया दिन्छ ।
आफ्नो स्मार्टफोनलाई प्रत्यक्ष घाममा पर्ने गरी प्रयोग गर्दा वा राख्दा, आफ्नो कारको ड्यासबोर्डमा राख्दा वा कुनै पनि प्रकारको तातोले ब्याट्रीको स्वास्थ्यलाई असर गर्नसक्छ । जब गर्मीका कारण ब्याट्री घट्न थाल्छ, यसले तपाईँको फोनको ब्याट्रीको लाइफ साइकल स्वत: कम गर्न थाल्छ।
यो फिचरको विषयमा धेरै आईफोन प्रयोगकर्तालाई थाहा नहुनसक्छ । यो फिचर मुख्यत: ती व्यक्तिहरूका लागि हो, जाेसँग वायरलेस चार्जर छैन, तर आफ्नो फोन रातभर चार्ज गर्ने बानी भने छ । आईओएसमा 'अप्टिमाइज्ड ब्याट्री चार्जिङ' नामक फिचर छ, जसले तपाईँलाई सुत्दा तपाईँको ब्याट्री व्यवस्थापन गर्न मद्दत गर्छ ।
यो फिचरले तपाईँको ब्याट्री चार्ज गर्ने तरिका व्यवस्थापन गर्न तपाईँले तपाईँको फोनलाई प्रयोग गर्ने र चार्ज गर्ने बानीलाई निगरानी गर्छ र सोही अनुरुप फोनको व्यवस्थापन गर्छ । यो फिचर एक्टिभेट गरेर फोन चार्ज गर्दा ८० प्रतिशत ब्याट्रीको लेभल पुगेपछि यसले चार्जिङलाई स्वत: रोक्छ ।
अन्य अवस्थामा भने तपाईँले आफ्नो फोनलाई १०० प्रतिशतभन्दा अगाडि अनप्लग गर्नुभयो भने यो फिचरले तपाईँलाई १०० प्रतिशत नपुग्दासम्म चार्ज जारी राख्न आग्रह गर्दछ । यसले तपाईँको ब्याट्रीलाई सुरक्षित रहन मद्दत गर्छ । यसका लागि सेटिङमा गएर ब्याट्री अप्सनमा क्लिक गर्नुहोस् ।