close

सजिलै फोटोको ब्याकग्राउन्ड हटाउन चाहनुहुन्छ ? यस्ता छन्, निःशुल्क पाँच अनलाइन टुल

टेकपाना टेकपाना

फागुन २८, २०७९ १८:४८

सजिलै फोटोको ब्याकग्राउन्ड हटाउन चाहनुहुन्छ ? यस्ता छन्, निःशुल्क पाँच अनलाइन टुल

काठमाडौं । तपाईँले विभिन्न कारणले गर्दा आफूसँग भएको फोटोबाट ब्याकग्राउन्ड हटाउन खोजिरहनु भएको हुन्छ । कुनै नयाँ आकर्षक ब्याकग्राउन्ड राख्दा होस् अथवा पहिलेको ब्याकग्राउन्डमा भएका केही कमजोरीले गर्दा नै किन नहोस्, फोटोको ब्याकग्राउन्ड हटाउनुपर्ने हुन्छ ।

फोटो एडिटिङ वा अन्य प्रयोजनका लागि ब्याकग्राउन्ड नभएका अथवा ब्याकग्राउन्ड नभएका लोगो आवश्यक पर्छन् ।

हामीले म्यानुअल्ली फोटोका ब्याकग्राउन्ड हटाउँदा धेरै समय लाग्छ र भनेजस्तो ब्याकग्राउन्ड पनि हटाउन सकिँदैन । आज हामी तपाईँलाई सहजै ब्याकग्राउन्ड हटाउन सकिने विभिन्न पाँच निःशुल्क टुलको बारेमा बताउँदैछौँ ।

 

१)       रिमुभल डटएआई

फोटोको ब्याकग्राउन्ड हटाउनका लागि सबैभन्दा उपयुक्त निःशुल्क टुलमध्येको एक हो, रिमुभल डटएआई । यो टुलको सहयोगमा आफूलाई आवश्यक जस्तोसुकै फोटोको ब्याकग्राउन्ड क्षणभरमै हटाउन सकिन्छ ।

तर, निःशुल्क डाउनलोड गर्न सकिने फोटोको गुणस्तर भने केही कम हुन्छ । सामान्य प्रयोजनका लागि आवश्यक परेका फोटोमा यो गुणस्तरले खासै फरक पार्दैन ।

 

२) रिमुभ डटबीजी

रिमुभ डटबीजी र रिमुभल डटएआई करिब उस्ताउस्तै टुल हुन् । रिमुभ डटबीजीको माध्यमबाट पनि क्षणभरमै फोटोको ब्याकग्राउन्ड हटाउन सकिन्छ ।

अन्य प्लेटफर्मभन्दा यो प्लेटफर्ममा फोटोको लिङ्क वा फोटो 'ड्रयाग एन्ड ड्रप' गरेर पनि सोझै फोटोको ब्याकग्राउन्ड हटाउन सकिने सजिलो विकल्प पनि छ । यदि उच्च गुणस्तरको फोटो डाउनलोड गर्नुपर्ने हो भने क्रेडिट पोइन्ट्स खरिद गर्नुपर्ने हुन्छ ।

सामान्य गुणस्तरको फोटोको लागि भने न अकाउन्ट बनाउनु पर्छ, न त शुल्क नै तिर्नुपर्ने हुन्छ ।

 

३)   एडोबी एक्सप्रेस

फोटोबाट ब्याकग्राउन्ड हटाउनका लागि अर्को उपयुक्त प्लेटफर्म हो, एडोबी एक्सप्रेस । एडोबी एक्सप्रेसमा निःशुल्क फोटोको ब्याकग्राउन्ड हटाउन सकिने सुविधा छ ।

यसमा ब्याकग्राउन्ड हटाइएको फोटो पनि उच्च गुणस्तरमा डाउनलोड गर्ने सुविधा छ । तर, तपाईँले यसमा आफ्नो अकाउन्ट भने बनाउनुपर्ने हुन्छ ।

एडोबीको साइट भएकाले यसमा निर्धक्क गुगल वा माइक्रोसफ्ट अकाउन्ट प्रयोग गरेर नयाँ अकाउन्ट बनाउन सक्नुहुन्छ ।

 

४)    फोटो सिजर

फोटो सिजर एउटा त्यस्तो टुल हो, जसको सहायताले फोटोको ब्याकग्राउन्ड हटाउने मात्र नभई, त्यसमा अर्को ब्याकग्राउन्ड थप गर्न पनि सकिन्छ । त्यसबाहेक उक्त फोटोमा टेक्स्ट राख्न, अन्य फोटो राख्न वा अन्य किसिमले एडिट गर्न पनि फोटो सिजरको प्रयोग गर्न सकिन्छ ।

 

५)   फोटोरूम

फोटोरूम एउटा त्यस्तो टुल हो, जसको माध्यमबाट फोटोको ब्याकग्राउन्ड हटाउन मात्र होइन, ब्याकग्राउन्डमा नयाँनयाँ टेम्प्लेट राख्न पनि सकिन्छ । यदि तपाईँ फोटोको ब्याकग्राउन्ट हटाएर आकर्षक प्रोफाइल फोटो बनाउन चाहनुहुन्छ भने यो टुलको प्रयोग गर्न सक्नु हुन्छ ।

त्यसबाहेक फोटोको ब्याकग्राउन्ड ब्लर गर्न, एआईको सहयोगमा ब्याकग्राउन्ड तयार पार्न, ह्वाइट ब्याकग्राउन्ड बनाउनका लागि पनि यो टुल उपयोगी हुनसक्छ ।

 

 

 

पछिल्लो अध्यावधिक: फागुन २८, २०७९ १८:४८