काठमाडौं । मेटाले आफ्ना सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा ननफन्जिबल टोकन (एनएफटी) का सम्पूर्ण गतिविधि बन्द गर्ने घाेषणा गरेकाे छ । अब यी प्लेटफर्ममा एनएफटी क्रियट गर्न र बिक्री गर्न नपाइने भएकाे हाे ।
मेटाका कमर्स एन्ड फिनटेक लिड स्टेफन कासरीलले ट्वीट गर्दै यसबारे जानकारी दिएका छन् । “मेटाले क्रियटरहरुलाई अन्य तरिकाबाट सहयोग गर्न अहिले एनएफटी बन्द गर्न लागेको छ,” उनले लेखेका छन्, “अब कम्पनीले मेसेजिङ, रिलको मनिटाइजेसन र मेटा पेलाई सुधार गर्नतिर लाग्ने छ ।”
मेटाको यो कदमलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले सन् २०२३ लाई ‘इयर अफ इफिसेन्सी’ बनाउन लिएको उद्देश्यसँग जोडिएको छ ।
मेटाले गत वर्ष आफ्नो लगानी रहेको क्रिप्टोकरेन्सी डाइम र नोभी डिजिटल वालेट बन्द गरेको थियो । सन् २०२२ मा क्रिप्टोकरेन्सीको मूल्य घटिरहँदा मेटा त्यसबाट बाहिरिन खोजिरहेको छ भने रेडइट, स्टारबक्स जस्ता अन्य कम्पनी एनएफटीमा अझै लगानी गरिरहेका छन् ।