close

नयाँ एआई ल्याङ्ग्वेज मोडेल ‘जीपीटी फोर’ मा के छ विशेष ?

टेकपाना टेकपाना

चैत १, २०७९ २२:५१

नयाँ एआई ल्याङ्ग्वेज मोडेल ‘जीपीटी फोर’ मा के छ विशेष ?

काठमाडौं । ओपनएआईको पछिल्लो ल्याङ्ग्वेज मोडेल जीपीटी फोर औपचारिक रूपमा सार्वजनिक भएको छ । जीपीटी थ्रीमा आधारित च्याटजीपीटीको चर्चासँगै कम्पनीले उक्त टुलभन्दा ५०० गुणा शक्तिशाली टुलका रूपमा जीपीटी फोर घोषणा गरेको हो ।

नयाँ मोडलले इमेज प्रशोधन गर्नेदेखि विभिन्न रचनात्मक कार्य गर्ने दाबी गरिएको छ । यसले च्याटजीपीटीले भन्दा जटिल समस्या समाधान गर्ने पनि बताइएको छ । च्याटजीपीटीले टेक्स्टमा मात्र जवाफ दिन सक्थ्यो भने अत्याधुनिक प्रविधिबाट तयार पारिएको जीपीटी फोरले टेक्स्टसँगै अडिओ, भिडिओ र इमेजमा उत्तरहरू दिन सक्षम हुनेछ ।

ओपनएआईका अनुसार यो मोडेलले यसअघिको संस्करणभन्दा थप तथ्यपरक उत्तर दिनेछ । ​च्याटजीपीटीमा केही सीमितता थिए । विशेषगरी गणितीय समस्यालाई यस टुलले सटीक ढङ्गबाट समाधान गर्न सक्दैनथ्यो । त्यस्तै केही तर्कसहितका सवालमा पनि च्याटजीपीटी चुकेको पाइएको थियो । यी सबै कमजोरीलाई समेट्दै कम्पनीले हजार खर्ब पारामिटर सहितको जीपीटी फोर ल्याएको छ ।

ओपन एआईले जीपीटी फोरलाई इन्ट्रिग्रेट गर्न विभिन्न संस्थाहरूसँग सहकार्य गरेको छ । विशेषगरी डुओलिङ्गो, स्ट्राइप र खान एकेडेमीमा यो मोडेल देख्न सकिनेछ । नयाँ मोडेलको एआई टुल सार्वजनिक रूपमा उपलब्ध भइसकेको छ । तर, यो च्याट प्लसका प्रयोगकर्तामाझ मात्र उपलब्ध छ ।

अर्थात् ओपनएआईको सशुल्क सब्स्क्रिप्सन लिने प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्छन् । जसका लागि मासिक २० अमरिकी डलर (करिब दुई हजार ६३३ रुपैयाँ) तिर्नुपर्ने हुन्छ । यो सब्स्क्रिप्सन नेपालबाटै पनि लिन सकिन्छ ।

नयाँ मोडेलको च्याटजीपीटी अर्थात् जीपीटी फोर माइक्रोसफ्टको बिङ च्याटबटबाट पनि प्रयोग गर्न सकिनेछ । कम्पनीले जीपीटी फोरमा डेभलपरलाई एपीआईका रूपमा एक्सेस दिनका वेटलिस्ट पनि खुलाएको छ । यहाँ क्लिक गरेर वेटलिस्टमा सहभागी हुन सकिन्छ ।

ओपन एआईले सार्वजनिक गरेको रिसर्च ब्लगमा जीटीपी फोर र जीपीटी ३.५ मा केकस्ता भिन्नता छन् भन्ने खुलाएको छ । ओपन एआईका सीईओ साम अल्टम्यानले ट्वीट गर्दै जीपीटी फोर, च्याटजीपीटी जस्तै सीमित, त्रुटिपूर्ण भए पनि यसलाई लामो समय प्रयोग गर्ने प्रयोगकर्ताले नौलो अनुभव पाउने दाबी गरेका छन् ।

जीपीटी थ्रीले करिब तीन हजार शब्दसम्मको जवाफ दिन सक्छ भने जीपीटी फोरले २५ हजार शब्दसम्म जवाफ दिन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

त्यसबाहेक पनि जीपीटी फोरले विश्वका विभिन्न प्रमुख भाषामा अनुवादको काम गर्ने बताइएको छ । निःशुल्क प्रयोग गर्ने प्रयोगकर्ताका लागि यो सिस्टम कहिले उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले हालसम्म केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ १०:१९