close

ड्राइभिङ लाइसेन्समा आफैं नयाँ वर्ग थपेर प्रयोग गर्ने पर्साका पारस साह पक्राउ

टेकपाना टेकपाना

चैत २, २०७९ ८:५३

ड्राइभिङ लाइसेन्समा आफैं नयाँ वर्ग थपेर प्रयोग गर्ने पर्साका पारस साह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको भन्दै प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वीरगञ्ज घर भएका पारस साहलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकामा केही व्यक्तिहरूले लिखत किर्ते गरी विभिन्न वर्गका सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गरिरहेको गोप्य सूचना प्रहरीमा आएको थियो । सोही आधारमा उक्त कार्यमा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको हो ।

शङ्काको आधारमा प्रहरीले पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ घर भएका २४ वर्षीय पारस साह तुराहलाई खानतलासी गरेको थियो । उनको साथबाट ई वर्गको सवारी चालक अनुमतिपत्रलाई ए, बी र ई वर्गको नक्कली सवारी चालक अनुमतिपत्र पत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। 

 उनलाई तत्काल नियन्त्रणमा लिई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, गौशाला पठाइएको छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ ८:५३