काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्यान्डललाई निजी बनाएकी छन् । आफ्नो कार्यकाल सकिएपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सूचना प्रविधि टिमलाई हस्तान्तरण गर्नुपर्ने अकाउन्टलाई भण्डारीले आफ्नै नामकाे ट्वीटर ह्यान्डलमा परिवर्तन गरेकी हुन् ।
राष्ट्रपतिको आधिकारिक ह्यान्डल @presidentofNP लाई म्यानिपुलेट गरेर नयाँ ह्यान्डल @BidhyaDBhandari बनाइएको हो । उक्त ह्यान्डलमा हाल २५ हजार बढी फलोअर छन् । अर्कोतिर @PresidentofNP ह्यान्डल तेस्रो पक्षले लिइसकेको छ ।
यसले गर्दा अब नेपालको राष्ट्रपतिको आधिकारिक ह्यान्डलका लागि उक्त ह्यान्डल रिकभर हुने वा नहुने अन्योल गरेको साइबर सुरक्षा जानकार विजय लिम्बूले बताए ।
"यो गैरजिम्मेवारपूर्ण काम हो," उनले भने, "यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि खराब गर्ने काम गर्नसक्छ । पूर्वराष्ट्रपतिको टिमले ट्वीटर ह्यान्डल हस्तान्तरण नगरेर उल्टै आधिकारिक ह्यान्डललाई निजी बनाएको छ ।"
यो विषयलाई लिएर अहिले ट्वीटरसहित विभिन्न सामाजिक सञ्जालमा प्रयाेगकर्ताहरूले पूर्वराष्ट्रपति भण्डारीप्रति आक्रोश देखाएका छन् ।
'सरकारी निकायद्धारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५' को बुँदा नम्बर १७ मा सरकारी निकायले सञ्चालनमा ल्याएका सामाजिक सञ्जालका खाताहरू व्यवस्थापन गर्ने जिम्मेवारीको विषय उल्लेख गरिएको छ ।
यसअन्तर्गत ''कुनैपनि खाता सञ्चालन गर्न जिम्मेवारी तोकिएको कर्मचारी सरुवा भै गएमा वा अन्य कुनै कारणले अनुपस्थित हुने अवस्था भएमा सो खाता सञ्चालनको जिम्मा र सोसँग सम्बन्धित मोबाइल फोन ईमेल समेत अर्को कर्मचारीलाई शीर्घ हस्तान्तरण गर्नुपर्ने र खाताको नियमित सञ्चालन सुनिश्चित गर्नुपर्नेछ'' भनेर लेखिएको छ ।