काठमाडौं । बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न नेपाल र यूएईको खेलमा लाेकल इन्टरनेट ब्यान्डविथ खपत हालसम्मकै उच्च भएको पाइएकाे छ । नेपाली टोलीले खेल जिती पहिलाे पटक विश्वकप क्रिकेट क्वालिफायरका लागि छनाेट हुँदा लाेकल इन्टरनेट ब्यान्डविथको ट्राफिकले पनि नयाँ रेकर्ड बनाएको हो ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको हिजो भएको खेलमा ब्यान्डविथ खपत तीन गुणाले बढेको नेपाल इन्टरनेट एक्सचेन्ज (एनपिक्स)ले जनाएको छ । एनपिक्सका अनुसार दुई देशबीचको क्रिकेट खेलको सुरुवातदेखि नै ब्यान्डविथ खपत ह्वात्तै बढेको थियो ।
खेलका दौरान इन्टरनेट ट्राफिक प्रति सेकेन्ड ६०.१८० गिगाबिट्ससम्म पुगेको हो । यो इन्टरनेट ट्राफिक देशभित्रकै भएको एनपिक्सका प्रबन्ध निर्देशक रुपेश श्रेष्ठले जानकारी दिए ।
यो अवधिमा सबैभन्दा धेरै ट्राफिक कान्तिपुर टिभीको वेबसाइटमा भएको थियो । सामान्य समयमा १६ देखि २० गिगाबिट्स इन्टरनेट खपत हुनेमा हिजोको खेलमा भने तीन गुणाले बढेको थियो ।
बढ्दै गएको इन्टरनेट पहुँच र नेटवर्क विस्तारका कारण पनि ब्यान्डविथ खपत बढ्दै गएको एनपिक्सले उल्लेख गरेकाे छ ।