close

भारतको फोनपेमा वालमार्टको थप २६ खर्ब लगानी

टेकपाना टेकपाना

चैत ३, २०७९ २१:२३

भारतको फोनपेमा वालमार्टको थप २६ खर्ब लगानी

काठमाडौं । भारतको चर्चित डिजिटल पेमेन्ट कम्पनी फोनपेले अमेरिकी रिटेल कम्पनी वालमार्टबाट २० करोड डलर (करिब साढे २६ खर्ब रुपैयाँ) लगानी जुटाएको छ । फोनपेले सञ्चालन गरिरहेको पछिल्लाे फन्डिङ राउन्डमा वालमार्टबाट यो रकम जुटेको कम्पनीले जनाएको छ ।

वालमार्टले सन् २०१८ देखि फोनपेमा लगानी गर्दै आएको छ । १२ अर्ब डलर मूल्याङ्कन (प्रि-मनी भ्यालुयसन) गरिएको फोनपेले केही महिनायता लगानी जुटाउने अभियान चलाइरहेको छ । यसअन्तर्गत वालमार्टमाबाट थप २० करोड डलर लगानी जुटाएको फोनपेले जनाएको छ ।

सन् २०१५ मा स्थापना भएको फोनपेले भारतमा गुगल पे र पेटीएमलाई टक्टर दिइरहेको छ । त्यस्तै भारतको यूपीआईमा समेत फोनपेले आफ्नो प्रभुत्व जमाइरहेको छ ।

विश्वमा डिजिटल रुपमा छिटो विकास भइरहेको देशमध्ये भारतमा फोनपेको भविष्य राम्रो भएका कारण आफूहरूले लगानी गरेको वालमार्ट इन्टरनेसनलका अध्यक्ष तथा सीईओ जुडिथ म्याकेन्नाले बताएका छन् । भविष्यमा फोनपेले भारतको वित्तीय क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने कुरामा वालमार्ट विश्वस्त रहेको समेत उनले जनाए ।

फोनपेले लगानी सङ्कलन अभियानबाट पछिल्लो केही महिनाभित्र ६५ कराेड डलर बराबरको रकम उठाइसकेको छ । यसअघि  फोनपेले जनरल एट्लान्टिकबाट ३५ कराेड डलर तथा रिबिट क्यापिटल, टाइगर ग्लोबल र टिभिएस क्यापिटल फण्डबाट १० कराेड डलर उठाएको थियो । 

अहिले भइरहेको फन्डिङ राउन्डबाट फोनपेले एक अर्ब डलर लगानी उठाउने योजना बनाएको छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: चैत ३, २०७९ २३:४