close

सामाजिक सञ्जालमा भाइरल बन्न सघाउने टिकटकको अर्को लोकप्रिय एप

टेकपाना टेकपाना

चैत ५, २०७९ २०:४

सामाजिक सञ्जालमा भाइरल बन्न सघाउने टिकटकको अर्को लोकप्रिय एप

काठमाडौं । टिकटकको अभिभावक कम्पनी बाइटड्यान्सकै एउटा अर्को लोकप्रिय एप समेत रहेको छ । क्यापकट नाम दिइएको उक्त एप भिडिओ एडिटिङका लागि एकदमै उपयोगी छ ।

यसको सहयोगमा सजिलो र छिटो भिडिओ एडिटिङ गर्न र मिम्स बनाउन सकिन्छ । क्यापकटको सहयोगमा तपाईँले अनेकौँ टेम्प्लेट, फिल्टर, भिजुअल इफेक्ट र म्युजिक राखेर सहजै भिडिओ एडिट गर्न सक्नु हुन्छ ।

प्रयोगकर्ताहरूकै भनाइमा यसले थप प्रोफेसनल देखिने क्लिपहरू तयार पार्न र टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता माध्यममा अझ धेरै भाइरल बनाउन सघाउँछ । सन् २०२० मा मात्र सार्वजनिक भएको यो एप ५० करोड भन्दा धेरैले डाउनलोड गरिसकेका छन् भने २० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् ।

क्यापकटको प्राइभेसी पोलिसीमा यसले आफ्नो सेवा दिनका लागि प्रयोगकर्ताले अपलोड गर्ने भिडिओ तथा फोटोका साथै लोकेसन, लिङ्ग र जन्म मिति जस्ता प्रयोगकर्ताका डेटा सङ्कलन गर्छ, जुन भिडिओ एडिटिङ टुलहरूका लागि सामान्य विषय हो ।

निःशुल्क प्रयोग गर्न सकिने यो एपले आम्दानीको लागि क्लाउड स्टोरेज सेवाका साथै अतिरिक्त फिचर तथा इफेक्टहरूका लागि शुल्क लिने गर्छ । कम्पनीले आफ्ना कर्पोरेट प्रयोगकर्तालाई लक्षित गर्दै इन्टरप्राइज भर्सन ल्याउने तयारी समेत गरिरहेको छ ।

गत डिसेम्बरमा बाइटड्यान्सले क्यापकट जस्तै चिनियाँ सशुल्क भर्सन ज्यानयिङ्ग (Jianying) सार्वजनिक गरेको थियो, जसमा दुई वा दुईभन्दा बढी प्रयोगकर्ताले मिलेर भिडिओ एडिट गर्न सक्ने फिचर समेत रहेको छ ।

टिकटकले आफ्ना प्रयोगकर्तालाई भिडिओ एडिट गर्ने कार्यमा यो एप प्रयोग गर्न एकदमै सुझाउने गरेको छ । टिकटकमा "ट्राई दिस टेम्प्लेट" अथवा "एडिटिङ मेड इजी" जस्ता शब्दावली लेखिएको ठाउँमा क्लिक गर्दा प्रयोगकर्तालाई सोझै क्यापकटमा पुर्‍याउने गर्छ ।  

क्यापकटले इन्स्टाग्राम, फेसबुक, लिङ्डइन जस्ता माध्यममा गरिने पोस्ट तथा विज्ञापनका लागि समेत टेम्प्लेट उपलब्ध गराउँदै आएको छ । 

पछिल्लो अध्यावधिक: चैत ५, २०७९ २०:४