close

युट्युबका सामग्री निगरानी गर्न प्रेस काउन्सिलमा छुट्टै डेस्क, ३५ च्यानललाई कारबाहीको तयारी

टेकपाना टेकपाना

चैत ६, २०७९ १९:१०

युट्युबका सामग्री निगरानी गर्न प्रेस काउन्सिलमा छुट्टै डेस्क, ३५ च्यानललाई कारबाहीको तयारी

काठमाडौं । प्रेस काउन्सिलले ३५ ओटा युट्युब च्यानललाई उच्च निगरानी राख्दै कारबाही प्रक्रिया थालेको छ । पत्रकारितासम्बन्धी आचारसंहिताको चरम उल्लङ्घन गरेको भन्दै काउन्सिलले युट्युब च्यानलहरूलाई विशेष अनुगमनमा राखी कारबाही प्रक्रिया थालेको हो ।

काउन्सिलले युट्युब च्यानलहरूकाे नाम भने सार्वजनिक गरेकाे छैन । ती च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी आचारसंहिता अनुगमन उपसमितिले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए ।

पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरिरहेको उनको भनाइ छ ।

सो क्रममा त्यस्ता च्यानलबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, अदालतमा विचाराधीन एवं सुनुवाइको क्रममा रहेका विषयमा न्याय निरुपणमा प्रभाव पार्ने किसिमबाट अतिरञ्जित गरी सामग्री सम्प्रेषण हुने, सामाजिक अभियन्ताका नाममा लाइभ गर्ने, न्यायालयसँग जोडेर अफवाहपूर्ण सामग्रीहरू सम्प्रेषण तथा अप्राकृतिकरूपमा भ्युअर बढाउने उद्देश्यले बिनाअनुमति कानूनविपरीत भिडिओ खिचेर कोही कसैको चरित्रहत्या गर्ने किसिमबाट अपुष्ट कुरालाई अतिरञ्जित गरी सम्प्रेषण गर्ने गरेको पाइएको काउन्सिलले जनाएकाे छ ।

यसैबीच काउन्सिलले पेशागत आचारणबमोजिम कुनै जिम्मेवारी बहन गर्नु नपर्ने, अप्राकृतिक भ्यूअर बढाएर त्यसबाट रकम मात्र आर्जन गर्ने, पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने, आपत्तिजनक रूपमा समाजलाई नै धुमिल तुल्याउने गरी वैयक्तिक गोपनीयता विपरीत जात, समुदाय, परिवारलाई विखण्डित गर्ने किसिमका सामग्री सम्प्रेषण गर्ने युट्युब च्यानलबारे छुट्टै डेस्क खडा गरी अनुगमन गर्ने भएको छ ।

सोमबार बसेको काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले अनुगमनको क्रममा प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताप्रतिकूल देखिएमा कनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई पूर्ववतः निर्णयसमेतका आधारमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गर्ने निर्णय गरेको छ ।

साथै त्यस्ता युट्युब च्यानलले सम्प्रेषण गरेका सामग्रीका विषयमा आकर्षित विद्यमान ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी ती च्यानललाई कारबाहीका लागि अनुरोध गर्दै युटुब कम्पनीलाई पत्राचार गर्नेसमेत निर्णय गरेकाे छ ।

पछिल्लो अध्यावधिक: चैत ६, २०७९ १९:२२