काठमाडौं । माइक्रोसफ्ट टिम्सका प्रयोगकर्ताले अब एपबाटै अफलाइन मिटिङ तय गर्नसक्ने भएका छन् । माइक्रोसफ्ट ३६५ रोडम्याप पेजका अनुसार विन्डोज र म्याकमा टिम्स प्रयोगकर्ताले पर्सनल अपोइन्टमेन्ट, लञ्च ब्रेक लगायत अन्य गतिविधि एपबाटै तय गर्नसक्ने छन् ।
यसअघि माइक्रोसफ्ट टिम्सबाट अनलाइन मिटिङमात्र तय गर्न सकिन्थ्यो । अब केही समस्या नआए आउँदो मे महिनादेखि टिम्स प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् ।
यो फिचर प्रयोग गर्न टिम्समा मिटिङ क्रियट गर्दा 'अनलाइन टाेगल' लाई अफ गर्नुपर्ने माइक्रोसफ्टले रोडम्याप पेजमा उल्लेख गरेको छ ।
माइक्रोसफ्टको यो फिचर आउटलुकमा भएको ‘अफलाइन क्यालेन्डर इभेन्टस्’ जस्तै हुने कतिपयले बताएका छन् । यद्यपि अफलाइन मिटिङबाट मेसेज पठाउन नसकिने, अनलाइन गतिविधि गर्न नसकिने बाहेक माइक्रोसफ्टले अन्य जानकारी उपलब्ध गराएको छैन ।
यसबाहेक माइक्रोसफ्टले टिम्समा ३×३ ग्रिड भ्युलाई डिफल्ट सेटिङ बनाउने फिचर पनि मे महिनामा नै ल्याउने तयारी गरेको छ ।