close

निधनपछि आफ्नो चाहना वा सन्देश अरुले थाहा पाउन् भन्ने चाहनुहुन्छ ? यी वेबसाइट प्रयोग गर्नुहोस्

टेकपाना टेकपाना

चैत १०, २०७९ १८:१०

निधनपछि आफ्नो चाहना वा सन्देश अरुले थाहा पाउन् भन्ने चाहनुहुन्छ ? यी वेबसाइट प्रयोग गर्नुहोस्

काठमाडौं । हामी आफ्नो मृत्युको कल्पनासम्म गर्न पनि डराउँछौँ । तर यो अवश्यभावी छ । नस्वीकारेर धर पाइँदैन । भौतिक संसारमा सबै कुरा छाडेर जानुपर्छ । यसकारण आफन्त साथीभाइका लागि मृत्युअघि नै विशेष सन्देश पहिल्यै तयार पारेर राख्नपर्‍याे भने के गर्न सकिएला ? 

निधनपछि तपाईँका चाहनाहरू कसले थाहा पाएर पूरा गर्ला ? वा, मृत्युपछि तपाईँलाई जीवित राखिरहने इच्छाहरू कसले पूरा गर्ला ? यी सबै कुरा जीवित हुँदा नै अरु कसैलाई भन्न सकिँदैन ।

यदि तपाईँका पनि मृत्युपछिका केही चाहना छन् भने याे डिजिटल दुनियाँमा केही विकल्प छन् । यी प्लेटफर्ममा आफ्ना चाहना राख्न सक्नुहुन्छ, जसमार्फत् तपाईँका नजिकका मानिसले थाहा पाउन सकून् ।

वी एक्सपायर (We Expire)

वी एक्सपायर एउटा त्यस्तो वेबसाइट हो, जसले व्यक्तिको मृत्युपछि उनीहरूका गोप्य, महत्त्वपूर्ण तथा संवेदनशील नोटहरू सुरक्षित राख्न सहयोग गर्छ ।

निःशुल्क प्रयोग गर्न सकिने यो वेबसाइटका माध्यमबाट तपाईँले आफ्ना नजिकका मान्छेलाई गोप्य, संवेदनशील र महत्त्वपूर्ण सूचना दिन सक्नुहुन्छ ।

यो एउटा ओपनसोर्स भएको वेबसाइट हो, जसले तपाईँका कुनै पनि डेटा भण्डारण गर्दैन । सबैभन्दा पहिले तपाईँले  'वी एक्सपायर' अकाउन्ट बनाउनुपर्ने हुन्छ । त्यसपछि सब्जेक्टमा आफूले उल्लेख गर्न चाहेको कुराको शीर्षक राख्नुहोस् ।

अनि, तल रहेको इमर्जेन्सी नोट्समा आफूले भन्न चाहेका कुरा, सूचना वा अन्य जानकारी उल्लेख गर्नुहोस् । उक्त बक्समा एक हजार क्यारेक्टरका टेक्स्ट राख्न सकिन्छ । यति गरेपछि आफूले उक्त सन्देश कसलाई पठाउन चाहनुभएको छ, सो व्यक्तिको ईमेल राख्नुहोस् ।

यदि एउटा मात्र ईमेल पर्याप्त नहुने अवस्था छ भने ब्याकअपका रूपमा सेकेन्डरी ईमेल राख्नुहोस् । त्यसपछि आफू कति दिनसम्म उक्त साइटमा निष्क्रिय भएपछि सो सूचना तपाईँले भनेको व्यक्तिले पाओस् भन्ने चाहनुहुन्छ, त्यति समय सेट गर्नुहोस् ।

यति गरिसकेपछि 'कन्टिन्यु' अप्सनमा ट्याप गर्नुहोस् । र, नयाँ पेजमा देखिएको 'कन्फर्म' अप्सन छान्नुहोस् । यति गरेपछि तपाईँको निधनपछि तपाईँले भन्न चाहेका कुरा तपाईँको नजिकको मान्छेले पाउँछ ।

आफ्टरनोट (Afternote)

आफ्टरनोट त्यस्तो वेबसाइट हो, जसले तपाईँका हरेक सूचनाहरू सुरक्षित राखिदिन सक्छ । तपाईँले आफ्ना सामाजिक सञ्जालका अकाउन्ट, बैंक अकाउन्ट वा अन्य कुनै पनि महत्त्वपूर्ण अनलाइन अकाउन्टका युजरनेम र पासवर्ड राख्न सक्नुहुन्छ ।

यस्ता जानकारी तपाईँको निधनपछि तपाईँले सबैभन्दा बढी विश्वास गर्ने व्यक्तिको पहुँचमा हुन्छ । 

- बकेट लिस्ट: यस वेबसाइट रहेको बकेट लिस्टमा तपाईँले आफ्ना विभिन्न इच्छा र चाहना राख्न सक्नुहुन्छ ।

-टाइमलाइन: तपाईँले आफ्नो जिन्दगीमा के के कुराहरू गर्नुभयो ती कुराहरू टाइमलाइन बनाएर राख्न सक्नुहुन्छ, जसले गर्दा तपाईँलाई सम्झिने मानिसहरूले तपाईँका विगतका कामहरू देखेर तपाईँका लागि केही गर्न सकुन् ।

-मेसेज: यदि तपाईँले आफ्नो नजिकका मानिसलाई कुनै मेसेज दिन चाहनुहुन्छ भने मेसेज राख्न सक्नुहुन्छ । यति गरेपछि तपाईँले विश्वास गरेको व्यक्तिले तपाईँको मेसेज पाउन सक्छ ।

- सामाजिक सञ्जालका अकाउन्ट: तपाईँको मृत्युपछि तपाईँका अकाउन्ट सुरक्षित रहन् वा अपडेट भइरहुन् भन्ने चाहनु हुन्छ भने सोसल मिडियाको सेक्सनमा आफ्नो युजरनेम र पासवर्ड राख्न सक्नुहुन्छ ।

बिरिमेम्बर्ड (Beremembered)

'बिरिमेम्बर्ड' एउटा त्यस्तो प्लेटफर्म हो, जहाँबाट तपाईँको निधनपछि तपाईँ कसरी चिनिनुहुन्छ वा अरूको सम्झनामा आउनुहुन्छ भन्ने कुरालाई महत्त्व दिन्छ ।

यस प्लेटफर्ममा तपाईँले एक व्यक्तिलाई अभिभावकका रूपमा राख्नुपर्ने हुन्छ, जसले तपाईँको निधनपछि तपाईँको अकाउन्टको एक्सेस पाउँछ । 

बिरिमेम्बर्डको 'माइ स्टोरी' मा विभिन्न सेक्सनहरू रहेका छन्, जसले तपाईंको जीवनका महत्त्वपूर्ण पलहरू लेख्न प्रेरणा दिन्छ । त्यहाँ भएको 'बायोग्राफी'को सेक्सनमा तपाईँले केही सामान्य प्रश्नका जवाफ दिएर आफ्नो बारेमा लेख्न सक्नुहुन्छ भने 'माई लाइफ इन पिक्चर' सेक्सनमा आफ्ना फोटोसहित महत्त्वपूर्ण क्याप्सन पनि उल्लेख गर्न सकिन्छ ।

त्यस्तै यस प्लेटफर्मले तपाईँलाई अन्य विभिन्न शब्दहरू उल्लेख गर्न सघाउँछ ।

यस वेबसाइटका माध्यमबाट कम्तीमा १० ओटा निजी मेसेजहरू (दुई हजार क्यारेक्टरसम्मका) पठाउन सकिन्छ । साथै १०० एमबी बराबरको अन्य फाइल पनि पठाउन सकिने सुविधा यस प्लेटफर्ममा रहेको छ । 

जोइनकेक (joincake)

'जोइनकेक' त्यस्तो वेबसाइट हो, जसले तपाईँका विभिन्न इच्छाहरू तपाईँको नजिकको मान्छेमाझ पुर्‍याउन सहयोग गर्छ । यस वेबसाइटले तपाईंलाई सरल ढङ्गबाट महत्त्वपूर्ण सन्देशहरू लेख्न सघाउँछ ।

वेबसाइटमा विभिन्न क्याटगोरी समावेश छन् । विशेषगरी तपाईँको अन्त्येष्टि कसरी हुनुपर्छ, तपाईँको लिगेसीलाई कसरी निरन्तरता दिने, तपाईँका डिजिटल डेटा जस्तै; सामाजिक सञ्जाल तथा ईमेलहरू के गर्ने, कानूनी तथा आर्थिक कागजात कहाँ पाउने भन्ने कुराहरू उल्लेख गर्न सक्नुहुन्छ ।

त्यसैगरी यसमा 'विल मेकर' अप्सन पनि रहेको छ, जसले तपाईँलाई तपाईँका विभिन्न इच्छा र चाहनाहरू बनाउन मद्दत गर्छ । यदि तपाईँले आफ्ना चाहनाबारे कतै लेख्नु भएको छ भने त्यसको पीडीएफ पनि अपलोड गर्न सक्नुहुन्छ ।

लान्टर्न (Lantern)

जोइनकेक जस्तै लान्टर्नमा पनि आफ्नो निधनपछिका विभिन्न इच्छाहरू उल्लेख गरेर राख्ने सुविधा छ । यसमा तपाईँले आफ्नो मृत्युपछि डिजिटल, आर्थिक, स्वास्थ्यसँग सम्बन्धित डेटा कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ भन्ने सिकाइएको हुन्छ ।

त्यसबाहेक पनि यस वेबसाइटले तपाईँले लेखेका कुराहरू कस्तो देखिन्छ भन्ने डेमो देखाउँछ, जसले गर्दा आफूलाई अनुपयुक्त लागेका कुराहरू तत्कालै हटाउन सक्नुहुन्छ । यो वेबसाइटको प्रिमियम संस्करणका लागि एक पटकका लागि ३६ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ ।

निःशुल्क उपलब्ध हुने भर्सनमा भने तपाईँले आफ्ना व्यक्तिगत जानकारी, आफ्ना चाहनाहरू, सामाजिक सञ्जालका अकाउन्ट, बैंक विवरणहरू राख्न सक्नुहुन्छ ।

निधनपछि आफ्ना महत्त्वपूर्ण डेटा कसलाई दिने ?

आफ्नो निधनपछि विभिन्न सूचना, विवरण वा सन्देश कसलाई छोड्ने भन्ने कुरा तपाईँमा निर्भर हुन्छ । तपाईंको नजिकको व्यक्ति को छ भन्ने कुरा तपाईंलाई मात्र थाहा हुन्छ । तर, नजिक भनिएकै व्यक्तिले पनि तपाईंको निधनपछि तपाईंको परिवार वा अन्य आफन्तलाई घात गर्न सक्छन् ।

त्यसैले आफ्ना महत्त्वपूर्ण र संवेदनशील डेटा कसलाई दिने भन्ने कुराका लागि धेरै सोचविचार गर्नुपर्छ ।

विशेषगरी तपाईँले आफ्नै रगतको नाता भएका व्यक्तिभन्दा पनि टाढाका, तर धेरै विश्वास लाग्ने व्यक्तिलाई यस्ता जानकारी दिन सक्नुहुन्छ, जसले तपाईँको निधनपछि आवश्यक परेको खण्डमा विभिन्न जानकारी तपाईँको परिवारलाई दिन सक्छन् । त्यसैले आफूले धेरै नै विश्वास गर्ने व्यक्तिलाई यस्ता सूचना तथा अकाउन्टमा पहुँच दिनुहोस् ।

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ १८:५६